काठमाडौं, २६ वैशाख – अभिनेत्री दीपिका प्रसाईं एउटै फिल्मबाट पनि चर्चित बनिन् । फिल्म ‘ऐश्वर्य’ पछि उनलाई फेरि पछाडि फर्केर हेर्नुपरेको छैन । अफर आएका फिल्ममध्ये उनले छानेर मात्र फिल्म खेलेकी छिन् । पहिलो चलचित्रमा देखाएको उनको अभिनय क्षमता मात्र होइन, उनको सुन्दरतालाई लिएर पनि सिने वृत्तमा राम्रो चर्चा भयो ।
केही समयअघि उनी चलचित्र ‘छक्का पञ्जा ३’ मा अनुबन्ध भइन् । प्रायः व्यावसायिक रुपमा सफल चलचित्र बनाएका दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्ने यो चलचित्रमा उनको मुख्य भूमिका रहने भनिएको छ । यतिबेला फिल्मको स्किृप्ट नै माझ्ने काम भइरहेको छ ।
अहिलेका चल्तीका कलाकारसँग उनी अभिनय गर्दै त छिन् तर के उनी यो फिल्ममार्फत आफ्नो स्टारडम बढाउन सफल बन्लिन् त? धेरैले उनको भूमिका र फिल्ममा अनुबन्धलाई लिएर चासो व्यक्त गरेका छन् ।
यी क्युट अभिनेत्रीले फिल्मबाट पक्कै पनि राम्रो प्रतिक्रिया पाउनेछिन् भन्ने धेरैलाई लागेको छ । तर दीपक–दीपा लगायतका दोहोरिने कलाकारले उनको पात्रलाई दबाबमा पार्ने हुन् कि भन्ने भय अर्कातिर छ । जे होस्, उनका फ्यानले दीपिकाको नयाँ फिल्म देख्न कुरेका छन् ।
उनले पक्कै आफ्नो बोल्ड भूमिका देखेर नै अभिनय गर्न राजी भइन् । उनका फ्यान चाहन्छन् कि, यी बोल्ड एण्ड ब्युटीफूल लेडीले यो फिल्ममा आफ्नो भूमिकालाई कमजोर नबनाऊन् । आफ्नो भूमिकालाई सबैले नोटिस गर्ने बनाउन सकून् ।
तपाईंको प्रतिक्रिया