इन्द्रबहादुर राईलाई दार्जिलिङका मदनमणि भन्नु विद्वता की मूर्खता? − Kalakarita
इन्द्रबहादुर राईलाई दार्जिलिङका मदनमणि भन्नु विद्वता की मूर्खता?

शुक्रबार, चैत्र ३०, २०७४, ०९ : २६अमर निराकार राई

काठमाडौं, ३० चैत – कान्तिपुर ‘कोसेली’(२०७४ फागुन २६) मा प्रकाशित पिटर जे कार्थकको “आईबी : दार्जिलिङका मदनमणि” शीर्षकको लेख पढेपछि मेरो सोझो पाठक मन प्रश्नहरूको कार्खना बन्नपुग्यो । कार्थकको त्यस्तो तर्कमा कति विद्वता छ र कति मूर्खता छ मैले त्यसको निर्णय गर्न खोजेको होइन । मैले उनको लेखमा रहेको कमि कमजोरीलाई पनि खुट्याउन खोजेको होइन । म त उनको तुलनामा एक साधारण भन्दा पनि साधारण पाठक मात्र हुँ । मेरो टाउकोले उनको विचारलाई पट्टकै समर्थन नगरेपछि त्यसको सट्टा प्रतिक्रियामा मैले पनि एउटा वैचारिक लेख लेख्छु भनी लुते जमर्को गरें ।

तर मेरो तर्क पनि पूर्ण सत्य नहुन सक्छ । यो लेख लेख्नुमा मेरो अध्ययनको कमी पनि हुनसक्छ । फेरि मैले लेख्नुको औचित्य मेरो विचार र तर्क नै अन्तिम सत्य हो भन्न खोजेको चाँहि पट्टकै होइन, अरू पाठकलाई पनि मेरो विचार र तर्कको खण्डन गर्ने स्वतन्त्रता छ । यो विषयमा चिन्तन गरेर आफ्ना विचार र तर्कहरू व्यक्त गर्ने अधिकार हरेकको छ तर तर्क र विचार अध्ययनको धरातलमा खड़ा उभिएको हुनु चाँहि पर्छ ।

मद्वारा यो वैचारिक लेख लेखिनुको पहिलो कारण कार्थकले इबरालाई दार्जिलिङका मदनमणिको उपमा दिने कार्यबाट जन्मको छ । इन्द्रबहादुर राई अनि मदनमणि दिक्षित एक अर्काको उपमान र उपमेय होइन । यी दुई स्रष्टा एक आपसमा अनुपमा हुन् किनभने यी दुवै स्रष्टाको नेपाली साहित्य जगतमा आ-आफ्नो विशिष्ट स्थान छन् । जस्ले गर्दा पनि उनीहरूलाई दार्जिलिङ र नेपालको भनी भाग बन्डा गर्न उचित हुँदैन । साहित्यको कुनै भौगोलिक सीमा हुँदैन त्यसैले पनि मदनमणि नेपालको इन्द्रबहादुर र इबरा दार्जिलिङको मदनमणि भन्नु भनेको यी दुवै स्रष्टाले नेपाली साहित्यको विकासमा पुऱ्याएका साहित्यिक योगदानहरूको उपेक्षा गर्नु हो । नेपाल र दार्जिलिङको मात्र होइन, यी दुवै स्रष्टा सम्पूर्ण नेपाली साहित्यकै लगनशील साधकहरू हुन् । कार्थकको दुर्वलता भनौं कि सवलता उनले राईलाई दार्जिलिङको मदनमणि मान्नु, यो विषयमा उनले फेरि एक पटक गहिरो चिन्तन गर्नु पर्ने जस्तो पनि देखिन्छ ।

इन्द्रबहादुरलाई दार्जिलिङका मदनमणि भनेर समर्थन गर्नु चाँहि आकाश र समुन्द्र एउटै हो भन्नु जस्तै लाग्छ ।

दोस्रो कारण फेरि ‘आज रमिता छ’ दार्जिलिङे कथा हुँदै होइन । मञ्जुश्री थापाले किन रोमाञ्चित भएर अंग्रेजी अनुवाद गरिन्” उनको यो वाक्य पढ़ेपछि म पनि असमञ्जसमा परे एक क्षण त, साच्चि नै त मञ्जुश्रीले किन यो उपन्यास अनुवाद गरिन् भनेर । त्यसै ‘कोसेली’मा प्रकाशित “भाग्यमानी म” लेख पढे पछि, म भ्रमको जालोबाट मुक्त भए । अनुवादक मञ्जुश्रीले ‘आज रमिता छ’ दार्जिलिङे कथा भएको आधरमा होइन नेपाली साहित्य जगतको एक उत्कृष्ट औपन्यसिक कृति भएको आधरमा अनुवाद गरेकी हुन् ।

कार्थकको विचार अनुसार त दार्जिलिङगे कथा भएको मात्र अनुवाद गर्नु पर्ने हो की भन्ने जस्तो पनि बुझ्निछ नि । या त मेरो साधरण पाठक टाउकोमा उनको व्यापक विचार नघुसेको हो, त्यो म जान्दिन । उनको यसै विचारको अर्को पक्ष ‘आज रमिता छ’ दार्जिलिङे कथा होइन भन्ने समस्याको समधान अरिस्टोटलका प्रस्तुत भनाइले गर्छ- साहित्यले समाजको अनुकरण मात्र होइन पुनर्सिर्जन पनि गर्छ । त्यस्तै प्रकारले उपन्यास पनि साहित्यको एउटा विधा हो । जुन विधाको आफ्नै स्वरूपहरू छन्, जस मध्ये एउटा यसप्रकार रहेको छ “उपन्यसको आफ्नै समाजशास्त्र हुन्छ” ।

त्यस्तै प्रकारले ‘आज रमिता छ’ उपन्यास दार्जिलिङको अनुकरण नभएर पुनर्सिर्जन पनि मान्न सकिन्छ । पुनर्सिर्जन भएको कारण नै त्यसमा उपन्यासकार इबराले त्यस उपन्यास अनुकुल समाजशास्त्रको प्रयोग गरेका छन्, जो दार्जिलिङकै जस्तो देखिन्छ । त्यो लेखकको स्वतन्त्रताको कुरो हो कुनै पनि पाठक, समालोचक या आलोचकले त्यसमा हस्तक्षेप गर्न पाउँदैन, गर्नु पनि हुँदैन ।

तेस्रो कारण संस्कृते भाषा भनेर उनले राईका ‘आज रमिता छ’ उपन्यसका भाषा शैलीको नामकरण गर्नु । उनले यसो भनेका छन् – “यो यतिबिघ्न संस्कृते छ नि यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी ।” उनले पादरी गंगाप्रसाद प्रधानको सन्. १९२३ को भनाइलाई आधार मानेर यो विचार व्यक्त गरेका छन् । यो कुरा गर्नु पूर्व पादरी गंगाप्रसादको तर्कलाई म प्रश्न गर्छु उनले संस्कृत शब्द मिश्रण भएको लेखनलाई काशी भाषे बोली भन्नु पूर्व नेपाली भाषाको उत्पतिको स्रोत कुन भाषा हो त्यसको विचार पनि गर्नु पर्ने थियो तर उनले त्यस पक्षलाई उपेक्षा गर्दै आफ्नो विचार पोख्नु उसको वैचारिक पक्ष नभएर भावनात्मक पक्ष जस्तो देखिन्छ ।

किनभने उनी साहित्यिक व्यक्ति भन्दा बढी इसाई धर्म प्रचारक व्यक्तित्व हुन् त्यसै कारण पनि उनले धर्मको भावुकतामा त्यस प्रकारका शब्दहरू प्रकट गरेको पनि हुन सक्छ । मैले पादरी गंगाप्रसादलाई आक्षेप लगाएको होइन तर उनको भनाइको तात्पर्य मात्र प्रस्ट्याउन खोजेको हुँ । आजको सन्दर्भमा पनि उनको भनाइको धरातलमा साहित्यको मूल्याङ्कन गर्न खोजियो भने त्यसले साहित्यको विशालताको उपेक्षा गर्न पनि सक्छ । त्यसैले कार्थकले इबराको ‘आज रमिता छ’ उपन्यसको भाषा शैलीलाई संस्कृते भाषा भन्नु एक व्यस्त शहरमा स्याल पसेर कराएको जस्तै हो ।

उनले ‘आज रमिता छ’को भाषा शैली दार्जिलिङको जस्तो छैन भनेका छन् । म दार्जिलिङकै आमजनता भएको नाताले त्यसको खण्डन गर्छु – “सब चोरै चोर भेला भाको (पृ.४३)” । तिहुन, शञ्चबार, काँ, यस्ता सम्वाद र शब्दहरू यस  उपन्यसमा प्रयोग गरेको छ । यसले के देखिन्छ भने दार्जिलिङगे भाषा पनि प्रष्टरूपमा झल्किएको छ तर कार्थकले “बायुद्धार” र “बिस्तृण जलराशी” कतै प्रयोग भएको छ भनेर आफ्नो विचार तर्क राखेका छन् । तर यस्ता शब्द मैले कतै भेट्न सकिन या मैले उपन्यास रोचकताको साथ पढिन या त कार्थकले उपन्यास सचेत भई अध्ययन गरेका छैनन् । उनले ‘आज रमिता छ’ उन्यासको भाषा दार्जिलिङको होइन भनेका छन् । एक पल्टलाई मानौं, इबराले उक्त उपन्यासमा त्यस्तो भाषाको सट्टा हुबहु दार्जिलिङकै भाषा प्रयोग गरेको भए त्यो साहित्यिक कृति नभएर एउटा वृत्तचित्र मात्र बन्ने थियो ।

उपन्यास साहित्यको एक विधा हो, साहित्य कलाको एक प्रकार हो । त्यसैले उपन्यास लेखनमा पनि प्रस्तुतिगत, भाषागत कला प्रस्तुत हुन पर्छ । भएन भने त्यो वृत्तचित्र बन्छ, ‘आज रमिता छ’ नेपाली साहित्यको उत्कृष्ट औपन्यासिक कृति हो, दार्जिलिङको वृत्तचित्र होइन ।

‘आज रमिता छ’ नेपाली साहित्यको उत्कृष्ट औपन्यासिक कृति हो, दार्जिलिङको वृत्तचित्र होइन ।

कार्थकले भक्सु, देहरादुनतिर बोलिने भाषिकाका केही शब्दहरू टिपेर दार्जिलिङको भाषामा कहाँबाट संस्कृतै –संस्कृत आयो भनेर प्रश्न गरेको छ त्यो उनको प्रश्न निराधार छ । दार्जिलिङमा बोल चालको भाषा एउटा पुर्ण भाषा नभएर नेपाली भाषा अन्तर्गत पर्ने भाषिका हो । त्यसैकारण त्यसमा कतै संस्कृत शब्द आउनु भनेको आप्तजन कुरा होइन । किनभने नेपाली भाषा संस्कृत भाषाबाट नै अपभ्रंश हुँदै विकास भएको हो । त्यसैले नेपाली भाषामा संस्कृत शब्द दार्जिलिङका आम जनताले प्रयोग गर्दैनन् भनेर भन्नु चाँहि, आधारहीन तर्क हो ।

किनभने हाम्रो क्षेत्रमा बोलिइने भाषा पनि नेपाली भाषा नै हो, हाम्रो बोलिमा संस्कृत शब्द कुनै रूपमा प्रयोग हुन्छ भने त्यो बोल्ने व्यक्तिको नभएर उलसे बोलेको भाषाको विशेषता हो । दार्जिलिङका जनमानसले गोर्खाल्यान्डको आन्दोलन गर्दैमा त्यहाँको भाषालाई नेपाली नभएर गोर्खे भन्नु भन्नेको भाषा र साहित्यका व्यापकताको उपेक्षा गर्नु हो । हाम्रा दार्जिलिङका नेपाली भाषीले पनि यस सन्दर्भमा सचेत हुनु पर्छ । जब दार्जिलिङ क्षेत्रको भाषा गोर्खे भनेर भनिन्छ नी त्यस बेला हाम्रा क्षेत्रका साहित्यकारहरू माथि पनि अन्याय हुन्छ ।

बंगलादेशको राष्ट्र भाषा बंगला हो त्यै भाषा हाम्रा राज्य पश्चिम बंगालका बंगाली समुदायले बोल्दा त्यसमा कुनै आपत्ति छैन, तर हामी दार्जिलिङका नेपाली/गोर्खे सामुधायले बोलिइने भाषालाई नेपाली भन्दा किन आपत्ति व्यक्त गर्नु । दार्जिलिङमा बोलिने भाषालाई गोर्खे भन्न कि नेपाली भन्ने यस्तो शङ्किर्ण विषयलाई लिएर चिन्ता गर्न कार्थक जस्ता विशिष्ट व्यक्तिलाई कति शोभा दिन्छ यो अपत्तिजनक पाटो हो । उनले चिन्ता गर्नु भन्दा चाँहि चिन्तन गरेर हाम्रो भाषा नेपाली नै हो भन्ने पक्षमा आफ्ना तर्कहरू राख्नु पर्ने हो । उनले भाषाको प्रसङ्ग राईको ‘आज रमिता छ’ उपन्यासको भाषा शैलीलाई केन्द्रमा राखेर उछाएको छ । त्यस उपन्यसमा राईले प्रयोग गरेका भाषा शैलीलाई संस्कृते संज्ञा दिएको छ । इबराले समालेचनामा जस्तो भाषाको प्रयोग गर्छ उनको सिर्जनामा त्यस्तो भाषाको प्रयोग भएका छैन ।

कार्थकले ‘आज रमिता छ’ लाई ‘माधवी’ जस्तै भनेका छन् तर यी दुईटा उपन्यासमाझ विचारधारा, भाषाशैली र संरचनागत प्रवृति सबै पक्षले पनि पृथक् छ । ‘माधवी’ले जीवनदर्शन प्रगतिवादको गोरेटोलाई मूल मार्ग चयन गरेको छ भने ‘आज रमिता छ’ले एक साथ सामाजिक यथार्थवाद, अस्तित्ववाद, विसङ्गतिवाद र मनोविश्लेषणलाई समाएको छ । तर उनले आज रमिता छ उपन्यसको भाषा शैली माधवी जस्तै संस्कृते छ भनेका छन् । मैले यी दुवै उपन्यसको गद्यांश लिएको कति संस्कृते छ त हेरौँ न – निस्पृह यायावरहरूले मोहरमित भएर उशीनरहरूलाई छोडेर गए यद्यपि तिनीहरूले उशीनरकरूबाटै सबभन्दा बढी ध्यान र सम्मान पाउने गर्थे ।

तिनको बन्दनारहित प्रस्थानलाई भरिएको मुटुलिएर हेरीरही माधवी (माधवी/४५०) । संसार सुन्दर छ, जीवन दुःखमय छ । मानिसले जीवनको रंग फेर्ने प्रयासमा सामुहिक हर्षदिवसहरू रचे । नगरा र झ्याम्टाका गम्भीर र थर्कने आवाज दुइ अथक पुरुष र स्त्री जस्ता समान परिमित कदममा नाचिरहेका थिए ( आज रमिता छ/१०९) । प्रस्तुत गद्यांश राई र दीक्षितको उपन्यासको हो । यो उनीहरूको वर्नण गर्ने शिल्प हो । यत्तिको भाषा शैलीलाई पनि कार्थक संस्कृते भनेर नेपालीमा अनुवाद गर्न जरुरी छ भन्छन् । साहित्य बुझ्नलाई पाठक उठन पर्छ बुझिने बन्नलाई साहित्य झुक्न हुँदैन । साहित्य अध्ययन गर्नु भनेको मनेरञ्जन मात्र होइन बौदिक कस्तर पनि हो । इबरा र ममदीले आफ्नो उपन्यासमा प्रयोग गरेका समवाद यस्तो छ – अचेलको बिहा के बिहा छ्याः । दश रुपेको माइक धुरीमा झुण्डायो रातभरी ट्याँ – ट्याँ बजायो । आउने – जानेलाई थाल थापेर बस्छ तर खाना पिना छैन । दुइटा कागजजस्तो पातालो पुरी र इस्कुशको जरा ! (आज रमिता छ /५६) । अर्को स्वरले भन्यो – :सुवाहु कर्कोट ! शिरमाथि उत्तानहस्त हठयोग गर्दा – गर्दा तिम्रा हात पङ्गु भइसकेका छन्; नक्षत्र गन्दा तिम्रो आँखामा प्रकाश गए” (माधवी/१०१) ।

‘आज रमिता छ’ र ‘माधवी’ उपन्यासमा प्रयोग भएका संवाद बीचको तुलनामा आज रमिता छ उपन्यास सरल छ तर ‘माधवी’ उपन्यासमा प्रयोग भएका संवाद पनि जटिल त होइन तर राईका संवादको तुलनामा जटिल नै देखिन्छ । कार्थकले भन्छन्, राईको ‘आज रमिता छ’ उपन्यास दीक्षितको ‘माधवी’ जस्तै । कुनै पनि दृष्टिले माधवी जस्तै आज रमिता छ होइन न भाषा शैली, न विषय वस्तु, न स्रोत, न प्रवृत्तिगत दृष्टिले ।

यी दुवै उपन्यास नेपालि साहित्य उच्चकोटीको औपन्यसिक कृति हो । आज रमिता छ दार्जिलिङको र माधवी नेपालको होइन । मदनमणि नेपालका इन्द्रबहादुर र इन्द्रबहादुर दीर्जिलिङका मदनमणि होइनन् । यी दुवै स्रष्टा नेपाली साहित्यका विशिष्ट प्रतिभाहरू हुन् । के कार्थकका भनाइ “आईबी : दार्जिलिङका मदनमणि” मा विद्वता नै छ त कि?

पछिल्लोपल्ट सोमबार, वैशाख ३, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया