

काठमाडौं, २६ असार – बालकलाकार अनुभव रेग्मीलाई चिनाउने फिल्मका रुपमा ‘नाइँ नभन्नू ल’ सिरिजलाई लिने गरिन्छ । उक्त फिल्मको पाँचौं सिरिज ‘नाइँ नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
निर्धारित समयभन्दा केही ढिलो भएको उक्त कार्यक्रममा फिल्मका निर्देशक विकास आचार्य, लेखक सामीप्यराज तिमिल्सिना, प्रियंका कार्की, डेब्यु अभिनेता अभिषेक नेपाल, बालकलाकार अनुभव रेग्मी लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै निर्देशक विकास राज आचार्यले फिल्म पहिलेका सिरिज मन पराउने दर्शकले रुचाइने बताए । साथै उनले फिल्ममा पहिलेको कथाको निरन्तरता नभएर नयाँ कथा भएको पनि बताए ।
‘फिल्मको कथा नयाँ हो, हामीले पहिलेका फिल्ममा झैँ पारिवारिक कथालाई उठान गरेका छौँ, सबैले रुचाउने खालको फिल्म बनेको छ भन्ने लागेको छ’, निर्देशक आचार्यले भने, ‘ट्रेलर पनि केही उत्साह जगाउने गरी नै हामीले तयार पारेका हौँ, केही कथा लुकाएका छौँ ।’
त्यस्तै कार्यक्रममा लेखक सामीप्यराज तिमल्सेनाले यदि फिल्म सफल बन्दै गए भने नाइँ नभन्नू ल ११ पनि बन्ने धारणा राखे । साथै फिल्म सबैले रुचाउने बनाउने प्रयास गरेको उनले बताए । ‘फिल्म सफल हुँदै गए भने नाइँ नभन्नू ल को ११ संस्करण पनि बन्न सक्छ, निर्मातालाई घाटा नहुने गरी फिल्म बनाउने कोशिश गरेका छौं ।’, उनले भने ।
नायिका प्रियंका कार्कीले फिल्ममा काम गर्दा आफूलाई परिवारभित्र काम गरेको अनुभव सुनाइन् । बालकलाकार अनुभव रेग्मीले पनि अघिल्ला फिल्ममा जस्तै यो फिल्ममा पनि सबैको माया पाउने गरी काम गर्न खोजेको बताए ।
दुई वर्षको अन्तरालपछि पाँचौं भागमा इमोसनल लभ स्टोरी भएको बताइएको छ । फिल्मलाई म्युजिकल बनाउन खोजिएको छ । लोकेसनका हिसाबले इलाम र झापाका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म आउँदो भदौ ८ गतेबाट रिलिज हुँदैछ ।
फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्धि तामाङ, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै फिल्ममा बसन्त सापकोटाले संगीत दिएका छन् भने दिनेश थपलिया र संगीतकार सापकोटाले गीत लेखेका छन् । कपिल पराजुलीको भीएफएक्स रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
यसैगरी फिल्ममा सामीप्य राज तिमल्सेना र विकास राज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेको यो फिल्ममा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहालले सह–निर्माताका रुपमा रहेका छन् ।
तस्वीरः आर्यन बिमली
पछिल्लोपल्ट बिहीबार, असार २८, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया