यस्तो छ खगेन्द्रको ‘डमरुको डन्डीबियो’ − Kalakarita
यस्तो छ खगेन्द्रको ‘डमरुको डन्डीबियो’

शनिबार, वैशाख २२, २०७५, ०१ : २८कलाकारिता

काठमाडौं, २२ वैशाख – नेपालमा स्पोटर्स जानरामा फिल्म बनेको पाइँदैन । संसारकै चर्चित भनिएका खेलका विषयमा पनि खासै फिल्म बनेका छैनन् नेपालमा । बरु कैयन् डकुमेन्ट्री बनेका छन् । छेतेन गुरुङ निर्देशित चलचित्र ‘डमरुको डन्डीबियो’ ले जुन विषय उठाएको छ, त्यो विषयले फिल्मलाई धेरै हदसम्म खेलसम्म जोडेको छ ।

खगेन्द्र लामिछानेको केन्द्रीय भूमिका रहेको उक्त फिल्मलाई अन्य नेपाली फिल्मसँग तुलना गर्ने हो भने यो फिल्म न त्यति झुर लाग्दो छ, न त्यति ‘वाह’ भन्न लायक ।

अर्थात्, फिल्म सतही छ । कथा फरररर बगेको छ खोलीजस्तै । चलचित्रमा खगेन्द्र लामिछाने त भैहाले, त्यसका अलावा मेनुका प्रधान, आशान्त शर्मा, लक्ष्मी बर्देवा, अनुप बराल, लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको कथा खगेन्द्रले नै लेखेका हुन् ।

कमजोरी पक्ष

फिल्ममा कमजोरीको सानोतिनो पोखरी नै छ । यो फिल्मको कलर करेक्सन खासै चित्तबुझ्दो छैन । कलाकारको अभिनयलाई निर्देशकले गहिराईमा लैजान सकेका छैनन् । पटकथा राम्रो त छ तर कथालाई जीवन्त बनाउने गरी माझ्न सकिएको देखिँदैन । सिधै भन्नुपर्दा द्वन्द्वको कमी देखिन्छ फिल्ममा ।

पूरै फिल्म एकै ठाउँमा पौडी खेलिरहन्छ । खेललाई फिल्मको पात्रका माध्यमबाट भन्दा पात्रमार्फत सैद्धान्तिक रुपमा खेललाई देखाउन खोजिएको छ । क्लाइमेक्स दमदार छैन ।

सबल पक्ष

फिल्मको कथा र यसका संवाद त्यति पट्यारलाग्दा छैनन्, भलै यी संवादलाई बलियो बनाउन सकिन्थ्यो । फिल्मले जुन विषय उठाएको छ, त्यो विषय आफैमा संवेदनशील विषय हो । खगेन्द्रले चुनेको विषय र उनको उद्देश्यलाई फिल्मले केही न केही रुपमा पूरा गर्न प्रयास गरेको छ ।
फिल्ममा दुई कुरा चित्तबुझ्दा छन् । ती हुन् – छायांकन र पाश्र्वध्वनि । यी दुवैका कारणले फिल्मले केही दम लिन सफल भएको छ ।

अझै अर्को राम्रो पक्ष फिल्ममा के छ भने चलचित्रले एउटा गहन विषयवस्तु उठाएको छ । खेलमाथि फिल्म बनाउने जुन प्रयास निर्माण टिमले गरेको छ, त्यो प्रयास असफल भएको छैन । कास्कीको घले गाउँ र त्यहाँको परिवेशलाई जस्ताको तस्तै उतार्न खोजिएको छ ।

हेर्ने कि नहेर्ने?

तपाई नेपाली सिनेमाको दर्शक हो भने यो फिल्म हेर्दा हुन्छ । फिल्मले तपाईंलाई धेरै निराशा बनाउने छैन । तर, विदेशी फिल्म हेरेर त्यो तडक भडक फिल्ममा खोज्नुहुन्छ भने त्यो स्वाद पाउन तपाईं चुक्नुहुन्छ । फिल्म हेर्दा तपाईं आफैलाई पनि यस्तो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

तर किन हेरेछु भन्ने लाग्दैन । फिल्म हेरिसकेपछि एकपटक भने तपाईंलाई नेपाली खेल डन्डीबियोप्रति भने सम्मान बढ्नेछ । यो गेम खेलेका हरेक नेपालीलाई फिल्मले पुनर्ताजगी दिनेछ ।


तपाईंको प्रतिक्रिया