काठमाडौं, ७ चैत – गायिका आस्था राउतले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस लेखिन् – ‘गुहार मागेको अवस्था ! कला र चर्तिकला छुट्याउने संगीत निकायको ‘सेन्सर बोर्ड’ कहाँ छ?’
एकातिर सिनेमामा भएको सेन्सर बोर्ड पनि खारेज हुनुपर्छ भनेर आवाज उठिरहेका बेला संगीत क्षेत्रमा पनि सेन्सर बोर्ड हुनुपर्छ भने आवाज उठ्न थालेको केही वर्ष भयो ।
तर, यो आवाज मिडियासम्म त पुगेको छ, सम्बन्धित निकाय या सरकारसम्म पुग्न भने सकेको छैन ।
केही वर्ष यताको सांगीतिक बजारलाई हेर्ने हो भने उच्छृङ्खल गीतले बजार ओगटेको धेरैले आरोप लगाउने गरेका छन् ।
गायिका राउतले पनि त्यही धारणामा समर्थन जनाउँदै आफ्नो विचार व्यक्त गरिन् ।
केही वर्ष यता गीत संगीतमा देखिएको विकृतिप्रति कटाक्ष गर्दै आफूले अभिव्यक्ति दिन वाध्य भएको आस्था बताउँछिन् । कतिपय राम्रा संगीत भएर पनि शब्द नै चित्त नबुझ्दा आफूले गीत रिजेक्ट गरेको आस्थाले बताउँदै आएकी छिन् ।
‘चौबन्दीमा पटुकी’ गाएपछि अझै चर्चा बटुलेकी राउत सांगीतिक क्षेत्रमा मुछिएको अश्लीलताको खुलेर प्रतिक्रिया गर्नुपर्छ भन्छिन् ।
त्यसो त यो क्षेत्रमा विकृति फैलियो भनेर आवाज उठ्न थालेको पनि लामो समय भइसकेको छ ।
त्यसो त संगीत क्षेत्रमा विकृति फैलियो भनेर आवाज उठ्न थालेको पनि लामो समय भइसकेको छ ।
संगीतले आफ्नो बजार गुमायो, मौलिकता गुमायो भनेर विचार विमर्श पनि भइरहेका छन् तर यस्ता गीतको भेल बाढी रोकिएको पनि छैन ।
ठाडै अश्लील लाग्ने गीत नगाउने बताउने आस्था छाडा गीतमा तत्कालै सेन्सर लाग्नुपर्ने बताउँछिन् । ‘गीतहरु असाध्यै अश्लील गाइन थाले, यसले कस्तोसम्म विकृति ल्यायो भने, असली कलाकार ओझेलमा परे, दर्शकको मन बिथोलियो’, ‘त्यस्ता गीत गाउन अफर नआउने होइनन् तर म त्यस्ता गीत कसैले गाइनु हुन्न भन्छु ।’
‘किनकि, संगीतले मान्छेको सोचलाई बदल्न सक्छ, हामीले गलत सोच दर्शकको दिमागमा घुसाउनुहुन्न ।’, उनको तर्क छ ।
आफूले नगाएका कति गीत अहिलेका हिट गीत भनिएको तर शब्दकै कारणले आफूले ती गीत ‘रिजेक्ट’ गरेको आस्थाको भनाई छ । ‘केही शब्द चित्त नबुझेर मैले नगाएका केही गीत हिट भए तर मलाई त्यसमा कुनै पछुतो छैन, बरु त्यस्ता गीत नगाएर ठीक गरें’, उनी भन्छिन्, ‘घरमा सेन्सर हुन्छ, आमा (सावित्री राउत) ले मैले नबुझेका गीतका शब्द हेर्नुहुन्छ, गलत अर्थ लाग्ने शब्द भए म गाउँदिन, उहाँ नै नगाऊ भन्नुहुन्छ ।’
आमालाई किन? कति गीतका घुमाउरो भाव त आफूले पनि नबुझेर आमासँग सोध्नुपर्दो रहेछ आस्थालाई ।
‘हामी कलाकारलाई समाजको ऐना भनिन्छ, गीतको माध्यमबाट हामीले अश्लीलता फैलाउनु राम्रो होइन’, राउत थप्छिन्, ‘कति राम्रो बिट भएका गीत आउँछन् तर शब्द नै चित्त बुझ्दैन र गीतको सेन्स घुमाएर ‘सेक्स’ मै लगिएको हुन्छ ।’
यस्ता गीत गाउँदा तत्काललाई गायक गायिका चिनिने मौका पाएपनि भविष्यमा यसको नकारात्मक असर स्वयम् कलाकारलाई मात्र नभएर पूरै संगीत क्षेत्रलाई समेत पर्ने आस्थाको तर्क छ । ‘मैले नगाएका आइटम गीत जसले गाउनुभयो, उहाँहरु अहिले चर्चामा हुनुहुन्छ, तर कुनै समय उहाँहरुलाई पनि किन यस्ता गीत गाएछु भन्ने लाग्न सक्छ’, आस्था असहमति प्रकट गर्दै भन्छिन्, ‘समाजलाई असर पार्ने गीत हामीले किन गाउने, महिलाको अंग केन्द्रित गीत नगाएकै राम्रो ।’
उनले गाएका गीतलाई दर्शकले रुचाएका छन् । बच्चादेखि वृद्धसम्म सबैले आफ्ना गीत सुनेको प्रतिक्रिया दिने गरेको आस्था बताउँछिन् ।
‘चौबन्दीमा पटुकी’, ‘खै त मलाई झुम्के बुलाकी’ जस्ता गीतले आफूलाई नेपालमा मात्र हैन नभएर विदेशी भूमिमा बसोबास गर्ने नेपालीभाषीसँग पनि परिचित गराएको आस्था बताउँछिन् । ‘चौबन्दीमा पटुकी गीत गाएपछि मलाई भुटान, बर्मा, दार्जिलिङ, सिक्किम लगायत क्षेत्रमा पनि सम्मानले हेर्नुभयो, म आफैलाई पनि यो गीत पछिसम्म बाँच्छ जस्तो लाग्छ’, आस्था सुनाउँछिन्, ‘केही गायक गायिकाले सस्तो प्रचारका लागि सिधै यौन दर्शाउने गीत गाएका छन्, त्यसमा मेरो असहमति हो ।’
‘शो गर्ने हो भने मेरो ज्यान पनि कम छैन, महोत्सव तथा कार्यक्रममा गएर छाडा बनेर पाएको प्रचार दिगो हुँदैन’, उनी भन्छिन्, ‘गायकीले पाएको सफलता जुगौं जुग बाँच्छ भन्ने त इतिहासले देखाइसकेको छ, सस्तो चर्चामा आउन सबैले यस्तै ‘झल्लु’ गीत गाउन थाले भने संगीत क्षेत्र कस्तो बन्ला?’
सस्तो चर्चामा आउन सबैले यस्तै ‘झल्लु’ गीत गाउन थाले भने संगीत क्षेत्रको कस्तो बन्ला?
गायक गायिकाले विभिन्न महोत्सवमा गाउने गीत र त्यहाँ दिइने प्रस्तुति साह्रै सस्तो प्रचार भएको बताउँछिन् आस्था । महोत्सवमा एकै खाले दर्शक मात्र नआउने र त्यहाँ बच्चादेखि वृद्धसम्म आफ्ना परिवारसँग आएका हुनाले त्यस्ता ठूला कार्यक्रममा छाडा गीत गाइन नहुने उनको तर्क छ ।
‘मेलामा सबैखाले दर्शक हुन्छन्, उच्छृंखल गीत गाउँदा केटाकेटी र युवाको मनमा कस्तो प्रभाव पर्छ, यसबारेमा हामी कलाकारले सोच्नुपर्छ कि पर्दैन?, चर्चाका लागि जस्तो गीत पनि गाइदिने?, जस्तो पोशाक पनि लाइदिने?’, उनी आक्रोश पोख्दै भन्छिन्, ‘हुन त यसमा कलाकारको मात्र दोष होइन, आयोजक पनि भागिदार हुन्, यदि यसलाई सामान्य रुपमा लिइएको छ भने भविष्यमा ठूलो समस्या निम्त्याउँछ ।’
‘संस्कृतिको जर्गेनाका लागि भनेर गरिएका महोत्सवले यस्ता हर्कत गर्नु हुँदैन, कसरी हिट बनौं भनेर उदाएका ‘नामका भोकाहरु’ ले गर्दा कला क्षेत्र नै ओझेलमा परेको छ ।’, आस्था भन्छिन् ।
साथै उनी दर्शकलाई सतही गीत मात्र नभएर राम्रा गीत छानेर सुन्न आग्रह गर्छिन् । नेपालमा संगीतमा देखिएको यो अस्थिरता र अश्लीलतालाई कुनै न कुनै निकायले ‘सेन्सर’ गर्नुपर्ने आस्थाको तर्क छ ।
‘कलाकारको पनि ग्रेड हुनुपर्छ, हिजो आएका, चर्तिकला देखाएर गीत गाउने र वर्षौं मेहनत गरेका कलाकार एकै ग्रेडका हुन सक्दैनन्’, आस्था भन्छिन्, ‘छाडा गीतले गर्दा गुणस्तरीय गीत पछाडि परेका छन्, यो संगीतको दुर्घटना हो ।’
र, यो पनि पढ्नुहोस्ः
बारम्बार गीत चोरीः कलाकारले कलाकारलाई मुद्दा हाल्नकै सास्ती
पछिल्लोपल्ट मंगलबार, चैत्र १३, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया