आश्मा बनिन् आकाशकी ‘ड्रिम गर्ल’ − Kalakarita
आश्मा बनिन् आकाशकी ‘ड्रिम गर्ल’

शुक्रबार, जेठ २५, २०७५, १० : ३१कलाकारिता

काठमाडौं, २५ जेठ – प्रेमकथामा निर्माण भएको चलचित्र ‘ड्रिम गर्ल’ ले गीत सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर गीत सार्वजनिक गरिएको थियो ।

‘तिम्रो मायामा हाराउन’ बोलको गीतमा अन्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् । साथै गीतका शब्दलाई अम्बिका शर्माले लेखेकी हुन् ।

दशैंको अवसर पारेर रिलिज हुने भनिएको यो फिल्ममा ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा आश्मा गिरी र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । साथै भिडियोलाई रारा ताल र थाइल्याण्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । गीतमा गम्भीर विष्टले कोरियोग्राफी गराएका हुन् ।

दुई करोडभन्दा बढी खर्चेर बनाइएको भनिएको यो लभ स्टोरी फिल्ममा आकाश र आश्मासँगै सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।

काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । कार्यक्रममा निर्देशक आचार्यले ड्रिम गर्लमा युवा पुस्ताको सोच, प्रेम र समर्पणको कथा रहेको बताए । त्यसैगरी, अभिनेता आकाशले फिल्म निकै राम्रो बनेको बताउँदै आफूले मेहनत गर्न कुनै कसर बाँकी नराखेको बताए ।

पहिलो फिल्ममै शीर्ष भूमिकामा अभिनय गर्न पाउँदा आफूलाई भाग्यामानी महसुस भएको नवअभिनेत्री आश्माले बताइन् ।
उनले यो फिल्मले आफूलाई हिरोइनका रुपमा स्थापीत गराउने बिश्वास ब्यक्त गरिन् । फिल्म राहुल राई र रामेश्वर हुमागाइले खिचेका हुन् ।

चलचित्र असोज १९ मा नेपालभर रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया