‘कथा काठमाडौं’ को गीतमा भद्दा गालीको बर्सात, किन ‘तारो’ बनिन् प्रियंका? (भिडियो) − Kalakarita
‘कथा काठमाडौं’ को गीतमा भद्दा गालीको बर्सात, किन ‘तारो’ बनिन् प्रियंका? (भिडियो)

बुधबार, साउन ९, २०७५, ०९ : २६कलाकारिता

काठमाडौं, ८ साउन – यही हप्ता काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको आयोजना फिल्म ‘कथा काठमाडौं’ को गीत सार्वजनिक गर्नका लागि गरिएको थियो । जबसम्म गीत रिलिज भएको थिएन, त्यतिबेलासम्म कार्यक्रम सामान्य नै होला भन्ने धेरैलाई लागेको थियो ।

कार्यक्रममा उपस्थित धेरैले गीत सामान्य नै होला भन्ने शंका गरेका थिए । तर जब गीत रिलिज गरियो, हलमै केही त ट्वाँ नै परे । भलै गीत प्ले गरिँदा हलमा लाइट कम थियो ।

धेरैले त्यो कुरालाई ख्याल गर्न पाएनन् ।

प्रियंका कार्की र प्रमोद अग्रहरीलाई फिचरिङ गराइएको गीतमा क्लबको कथालाई समेटिएको छ । गीतको अन्ततिर प्रमोद र प्रियंकाको उत्तेजित दृश्य समावेश गरिएको थियो । गीत हेरेपछि पत्रकारले निर्देशकलाई प्रश्न गरे – यस्तो दृश्य राख्दा दर्शकले गाली गर्छन् भन्ने त थाहा नै होला, के यो दृश्य जरुरी थियो र?

उत्तर दिँदै निर्देशकले के पनि खुलाइन् भने फिल्ममा योभन्दा पनि बढी उत्तेजक दृश्यहरु छन् । ‘यो गीत किन राखियो भन्ने पछि फिल्म हेरेर नै थाहा पाउनुहुनेछ, फिल्ममा अरु पनि यस्ता दृश्य छन् ।’, निर्देशकले भनिन् ।

साथसाथै उनले के पनि भनिन् भने फिल्म मेकरको कुनै जेन्डर हुँदैन । ऊ महिला होस् या पुरुष तर फिल्म मेकर नै हुन्छ । अर्थात्, साझा फिल्मकर्मी ।

हलमा कार्यक्रम चल्यो । सकियो । केही प्रश्नोत्तर भए । यता युट्युबतिर भने गीतको भिडियोलाई लिएर दर्शकले गालीमाथि गाली दिन थाले ।

कतिले त भिडियोको मेकिङ नीलो चलचित्रको जस्तो भएकोसमेत आरोप लगाए । सामाजिक सञ्जालका गोप्य ग्रुपहरुमा पनि गीतको भिडियोको चर्को विरोध र मजाक बन्न थाल्यो । खासगरी प्रियंका कार्कीलाई धेरैले तारो बनाए । कतिले त प्रियंका कार्कीबाट फ्यानले यस्तो गीतको आशा नराखेको पनि बताएका छन् ।

युट्युबमा एक प्रयोगकर्ताले कमेन्ट गरेकी छिन् । ‘प्रियंका कार्की पब्लिक फिगर हुन्, सबै फिल्मकर्मीले यस्ता दृश्य राख्दा सोच्नुपर्ने हुन्छ, यो नेपाल हो, अरु देश होइन ।’

गीत यतिसम्म भल्गर बनाइएको छ कि, युट्युबमा हेर्न पनि १८ वर्ष पुगेकाले मात्र पाउने व्यवस्था छ । युट्युब खाता नभएकाले यो भिडियो नै हेर्न पाउँदैनन् ।

कतिले भन्ने गीतलाई लिएर मजाक बनाएका छन् । प्रियंका कार्कीलाई इन्स्टाग्राममा पनि उत्तिकै गाली गरिरहेका छन् । उनका फ्यानहरुले यतिसम्म नगर्न अनुरोध समेत गरेका छन् ।

‘प्रियंका कार्की काण्डले कतै गोविन्द केसीको माग छायाँमा पर्ने त होइन, ओली सरकारले ठूलै चलखेल गरजस्तो छ ।’, सञ्जीव कटुवाल नाम गरेका प्रयोगकर्ताले मजाक उडाउँदै लेखेका छन् ।

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘चलचित्र विकास बोर्डको काम छैन अब ।’

यो गीतलाई लिएर नेपालको राजनीतिदेखि प्रवृत्तिसम्मको कुरा उठाइएको छ । यद्यपि कतिपयले भने यस्ता दृश्य हलिउडमा दिन हुने, नेपालमा नहुने भन्दै पश्चिमी संस्कृतिसँग तुलना गरेका छन् ।

‘नेपाली फिल्म मेकरले के बुझ्न प–यो भने बोल्डनेस र बेसर्मीबीच एउटा मसिनो लाइन हुन्छ, सबै युनिक र मोर्डन कुरा राम्रो हुन्छ भन्ने छैन, अभिनय भनेको जिनियस र सुहाउँदो हुनुपर्छ, जसले जे भनेपनि मलाई दर्शकका रुपमा हेर्दा मन परेन ।’, दीपा थापाले भद्र कमेन्ट गरेकी छिन् ।

गीतलाई लिएर कतिपयले सकारात्मक प्रतिक्रिया दिएपनि फिल्मलाई धेरैभन्दा धेरैले निकै नै तल्लो स्तरको गाली गरेका छन् ।

गीत रिलिजपछि सिनेमाको हाइप बढ्नुपर्नेमा झन् घट्ने देखिएको छ ।

यो फिल्ममा संगीता श्रेष्ठको कथा, पटकथा र निर्देशन संगीता श्रेष्ठको रहेको छ भने विजय राईले निर्माण गरेका हुन् ।

फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

पछिल्लोपल्ट बिहीबार, साउन १०, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया