प्रदीप भट्टराईलाई ‘त्र’ शुभ, ‘जात्रै जात्रा’ मा बोनस त्र ! − Kalakarita
प्रदीप भट्टराईलाई ‘त्र’ शुभ, ‘जात्रै जात्रा’ मा बोनस त्र !

शनिबार, असोज २७, २०७५, ०५ : २९कलाकारिता

काठमाडौं, २७ असोज – कमै फिल्म निर्देशन गरेर चर्चामा पुग्ने निर्देशक एकदमै कम छन् नेपालमा । ‘जात्रा’ निर्देशन गरेपछि प्रदिप भट्टराई पनि चर्चामा रहने निर्देशकका रुपमा दरिए । लगत्तै उनले निर्देशन गरेको दोस्रो फिल्म ‘शत्रु गते’ ले पनि कमाल गरिदियो ।

फिल्मको कथा तयार पारिरहेको बताउँदै आएका प्रदिपले बिहीवार काठमाडौंमा तेस्रो फिल्म ‘जात्रै जात्रा’ को औपचारिक घोषणा गरे । यी तिनै चलचित्रमा ‘त्र’ चाहिँ छुटेको छैन । औपचारिक कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले भने, ‘म आफैलाई पनि थाहा थिएन, तर मेरा प्रोजेक्टमा ‘त्र’ छुटेको रहेनछ, अब हामीले दुई ‘त्र’ ले बनेको जात्रै जात्रा बनाउँदैछौँ ।’

अझ अर्को संयोग के बनाइएको छ भने यो फिल्म फागुन १७ गते रिलिज हुँदैछ । रिलिज मितिमा पनि एउटा ‘त्र’ छ । यसलाई प्रदीपले भाग्यका रुपमा लिएका छन् । यसैले उनले ‘त्र’ लाई नछुटाउने सोच बनाएका छन् ।

अर्को महिनाबाट फ्लोरमा जाने र यही वर्षको फागुन १७ गते प्रदर्शनमा आउने गरी तयार पार्न लागिएको चलचित्र ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, प्रियंका झा लगायतका कलाकारले अभिनय गर्दैछन् ।

कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले फिल्मको कथा चित्त बुझेर यो कथामा फिल्म बनाउन लागेको बताउँछन् भने निर्देशक प्रदीप भट्टराईले यो फिल्ममा अझै सरप्रराइज दिन खोजेको बताउँछन् ।

यद्यपि फिल्मको कथा भने पहिले जहाँबाट सकिएको थियो, त्यहीँबाट शुरु हुनेछ ।

असन र बौद्ध लगायतका स्थानमा छायांकन हुने यो फिल्मलाई निर्देशक भट्टराई एण्ड टीमले स्तरीय बनाउन सके भने त ‘त्र’ ले साथ देला । होइन भने त ‘अक्षरमा के नै छ र?’ भन्ने विकल्प त बाँकी रहने हो ।

पछिल्लोपल्ट मंगलबार, असोज ३०, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया