आर्यनका लागि अग्निपरीक्षा, के प्रेममा पास होलान्? − Kalakarita
आर्यनका लागि अग्निपरीक्षा, के प्रेममा पास होलान्?

शुक्रबार, साउन १८, २०७५, १२ : २६कलाकारिता

काठमाडौं, १८ साउन – आर्यन सिग्देल भन्नासाथ दर्शकको मनमा चकलेटी नायकको स्मृति आउँछ । पुक्क गाला । गोरो र मिलेको अनुहार । उनको आँखाबाट चश्मा प्रायः टुटेको हुँदैन ।

यतिबेला आर्यन चर्चामा छन् । उनी चर्चामा हुनुको कारण हो – कायरा ।

‘मेरो एउटा साथी छ’ लगायतका केही सिनेमाबाट आम दर्शकमाझ लभर ब्याइको छवि बनाएका आर्यन सिग्देल कुनै समयका चर्चित अभिनेता हुन् । तर, बीचमा भने केही सुस्ताए उनी । अहिले आर्यन आफ्नै होम प्रोडक्सनको ब्यानरमार्फत दर्शकमाझ आएका छन् ।

उनी अभिनित फिल्म ‘कायरा’ आजैबाट रिलिजका क्रममा छ । शायद यतिबेला उनलाई पनि लागेको हुनुपर्ने हो, ‘फिल्म कस्तो चल्ने होला?’

तर, आर्यन फिल्म चल्छ भन्नेमा ढुक्क छन् । फिल्म हेर्न आउने दर्शकलाई यो फिल्म साँच्चिकै मन छुनेछ भन्नेमा उनी ढुक्क छन् ।

‘किन ढुक्क छु भने, दर्शकले मलाई लभर ब्याइको रुपमा हेर्न चाहनुभएको थियो, म फेरि उही लभर ब्याइ भएर दर्शकमाझ आएको छु, जसलाई दर्शकले अहिले पनि उत्तिकै याद गर्नुहुन्छ’, आर्यन भन्छन्, ‘साम्राज्ञीसँग केमेष्ट्री पनि मिलेको प्रतिक्रिया आइरहेको छ ।’

आफैले तयार पारेको कथामा फिल्म खेलिरहेका आर्यन भन्छन्, ‘कुनै एउटा फिल्म चल्यो या चलेन भने पछिल्लो फिल्मलाई प्रभाव पार्दैन, कुनै फिल्म चल्न सक्छ भने कुनै फिल्म नचल्न पनि सक्छ ।’

हिजो फिल्म चल्दा या नचल्दा आफ्नो अर्को फिल्मलाई असर नपारेको पनि आर्यन बताउँछन् ।

कायराको भने यतिबेला राम्रो चर्चा छ । त्यसमाथि फिल्ममा आर्यनको जोडी भएर आउँदैछिन् साम्राज्ञी शाह ।

‘साम्राज्ञीसँग काम गर्दा रमाइलो पनि भयो, यसअघि खासै भेट नभएपनि फिल्ममा उनीसँग काम गर्दा सजिलो भयो ।’, आर्यन सुनाउँछन्, ‘साम्राज्ञी बाहेक अरु अभिनेत्री यो भूमिकामा सुहाउँनथ्यो होला, यदि साम्राज्ञीले रिजेक्ट गरेको भएपनि कोही नयाँ कलाकार हुन्थ्यो कि !’, फिल्मका कायरा बनेकी साम्राज्ञीको कामलाई लिएर पनि आर्यन खुशी देखिन्छन् ।

फिल्ममा आर्यन अभागी लभरको भूमिकामा छन् । पेशाले उनी होटल व्यवसायी पनि हुन् फिल्ममा । प्रेमबाट भाग्दै फिलिपिन्स पुगेका आर्यन साम्राज्ञीसँग प्रेममा फस्छन् कथाअनुुसार ।

अब उनको यो फिल्मी लभ यात्रा हेर्न दर्शक धेरै दिन कुर्नुपर्ने अवस्था भने छैन ।

दर्शकका लागि पनि यो फिल्म आशालाग्दो फिल्म बनेको धेरैले अड्कल काटेका छन् । किनकि, रिलिजअघि फिल्मले जुन चर्चा पाएको छ, त्यसका आधारमा फिल्म चल्ने देखिन्छ । साथै गीत र ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएका छन् ।

राम्रो बनेको रहेछ भने पक्कै पनि यो फिल्मले दर्शकको ध्यान खिच्ने देखिन्छ । आर्यनका लागि यो फिल्म किन पनि अग्निपरीक्षा हो भने उनले यसअघि अभिनय गरेका केही फिल्मले खासै राम्रो व्यापार गरेनन् । अहिले उनी फेरि ‘लभर ब्याइ’ भएर फिल्ममा आएका छन् ।

त्यसो त आर्यनसँग उत्तिकै साम्राज्ञी शाह पनि जोडिएर आएकी छिन् । आर्यन र साम्राज्ञीको जोडीकै कारण फिल्म चर्चामा छ । यद्यपि आफ्नै कथा, आफ्नै प्रोडक्सनको सिनेमा समेत भएकाले आर्यनलाई अझ बढी फिल्मको भार र जिम्मा छ ।

पर्दापछाडि रहेर फिल्म राम्रो बनाउन अहोरात्र खटिने निर्देशक लक्ष्मण रिजाल र अन्य टिमलाई पनि ‘कायरा’ परीक्षा नै हो । तर दर्शकले नोटिस गर्ने भनेको अहिलेलाई आर्यन र साम्राज्ञीलाई नै हो ।


तपाईंको प्रतिक्रिया