‘शत्रु गते’ हेर्न सुटुक्क हल पुगे झलनाथ, गरे मह जोडीको तारिफ − Kalakarita
‘शत्रु गते’ हेर्न सुटुक्क हल पुगे झलनाथ, गरे मह जोडीको तारिफ

मंगलबार, चैत्र १३, २०७४, ०९ : २९कलाकारिता

काठमाडौं, १३ चैत – गएको शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ले यतिबेला चारैतिरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । प्रदर्शनको तीन दिनमा फिल्मले ३ करोड २७ लाख बराबरको कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ ।

यतिबेला भने एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि फिल्म हल पुगेका छन् । यसअघि उनी चलचित्र ‘पञ्चायत’ हेर्न पनि हल पुगेका थिए ।

फिल्म प्रदर्शनमा आएको चौथो दिन एमालेका वरिष्ठ नेता झलनाथ खनाल फिल्म हेर्न हल पुगेका हुन् । उनीसँगै अन्य नेता भीम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ लगायत पनि हल पुगेका थिए । नेताहरुले काठमाडौंको बागबजारमा रहेको सिटीम्याक्समा पुगेर फिल्म हेरेका हुन् ।

साथै हलमा नेतासँगै निर्माण टिम पनि हल पुगेको थियो । फिल्म हेरिसकेपछि बोल्दै झलनाथ खानले फिल्म निकै रमाइलो बनेको बताए । ‘फिल्म हँसाउन सफल छ, फिल्मको चर्चा सुनेर नै हेर्न आएको थिएँ, समय खेर फालेजस्तो लागेन ।’, उनले भने । साथै उनले मह जोडीको काम उत्कृष्ट रहेको पनि बताए ।

त्यस्तै अर्का नेता भीम रावलले पनि फिल्म राम्रो बनेको र मह जोडीको काम तारिफ योग्य भएको बताए ।

फिल्म हेर्नका लागि यतिबेला नेतादेखि कलाकारसम्म हल पुगेका छन् भने धेरैले फिल्मले मन जितेको बताएका छन् ।


तपाईंको प्रतिक्रिया