बक्स अफिस ‘छल्दै’ गुण सिनेमाले बेच्यो ‘ब्ल्याक’ मा टिकट − Kalakarita
बक्स अफिस ‘छल्दै’ गुण सिनेमाले बेच्यो ‘ब्ल्याक’ मा टिकट

बिहीबार, साउन १०, २०७५, ०६ : २५कलाकारिता

काठमाडौं, १० साउन – बक्स अफिस लागू भएको दश दिन नहुँदै काठमाडौंको ग्वार्कोमा रहेको गुण सिनेमा प्रालिले नेपाली चलचित्र ‘भैरे’ को टिकटमा छली गरेको पाइएको छ ।

चलचित्र ‘भैरै’ टिमले आज बिहीवारको ३ बजेको शोमा मात्रै १७ वटा बक्स अफिसका टिकटको सट्टामा हलका पुराना टिकट बेचेको पाइएको बताएको छ ।

स्रोतका अनुसार गुण सिनेमाको काउन्टरबाट केही दर्शकलाई बक्स अफिसको सिस्टमबाट टिकट विक्री गरिएको थियो भने केही दर्शकलाई पुराना टिकट बेचिएको थियो ।

चलचित्र ‘भैरे’ का निर्मातामध्येका एक निर्माता प्रेमप्रसाद पौडेलले आफूले एक शोमा मात्र १७ वटा पुराना हलका टिकट पाएको कलाकारिता टिमलाई बताए ।

‘केही दर्शकलाई काउन्टरबाट पुराना टिकट दिएर झुक्याइएको छ, ती टिकटमा मिति पनि छैन, मितिको ठाउँमा दुई लेखेर दिइएको छ’, उनले भने, ‘केहीलाई बक्स अफिस सिस्टमकै टिकट दिइएको रहेछ, केहीलाई भने पुराना टिकट दिएर पठाइएको रहेछ, हामीले दर्शकसँग सोधेर भिडियो पनि गरेका छौं ।’

एउटा शो मा मात्र यसरी टिकटमा ठगी गरेको पाइएपछि फिल्म युनिटले हलवालासँग कुरा राखेको थियो । तर, काउन्टरवालाले भने टिकट बक्स अफिसकै सिस्टमबाट काटेको तर बेलाबेलामा यस्तो टिकट आउने भन्दै प्रतिक्रिया दिएको पौडेलले बताए ।

एकै शो मा यति टिकटमा छली हुने रहेछ, हलवाला भन्दा पनि काउन्टरले ठग्न खोजेको हुनसक्ने उनले औंल्याए ।

त्यस्तै फिल्मका प्रोडक्सन म्यानेजर विक्रम पण्डितले विकास बोर्डमा पठाउने रिपोर्ट अर्कै भएको र फिल्म हलमा दर्शक अर्कै भएको बताए ।

किन पुराना टिकट दिएको भनेर पण्डितले हलवालासँग पनि कुरा गर्ने कोशिश गरेका छन् । काउन्टरले भने आफूले टिकट नकाटेको बताएको छ ।

पुराना काटिएका टिकट देखाउँदै पण्डितले भने, ‘हामीलाई सरासर घाटा लाग्यो, यसरी पनि झुक्याइने रहेछ, अब सचेत हुन्छौं ।’

यता गुण  सिनेमासँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन ।

पछिल्लोपल्ट शुक्रबार, साउन ११, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया