फिल्म लेखन प्रतियोगितामा ‘द गिफ्ट’ उत्कृष्ट, गुरुङले जिते तीन लाख − Kalakarita
फिल्म लेखन प्रतियोगितामा ‘द गिफ्ट’ उत्कृष्ट, गुरुङले जिते तीन लाख

मंगलबार, असोज २, २०७५, ०७ : ३१कलाकारिता

काठमाडौं, २ असोज – फेसबूक ग्रुप ‘न्यू नेपाली सिनेमा’मार्फत आयोजना गरिएको स्किृप्ट राइटिङ (फिल्म लेखन) प्रतियोगितामा द्वन्द्वकालीन कथामाथि लेखिएको सुनिल गुरुङको स्किृप्ट ‘द गिफ्ट’ ले तीन लाख जितेको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै आयोजकले विजेता गुरुङलाई पुरस्कृत गरेको हो ।

सन् २०१२ मा पहिलोपटक स्किृप्ट राइटिङ प्रतियोगिताको आयोजना गरे पनि बीचमा केही समय भने प्रतियोगिताले निरन्तरता पाएको थिएन ।

यसअघि पुरस्कृत भएको राजन कठैतको स्किृप्ट ‘दोख’ यतिबेला रिलिजको क्रममा छ । यसपटकको प्रतियोगितामा १ सय ५० जना प्रतियोगी सहभागी भएको मनोज अधिकारीले बताए । ‘न्यू नेपाली सिनेमाको ग्रुप र व्यक्तिगत रुपमा मलाई पनि धेरै म्यासेज आए, त्यसैले हामीले फेरि प्रतियोगिताको आयोजना ग–यौँं ।’, अधिकारीले भने ।

कार्यक्रममा बोल्दै निर्माता माधव वाग्लेले राम्रा फिल्मको सधै खडेरी लाग्ने बताए । उनले भने, ‘हामीले राम्रा स्किृप्टको खोजी गरिरहेका हुन्छौँ, राज्यले गर्नुपर्ने काम मनोज जीले गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु ।’, उनले भने ।

यस्तै निर्माता छविराज ओझाले पनि सिनेमा क्षेत्रमा पढेका पुस्ताको आगमन देख्दा आफूहरुलाई खुशी लागेको बताए । निर्देशक तथा निर्माता दीपेन्द्र के. खानलले आफूलाई प्रतियोगी सबै कथा सुन्न हुटहुटी लागेको प्रतिक्रिया दिए ।

पुरस्कृत भएका सुनिल गुरुङले आफूले एउटा सपना पुरा गरेको बताए । आफूले भोगेको र देखेको कथालाई कथानक बनाएर उनले सिनेमा लेखेको पनि बताए । जनयुद्ध कालको समयलाई उनले स्किृप्टमा उठाएको उनले खुलासा गरे ।

छनोटमा परेको उत्कृष्ट ३० सिनेमाबाट रियाज नाटकरको ‘मी र म’ त्यस्तै विपिन भुसालको ‘अड वान आउट’ र सुनिल गुरुङको ‘द गिफ्ट’ टप तीनमा परेका थिए । तीनमध्येबाट ‘द गिफ्ट’ पुरस्कृत भएको हो ।

कार्यक्रममा उत्कृष्ट ३० मा परेका लेखक पनि आएका थिए । प्रतियोगितामा नयाँ लेखकलाई पनि उत्तिकै महत्त्व दिन खोजेको आयोजकमध्येका एक मनोज अधिकारीले बताए । साथै उनले पछिल्लो समय पनि यस्ता प्रतियोगिता गर्ने पनि बताए ।


तपाईंको प्रतिक्रिया