करिष्मा मानन्धरले कक्षा ९ को परीक्षा दिँदै, भन्छिन्ः तयारी राम्रो छ − Kalakarita
करिष्मा मानन्धरले कक्षा ९ को परीक्षा दिँदै, भन्छिन्ः तयारी राम्रो छ

बुधबार, फागुन ३०, २०७४, ११ : २२कलाकारिता

काठमाडौं, ३० फागुन – अभिनेत्री करिष्मा मानन्धरले कक्षा नौ परीक्षा शुरु हुन लागेको लागेको बताएकी छिन् । अघिल्लो वर्ष उनी कक्षा ९ मा भर्ना भएकी थिइन् ।

पछिल्लो समय नयाँ शक्ति पार्टीमा सक्रिय रुपमा लागेकी करिष्मा अहिले भने पढाइमा फोकस भएको बताइन् । ‘पाँच दिनपछि परीक्षा शुरु हुँदैछ, अहिले त्यसैको तयारीमा छु, अरु साथीहरुले जस्तै मैले पनि परीक्षाको तयारी गरिरहेकी छु’, उनले भनिन्, ‘निर्वाचनको बेला मेरो केही कक्षा छुटेको थियो, त्यतिबेला छुटेको विषयलाई मैले साथी तथा शिक्षकको माध्यमबाट कभर गरें ।’

पढाइ महत्त्वपूर्ण रहेछ भन्ने लागेर आफूले पढ्न थालेको समेत उनले बताइन् । चौध वर्षको उमेरदेखि नै अभिनयमा लागेर पढाइ छुटाएकी मानन्धरले अभिनय क्षेत्रमा भने लामो अनुभव बटुलेकी छिन् । ‘नेपालमा अझै पनि आधाभन्दा धेरै महिला अशिक्षित छन्, उहाँहरुले पनि पढ्नलाई कुनै असहज नपरोस् भनेर मैले पढ्न थालेकी हुँ’, उनले कलाकारितासँगको कुराकानीमा भनिन्, ‘राम्रो नतिजा ल्याउनका लागि मैले कोशिश गरेकी छु, रिजल्ट राम्रो आउला ।’

साथै उनले करीब एक वर्षको अन्तरालमा आफूले विद्यालयमा गएर पढ्दा नौलो अनुभव नलागेको बरु सामान्य लागेको बताइन् । उनले पढाइ सँगसँगै राजनीतिलाई पनि एकसाथ लैजाने बताइन् ।

तस्वीरः आर्यन बिमली, विद्यालयको तस्वीरः करिष्मा मानन्धरको फेसबूकबाट


तपाईंको प्रतिक्रिया