छुट्ने बेला धुर्मुसले भने, ‘अझै ६२ लाख अपुग छ’ − Kalakarita
छुट्ने बेला धुर्मुसले भने, ‘अझै ६२ लाख अपुग छ’

बिहीबार, माघ २५, २०७४, १० : ३२कलाकारिता

काठमाडौं २५ माघ – बाढीले प्रभावित रौतहटको सन्तपुरमा एकीकृत नमूना सन्तपुर बस्ती निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गर्दाको रकम अझै ६२ लाख अपुग भएको बताएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अातिथ्यतामा एक औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गरिएको बस्ती ५ करोड ९४ लाख ८७ हजार ३ सय ९५ रुपैयाँ लागतमा निर्माण भएको थियो । बस्ती हस्तान्तरण गरेपनि अझै ऋण भने तिर्न बाँकी रहेको फेसबूकमा लाइभ गर्दै सीताराम कट्टेलले बताएका छन् ।

बस्तीबाट विदाइ हुनुअघि फेसबूकमा लाइभ गर्दै सीताराम कट्टेलले अस्ति २३ गते बस्तीको साँचो हस्तान्तरण गर्दा ७० लाख अपुग भएकोमा अझै ६२ लाख अपुग भएको बताए । ‘हामीले यहाँ ६ महिनासम्म बस्दा धेरै कुरा सिकाएका छौं, बस्ती निर्माण मात्र भएको छैन, यहाँ विद्यालय नजाने बच्चा पनि अब विद्यालय जान थालेका छन्’, सीतारामले भने, ‘कुलतमा परेका बच्चाहरु कुलत छोडेका छन्, यो बस्तीले पर्यटकको ध्यान पनि तान्नेछ ।’

साथै धुर्मुसले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहयोगका लागि आग्रह पनि गरे । एकीकृत नमूना बस्तीमा ४७ वटा घर, एउटा बाल विद्यालय, एउटा क्लब भवन, एउटा सामुदायिक भवन त्यस्तै फलामको भ्यू टावर, दुई वटा मन्दिर, बाल उद्यान, दुई प्रतीक्षालय, एउटा प्रवेशद्वार र एउटा आकस्मिक प्रवेशद्वार पनि छन् ।


तपाईंको प्रतिक्रिया