

काठमाडौं, ८ साउन – चलचित्र ‘नाइँ नभन्नु ल ५’ को गीत सार्वजनिक गरिएको छ । नाइँ नभन्नु सिरिजको यो म्युजिकल लभस्टोरी ड्रामाको ‘नाइँ नभन्नु ल’ बोलको गीतसार्वजनिक गरिएको हो ।
काठमाडौंमा एक कार्यक्रममा आयोजना गरेर फिल्मको गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा फिल्मका धेरै कलाकार उपस्थित नभएपनि स्वस्तिमा खड्का र निर्देशक विकास राज आचार्य भने उपस्थित थिए । र, अन्य गीतसँग सम्बन्धित व्यक्ति र प्राविधिक टिम पनि उपस्थित थिए ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक विकास राज आचार्यले फिल्मका हिरोको अभिषेक नेपालको भूमिका सस्पेन्स राख्न खोजेको बताए ।
फिल्म युनिटले सार्वजनिक गरेका गीत तथा ट्रेलरमा अभिषेकको आवाज समावेश गरिएको छैन । ‘दर्शकलाई फिल्मप्रति उत्सुकता जगाओस् भनेर नै हामीले यसलाई सेक्रेट राखेका हौं, वास्तविकता फिल्म हेरेपछि नै थाहा हुन्छ ।’, निर्देशक आचार्यले भने ।
साथै कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले पनि फिल्मको छायांकन गर्न चार दिन लागेको बताइन् । मंगलवार सार्वजनिक गरिएको गीतमा मुख्य भूमिकामा स्वस्तिमा खड्का नै छिन् ।
गीतमा स्वस्तिमा र अभिषेक नेपाललाई प्रस्तुत गराइएको छ ।
गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने बसन्त सापकोटाको संगीत र दिनेश थपलियाका शब्द छन् ।
निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्मको कथा सामिप्य राज तिमिल्सिना र विकास आचार्यले लेखेका हुन् ।
चलचित्र भदौ ८ गतेदेखि नेपालभर रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया