काठमाडौं, २८ मंसिर – युवास्टार अनमोल केसीको क्रेज कतिसम्म छ भन्ने एउटा गीतले नै साबित गरेको छ । बिहीवार रिलिज गरिएको सिनेमा ‘क्याप्टेन’ को गीत ‘रहर छ सँगै’ लाई दर्शकको माया पाएको छ ।
यो गीत युट्युबमा रिलिज भएको १२ घण्टा नपुग्दै ट्रेन्डिङ नम्बर एकमा पुगेको हो । नेपालको युट्युब ट्रेन्डिङमा केही दिनदेखि टपमा रहेको रणवीर सिंह अभिनित सिनेमा ‘सिम्बा’ को ट्रेलरलाई समेत पछाडि पार्दै ‘क्याप्टेन’ को गीत माथि उक्लेको हो ।
रोमान्टिक शैलीको यो गीतलाई दर्शकले पनि रुचाएको प्रतिक्रिया दिएका छन् ।
युट्युबको कमेन्टमा गुणराज खतिवडाले लेख्छन्, ‘हलिउड बलिउडभन्दा कम छैन, गीत हलिउड बलिउडको जस्तो खर्च गर्ने हो भने हाम्रो फिल्म मेकरहरुले दुनियाँलाई फेल खुवाउने छन् ।’
साथै उनले नेपाली सिनेमालाई माया गर्न सबैलाई अनुरोध पनि गरेका छन् ।
यस्तै अर्का एक युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘बनायो भने नबन्ने के छ र? यस्तो राम्रो देखियो भने हलसम्म हेर्न जान मन लागिहाल्छ नि, जय नेपाल, जय नेपाली सिनेमा ।’
लोकराज तिवारीले भने अनमोल केसी आफूलाई मन पर्ने अभिनेता भएको प्रतिक्रिया दिएका छन् । उनले युट्युबमा यस्तो कमेन्ट छोडेका छन्, ‘जसले जे भनेपनि अनमोल केसी जस्तो मलाई मन पर्ने कोही छैन, यसै आउँछ एक नम्बरमा गीत १५ घण्टामा?’
फिल्मको उक्त गीत आठ घण्टामै ट्रेन्डिङ नम्बर आएकोमा धेरैले खुशी व्यक्त गरेका छन् । रिलिज गरिएको फिल्मको गीतमा अनमोल केसी र उपासना सिंह ठकुरीको केमेष्ट्री देख्न सकिन्छ । फिल्मका शब्दमा प्रेमको भावना पोखिएको छ ।
कमेन्टमै कैयन् प्रयोगकर्ताले अनमोललाई मेगास्टार समेत भनेका छन् । सोही गीत रिलिजको कार्यक्रममा अनमोल केसी किन मेगास्टार भन्ने प्रश्न पनि उठेको थियो । त्यसको उत्तरमा अनमोलले नम्र भएर यो दर्शकले दिएको माया भएको बताएका थिए ।
अर्कातिर युट्युबमा क्याप्टेनको गीतभन्दा केही घण्टापहिले प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ पनि रिलिज गरिएको थियो । उक्त चलचित्र यो समाचार पार्दासम्म ट्रेन्डिङको नम्बर ६ मा छ ।
‘क्याप्टेन’ को उक्त गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ भने अर्जुन पोखरेलको संगीत छ । यस्तै गीतमा दिग्गज धौरालीका शब्द छन् भने गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रको स्किृप्ट सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् ।
प्रशान्त ताम्राकार, सुनील थापा, सरोज खनाल, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय गरेको यो फिल्ममा प्रियंका एमभी, उपासना सिंह ठकुरी र अनमोल केसीको मुख्य भूमिका रहेको छ ।
चलचित्रले आउँदो फागुन १७ गतेलाई रिलिज मिति तोकेको छ ।
गीतको भिडियो:
पछिल्लोपल्ट सोमबार, पुष २, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया