हलिउडमा ‘सुपर हिरो’ को आफ्नै विश्व, नेपालमा टेलिसिरियल जस्ता फिल्म! − Kalakarita
हलिउडमा ‘सुपर हिरो’ को आफ्नै विश्व, नेपालमा टेलिसिरियल जस्ता फिल्म!

आइतबार, चैत्र ४, २०७४, ०१ : २८कलाकारिता

काठमाडौं, ४ फागुन – हलिउडको मार्भल स्टुडियोले थुप्रै फिल्मबाट कैयन् सुपर हिरो जन्मायो र अहिले ती सबै सुपर हिरोलाई एउटै फिल्ममा ल्याएर विश्व जोगाउने मिसनमा लागेको छ मार्भलको फिल्मी दुनियाँ ।

काल्पनिक भएपनि फिल्ममा सुपर हिरोले निर्माण गरेको त्यो दुनियाँ दर्शकलाई रोमाञ्चक लागेको छ । त्यसरी तयार गरिएका दुनियाँमा भीएफएक्स र एनिमेसन दुवैको सक्दो प्रयोग गरिएको हुन्छ ।

प्रविधिको आडमा विश्वलाई नै चकित पार्ने काल्पनिक विश्व तयार पारेको छ फिल्मले ।

मार्भल स्टुडियोले केही त्यस्ता काल्पनिक फिल्म बनायो, जुन फिल्म आम मान्छेले सोचेभन्दा फरक भए । जसरी पूर्वीय दर्शनको एक अंश महाभारतमा त्यस्तै रहस्यमयी विविध पाटालाई हामीले अहिले पनि उत्तिकै चासोका साथ पढ्छौं, हलिउडमा बनेको त्यही काल्पनिक विश्वलाई दर्शकले रुचाएका छन् ।

जस्तो कि, चलचित्र ‘स्पाइडर म्यान’ मा एक युवालाई माकुराले टोकेपछि पाउने शक्ति र उसको खुबीलाई सुपर हिरोका रुपमा प्रस्तुत गरियो ।
त्यो पनि विश्वास लाग्ने गरी । यो त एक उदाहरण मात्र हो । यस्ता फिल्मको हलिउडमा बिगबिगी छ पछिल्ला केही दशक ।

तर, नेपालमा भने त्यस्तो काल्पनिक फिल्म खासै बनेको पाइँदैन । अर्थात् नेपाली फिल्म मेकरले अझै त्यस्ता फिल्म निर्माण गर्न सकिरहेका छैनन् । बरु नेपालमा निर्माण हुने फिल्म टेलिश्रृङ्खला जस्ता भएको धेरैले आरोप लगाउँदै आएका छन् दर्शकले ।

विश्वभर नै फिल्म यस्तो सूत्रमा बन्नुपर्छ भनेर भन्दै आएको हलिउड पछिल्लो समय त्यस्तै काल्पनिक कथामा ढल्केको छ । हलिउडका ‘साइन्स फिक्सन’ जानरामा निर्माण भएका फिल्महरु वास्तविकभन्दा धेरै काल्पनिक हुन्छन् ।

प्रविधिको हिसाबले हामी केही माथि उठेको भनिरहँदा किन हामीले टेलिश्रृङ्खला जस्ता सिनेमा निर्माण गरिरहेका छौं त?

काठमाडौंस्थित आइड्रिम एनिमेसनका अध्यक्ष समेत रहेका भुषणप्रसाद प्रधानले नेपालमा भीएफएक्स (ग्रीन स्क्रिन) को काम गर्न धेरै नै महंगो पर्ने भन्ने सोचका कारण निर्माता तथा निर्देशकले भीएफएक्स प्रयोग गरिएका फिल्म निर्माण नगरेको बताउँछन् । ‘नेपालमा के रहेछ भने भीएफएक्स गरिएका फिल्म बनाउन धेरै खर्च लाग्छ भन्ने परेको रहेछ, तर त्यत्रो धेरै खर्च पनि लाग्दैन, अर्को कुरा यहाँ निर्देशन पढाइँदा पनि भीएफएक्स पार्टलाई खासै महत्त्व नदिइने रहेछ’, उनी थप्छन्, ‘अहिले बिस्तारै भीएफएक्सको काम पनि नेपाली सिनेमाले थालेका छन्, हामीले यतिबेला ३ फिल्ममा काम गरिरहेका छौं ।’

उनी नेपाली फिल्मकर्मीले भीएफएक्स पाटोलाई इन्कार गर्ने गरको बताउँछन् ।

प्रधानले भनेअनुसार भीएफएक्सको प्रयोग नेपाली सिनेमामा खासै गरिँदैन । तर छिमेकी देश भारतमै निर्माण हुने धेरै फिल्ममा पनि भीएफएक्सको राम्रै प्रयोग गरिएको हुन्छ । अझ भारतको एक प्रान्त दक्षिण भारतमा निर्माण हुने फिल्ममा निर्माण भएको बाहुबलीले त इतिहास नै रच्यो ।

निर्देशक नरेशकुमार केसी भने भारतले पनि पूर्ण रुपमा एनिमेसन गरेका फिल्म निर्माण गर्न नसकेको बताउँछन् । नेपालको तुलनामा बलिउडको बजार निकै ठूलो भएर पनि पूरै भीएफएक्स सहितको फिल्म बनाउन भारत पनि अझै तयार नभएको उनको भनाई छ । ‘भारतमा वर्षैपिच्छे त्यस्ता फिल्म बन्न सकेका छैनन्, बलिउडमा बनिरहेको चलचित्र २.० ले पनि दुई वर्षभन्दा धेरै समय लगाइसकेको छ, बाहुबलीजस्तो फिल्म बन्यो, त्यो सफलता हो’, निर्देशक केसी थप्छन्, ‘हामीले पनि सिजीआई (कम्प्युटरद्वारा निर्माण गरिएको) गरेको फिल्म गर्ने कि भनेर सोच बनाएका हौं, तर यसका लागि समय र लगानी दुवै खर्च हुन्छ, कम्तिमा पाँच वर्ष लाग्छ ।’

हलिउडले भने फिल्ममार्फत आफ्नो छुट्टै विश्व बनाएको उनी स्वीकार्छन् । हलिउडले मिथोलोजीलाई लिएर छुट्टै चरित्रका फिल्म निर्माण गरेको बताउँछन् उनी ।

हामीले यथार्थवादी फिल्म निर्माण गरिरहेका छौं किनकि, त्यसमा हामीले प्राविधिक रुपमा कम दिमाग खर्चे पुग्छ तर समय र लगानीका हिसाबले भने एनिमेटेड फिल्म निर्माण गर्दा धेरै खर्च लाग्छ । ‘हलिउडमा स्किृप्टको टिमदेखि अन्य धेरै कुराको टिमवर्क हुन्छ, कम्तिमा तीनसय देखि पाँच सयसम्मले काम गर्नुपर्छ’, केसी थप्छन्, ‘नेपालीसँग कन्सेप्ट नभएको होइन, बरु हामीले प्रयोग गर्न नसकेका हौं ।’

छायांकार सञ्जय लामाको तर्क पनि लगभग त्यस्तै छ । नेपालमा दक्ष जनशक्ति छन्, तर ती जनशक्तिलाई हामी पैसाकै कारणले प्रयोग गर्न नसकेको बताउँछन् सञ्जय । ‘मैले सुनेअनुसार नेपालमा हलिउडकै फिल्म पनि एनिमेसन गरिन्छ, त्यसको टिम छ, तर हामीले त्यो टिमलाई प्रयोग गर्न सकेका छैनौं’, लामा थप्छन्, ‘प्रविधिको हिसाबले हामीसँग हलिउडमै प्रयोग हुने प्रविधि छ, तर हामी लगानीकै कारण त्यस्ता फिल्म बनाउन सकेका हुँदैनौं, यदि लगानीकर्ता भेटिने हो भने हामीले फिल्म खिच्न सक्छौं ।’

फिल्मको प्राविधिक पाटो एकातिर छ, अर्कोतिर एकैनासका फिल्म निर्माण भइरहेका छन् । एकथरी दर्शकले के भन्दै आइरहेका छन् भने पहिलेदेखि हामीले टेलिश्रृङ्खलाजस्ता फिल्म मात्र हेर्‍यौं, दर्शकलाई यही बानी पर्‍यो । ‘लार्जर देन लाइफ’ खालका फिल्म हामीले बनाउन सकेका छैनौं, बरु उस्तै फिल्ममा खुम्चेका छौं ।

जे जसरी सिनेमा क्षेत्र अगाडि बढ्दै गएपनि पछिल्लो समय भने नेपाली सिनेमाघरमा हलिउडका फिल्मले राम्रो व्यापार गरेका छन् । काल्पनिक फिल्मको चर्चा अन्य फिल्मको भन्दा धेरै हुन थालेको छ । बिस्तारै यसको प्रभाव नेपाली सिनेमा क्षेत्रमा पनि पर्ने देखिन्छ । निर्देशक नरेशकुमार केसी भन्छन्, ‘हामीले फिल्म ‘रोमियो एण्ड मुना’ को एउटा गीतको सीजीआई गर्न मात्र पनि धेरै समय खर्चेका छौं, त्यस्ता फिल्म निर्माण गर्न नसकिने होइन, समय, पैसा र दक्ष जनशक्तिको ठूलो टिम चाहिने हो।’

यो पनि पढ्नुहोस्ः

आँचल भन्छिन्, हरि बा र मदन बा जस्तो अरु कोही छैन

पछिल्लोपल्ट बिहीबार, चैत्र ८, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया