सुन्दरीजलमा ‘सुन्दरीजल’ खोज्दा… − Kalakarita
सुन्दरीजलमा ‘सुन्दरीजल’ खोज्दा…

शनिबार, फागुन ५, २०७४, ११ : ३१कलाकारिता
मुक्ति भण्डारी

 

यात्रा रोमाञ्चक थियो ।

काठमाडौंको धूलो धुवाँले गलाएको मनलाई एकदिन भएपनि फ्रेस बनाऊँ कि भनेर केही साथीहरु मिलेर काठमाडौंकै एक छेउ सुन्दरीजल जाने योजना बन्यो साथीहरुको । बिहानै घामको झुल्कोसँगै हामी सुन्दरी जल जाने भयौं – कीर्तिपुर टु सुन्दरीजल ।

यात्रा शुरु भयो कीर्तिपुरबाट । बिहानै साढे ६ बजे नयाँबजारमा हामी जम्मा भयौं । र, रत्नपार्क छेउको बसपार्क पुग्यौं ।
मौसम गुम्म थियो । बसहरु सुन्दरीजल जान पङ्क्तिमा बसेका थिए । छेउमा एउटा चिया पसल थियो । त्यतै छि–यौं ।

‘यस्सो चिया चुरोट तान्न परो’, मैले हामीसँगै यात्रामा निस्केका केटी साथीहरुलाई हेर्दै ठट्टा गरें ।
‘के रे के रे ?’, एउटीले आँखा तर्दै भनी ।
‘चुरोट नास्ता खाम भनेको नि ।’, मैले हाँस्दै भनें ।

यत्तिमै सबै साथीहरु हाँसे । हाँसोमय बन्यो चिया पसल ।

‘भ्रमण जाँदा लगाम्ला भनेर किनेको ज्याकेट उद्घाटन गर्नै नपाइने हो कि भन्ने पिर थियो, आज शान्त भयो ।’ – गोरी बोली ।
सबैले उसको नयाँ ज्याकेटको तारिफ गरे । मुखले ‘बिल्ला नगर है धेरै’ भने पनि मनमनमा मख्ख परेकी छे भन्ने कुरा उसको अनुहारबाटै बुझिन्थ्यो ।

एकछिन रमाइलो गरेपछि हाम्रो यात्रा सुरु भयो सुन्दरीजलतर्फ ।

बसमा चढियो । अगाडितिरका सिटलाई केटी साथीहरूले कब्जा गरे । अमर र म अलिक पछाडिको सिटमा बस्यौं । गाडीमा हाम्रा आ–आफ्नै गन्थन शुरु भए । यात्रा रमाइलो बन्दै थियो । पुरानो थोत्रो देखिने सार्वजनिक बसमा ड्राइभरले एउटा पुरानो हिन्दी गीत बजायो बिहानै ।
‘इन आँखों के मस्ती के,
मस्ताने हजारों में…।’

काठमाडौंका सार्वजनिक गाडीहरूको मुख्य विशेषता हो—ठेलामठेल । बीचबीचमा मान्छे थप्दा थप्दै गाडी पूरा अटेसमटेस भयो । धन्न हाम्रो टोलीका सबैले सिट पाएका थियौं । काठमाडौंमा यो दुर्लभ घटना मान्नुपर्छ ।
‘गाडी पनि बेलुन जस्तो हुनुपर्ने के, फुलाएर ठूलो बनाउन मिल्ने ।’, मैले ठट्टा गर्न खोजें ।

‘अनि त एउटै गाडी फुलेर सारा काठमाण्डु ढाकि पठाउला नि’ – अमरजीको दार्जिलिङे लवजमा ठट्यौली उत्तर आयो ।
सह–चालक भन्दै थियो – पछाडि छिर्नुस्, पछाडि छिर्नुस्…

गाडीमा मान्छे खचाखच भइसकेका थिए । यात्रु र चालकबीच छिनमै ठाकठुक पथ्र्यो । छिनमै मिलापत्र हुन्थ्यो । हामी गोकर्ण आइपुगेका थियौं ।
‘मुक्ति ! भैरव अर्यालले आत्महत्या गरेको यहीँ हो?’ चार सिट अगाडिबाट फुच्चीले चिच्याई ।
‘अँ, हो हो ।’, मैले आफैले देखेझैं गरी जवाफ दिएँ । ढुक्कसाथ ।

भैरव अर्यालजस्तो प्रखर मान्छेले किन आत्महत्या गरे होलान्? साँच्चिकै भैरव अर्यालले नेपाली हाँस्यव्यङ्ग्यमा जुन उचाइ प्राप्त गरेका छन्, त्यो जो कोहीका लागि सम्भव छैन । तीस वर्ष मात्र बाँचेर पनि साहित्यमा यति धेरै योगदान पु¥याएका भैरव अर्यालप्रति मनमनै श्रद्धासुमन अर्पण गरेँ । यत्तिकैमा रजनीस ओशोले भनेको कुरा सम्झें – ‘जीवनको अर्थ लम्बाइमा होइन, गहिराइमा छ ।’

सोचको यात्रा रोकिएको थिएन, तर बसको यात्रा रोकियो । ड्राइभरले झ्याप्प ब्रेक लगायो ।

त्यसपछि उसले लगत्तै भन्यो – ‘यहाँभन्दा माथि गाडी जान सक्दैन । सबै यहीं झर्नुस् ।’

अब गोकर्णबाट माथि बस नजाने भो । उकालो बाटो हामी पैदल यात्रा शुरु ग¥यौं । सेल्फी खिच्यौं – दुई औंला ठड्याएर, चोँसो पसारेर, जिब्रो निकालेर यस्तै यस्तै चल्तीका सबै पोजमा ।

‘काठमाडौंमा मलाई मन पर्ने धरै कुरा छन् तर कति कुरा मन नपर्ने पनि छन् । जस्तो कि जतिबेला पनि चोरले झैं मुखमा पट्टी लगाइकन हिन्नुपर्ने ।’ – अमर जी बीचमै बोले । हामीले सहमति जनायौं ।

केहीबेरपछि सुन्दरीजलको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुगियो ।
‘कति जना हुनुहुन्छ ?’ काउण्टरवालाले प्रश्न ग-यो ।
‘हामी सात जना ।’
‘एक जनाको ५७ रुपैंयाँका दरले लाग्छ ।’
‘स्टुडेन्टलाई डिस्काउन्ट हुन्न ?’
‘हुँदैन, दश वर्ष मुनिकालाई मात्र छुट छ ।’
‘ए, त्यसो भए हाम्रो ग्रुपमा एकजनालाई छुट हुने भो ।’ मैले भनें ।

सबैजनाले आश्चर्य मान्दै मतिर हेरे ।
‘धेरै बिल्ला नगर्नु है मुक्ति ।’ हाम्रो समूहकी फुच्चीको आवाज सुस्तरी मेरो कानसम्म आयो ।

हामी सबैजना हाँस्यौं । त्यतिबेला शायद हाम्रो हाँसो अलिक अल्छी थियो ।

सुन्दरीजल आसपासको क्षेत्रलाई राष्ट्रिय निकुन्ज बनाइएको रहेछ । एक सय उनान्साठी वर्ग कि.मि. मा फैलिएको यस निकुञ्जमा २२ भन्दा बढी प्रजातिका स्तनधारी जनावरको बसोबास रहेको कुरा प्रवेशद्वार नजिकै टाँगिएको सूचनापाटीबाट जानकारी पाइयो ।
हामीले भने बाँदरशिवाय केही देखेनौं । प्रवेशद्वारको थोरै भित्र अलिकति माथि छाँगाबाट पानी खसिरहेको देखियो । सुन्दरीजल कतिबेला पुगिन्छ भन्ने सुर्ताले त्यसको खासै मतलब नगरी अगाडि बढ्यौं ।

पानीसँग बिस्कुट खाँदै गर्दा सुन्दरीहरूले घेरे । सुन्दरीजलमा आएर सुन्दरीसँग फोटो त खिच्नै प¥यो भनेर अघि सरेको मात्र के थिएँ एउटा बाँदरले मेरो हातको बिस्कुट खोसेर भाग्यो । म जिल्ल परेँ ।

त्यहीबेला एउटा विदेशीको हातबाट बाँदरले मोबाइल खोसेछ । उसले एउटा आइडिया लगायो । बाँदरलाई दुइटै हातमा खानेकुरा दिएपछि बाँदरलाई मोबाइल समाउन मिलेन र भुइँमा छोडेर हिँड्यो । सेतो छाला हाँस्यो ।

हामी भए बाँदरलाई ढुङ्गा हान्ने, रुने, कल्लाउने के के गरेर मोवाइल गुमाउँथ्यौं सायद । गोरेको बुद्धि देखेर हामीलाई कताकता लज्जाबोध भयो ।
सुन्दरीजलको राम्रो पक्ष भनेकै पानी रहेछ । जताततै पानीका मुहान । खुबै पियौं पानी । सधैं मौन, सधैं गम्भीर रहने अमर पनि फुरे । साथीहरू अन्ताक्षरी खेल्न थाले मैले पनि साथ दिएँ । हामीले सुन्दरी जलको मुख्य केन्द्र वा हामी जे हेर्न आएका हौं त्यो चिज खोज्दै थियौं तर भेटेनौं ।

सबैको लागि अपरिचित थियो त्यो ठाउँ । वास्तवमा धेरै बेर डुल्दा पनि हामीले केही फेला पारेनौं शिवाय एउटा जलविद्युत उत्पादनको लागि बनाइएको ताल । कुन्नि कसले भन्यो यहाँ झरना छ रे । हामी झरना खोज्दै डाँडातिर निस्क्यौं । एउटा पसलजस्तै घर भनौं कि घरजस्तै पसल फेला प-यो ।

‘आन्टीऽऽ ! यता झरना छ ?’ एउटी युवतीलाई देखेर फुच्चीले प्रश्न गरी ।
‘आन्टीऽऽ ! छैन यता ।’ आँखा तर्दै युवतीले जवाफ दिई । आन्टी भनेर सम्बोधन गर्दा उनको मनमा चिसो पसेछ ।

हामी झरना खोज्न डाँडातिर लाग्यौं । कस्तो हास्यास्पद थियो हाम्रो हिँडाइ । झर्ना के भेटियोस् । अलिक माथि जङ्गलमा पुगेपछि फर्किने विचार ग-र्यौं । लप्सी पाक्ने सिजन रहेछ । झटारो हानेर केही लप्सी झा¥यौं र चुस्दै तलतिर झ¥यौं । हामीले खोजेको सुन्दरीजलको केन्द्र अझै फेला परेन । तल एउटा खोला रहेछ ।

पानी निकै चिसो थियो । सुन्दरीजलको जलमा सुन्दरीहरूसित फोटा खिच्यौं र फर्कियौं । साँझ पर्न लाग्यो तर हामीले सुन्दरीजलको मुख्य ठाउँ भेटेनौं । अन्त्यमा बोध भयो यो जङ्गल, खोला, जलाशय सबैको समग्रता पो सुन्दरीजल हो । हामीले टुक्रा टुक्रा सुन्दरीजल खोजेर के पो पाइयोस् ? मनमनै सोचेँ हामीले जीवनलाई समग्रतामा नहेरेर टुक्राटुक्रामा हेरेर नै दुःख पाइरहन्छौं ।

फर्किंदा थाहा भयो, शुरुमा देखिएको माथिबाट खसेको पानी नै सुन्दरीजलको झरना रहेछ । दिनभर सुन्दरीजलभित्रै घुमेर हामी सुन्दरीजल नै भेटिएन भनेर भौतारिइरह्यौं ।

जब थाहा पाइयो तव रात परिसकेको थियो । हामी घर फक्र्यौं । मनमनै विचार गरेँ हाम्रो जीवन पनि थाहा नपाउँदा नपाउँदै सिद्धिन्छ, जव थाहा हुन्छ, त्यतिबेला ढिलो भइसकेको हुन्छ । यो एकदिने यात्रा सिङ्गो जीवन जस्तै लाग्यो मलाई ।

फर्किंदा सबैजसो साथीहरू थाकेकाले निदाए । म भने निद्रा नलागेकोले छेवैमा बसेका एक युवासँग कुरा गर्न लागेँ । कुराका सिलसिलामा उनले थपे – ‘यो मेलम्ची खानेपानी योजनाको बारेमा म स्कुल पढ्दादेखि नै चर्चा सुनेको थिएँ, मैले इन्जिनियरिङको पढाइ सकेर यसमा काम गर्न लागेको पनि निकै भइसक्यो ।’

उनले फेरि थपे, ‘कति मान्छे त यसैमा काम गरेर रिटायर्ड भइसके तर पानी आइपुगेन ।’

आफ्नो देशको कछुवा गतिको विकास देख्दा मेरो मन नपोलेको होइन । हामी गफैगफमा त्यहीं आइपुग्यौं, जहाँबाट हामीले बिहानी उज्यालोसँगै यात्रा थालेका थियौं ।

छुट्टिने बेलामा हिसाब गर्दा यात्राको खर्च दुइटा गैंडाले सजिलै बोक्न सक्ने देखियो । हामी फिस्स हाँस्दै आ—आफ्नो डेरातर्फ लाग्यौं । बाटोमा दिनभरको लहडी यात्राको सम्झना आइरह्यो । सोंचेँ— ‘रमाइलो गर्न धेरै पैसा खर्चनु पर्दो रहेनछ, उन्मुक्त भई हाँस्न सके ।’

पछिल्लोपल्ट मंगलबार, फागुन ८, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया