‘चंगा’ को कथा पूरै फ्रेस हो, अर्गानिक छ: डिट्ठा साप − Kalakarita
‘चंगा’ को कथा पूरै फ्रेस हो, अर्गानिक छ: डिट्ठा साप

बिहीबार, जेठ २४, २०७५, १२ : ३२कलाकारिता

काठमाडौं, २४ जेठ – चलचित्र ‘चंगा’ भोलि अर्थात् जेठ २५ गतेदेखि नेपालभर रिलिज हुँदैछ । रिलिजको दैलोमा आएको फिल्म कमेडी जानरामा बनेको हो । फिल्मले जति हाइप बनाउनुपर्ने हो, त्यति हाइप बनाउन नसकेजस्तो देखिन्छ । तर, फिल्मका निर्देशक तथा कलाकार किशोर भण्डारी (डिट्ठा साप) ले भने फिल्मले राम्रो माहोल बनाएको बताउँछन् ।

लामो समयदेखि टेलिफिल्मका माध्यमबाट दर्शकमाझ पुगेका डिट्ठा सापले निर्देशन गरेको यो फिल्म अर्गानिक कथा मन पराउने दर्शकलाई मन पर्न सक्छ । ती दर्शक, जसले कमेडी शैलीको फिल्म रुचाउँदै आएका छन्, उनीहरुको रोजाइमा पनि यो फिल्म पर्न सक्छ ।

पछिल्ला केही फिल्म चोरीबाट ग्रसित भइरहेका बेला निर्देशक भण्डारीले ‘चंगा’ लाई भने फ्रेस कथा भएको बताएका छन् ।

प्रायः थिएटरका कलाकारले अभिनय गरेको फिल्मले बोल्ने कथा एउटा गाउँको कथा हो जुन कथालाई सत्य घटनाको वरिपरि रहेर तयार पारिएको निर्देशक भण्डारी बताउँछन् ।

‘फिल्मको कथा हास्य रसमा बनाइएको, अर्गानिक कथा हो, चोरीको कथा हैन,’ निर्देशक थप्छन्, ‘हामीले अर्गानिक कथामा फिल्म बनाएका छौं, त्यसमाथि कलाकारको अभिनय दमदार छ, दर्शक हलसम्म आउनेमा म ढुक्क छु ।’

फिल्ममा मुख्य पात्र लक्ष्मी बर्देवा, बुद्धि तामाङ, कमलमणि नेपाल र अंकित खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै फिल्ममा बालकलाकारका रुपमा लकी भण्डारी छन् ।

निर्देशक भण्डारीले फिल्मले रिलिजअघि राम्रो माहोल बनाएको बताउँछन् । ‘फिल्मको ट्रेलर र गीतले नै दर्शकलाई आकर्षण गर्छ भन्नेमा हामी ढुक्क छौं, फिल्म हेर्न हलसम्म आउने दर्शकलाई कुनै पनि तरिकाले बोरिङ गराउने छैन, फिल्म पूर्णत कमेडी छ ।’, उनी बताउँछन् ।

प्रचारकै क्रममा फिल्मले गीत र ट्रेलर सार्वजनिक गरिसकेको छ । फिल्मको गीत ‘कम्पनी माला’ चर्चामा आएको गीत पनि हो ।

फिल्मकी निर्मात्री रेश्मा तिमिल्सिना हुन् भने फिल्मको कथालाई निर्देशक भण्डारीले लेखेका हुन् ।

पछिल्लोपल्ट मंगलबार, जेठ २९, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया