साँच्ची धुर्मुसलाई फसाउन खोजिएको हो त? − Kalakarita
साँच्ची धुर्मुसलाई फसाउन खोजिएको हो त?

शुक्रबार, जेठ १८, २०७५, १० : ३३कलाकारिता

काठमाडौं, १८ जेठ – पछिल्लो समय सीताराम कट्टेलको परिचय कलाकारका रुपमा मात्र छैन । केही वर्षदेखि उनी कलाकार कम र भभियन्ता ज्यादा भएका छन् । फिल्म तथा सिरियलमा उनी खासै अटेका छैनन् । बरु उनी एकपछि अर्को गर्दै सामाजिक कार्यका लागि लागिपरेका छन् ।

केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भनेर लागिपरेका धुर्मुस आफूले सञ्चालन गरेको धुर्मुस सुन्तली फाउन्डेसमार्फत सामाजिक कार्यमा जुटेका छन् । केही दिनदेखि उनी मिडियामा वीर अस्पताललाई रंग लगाउँदै गरेको भनेर समाचार आए । त्यसको तारिफ भयो । अत्यन्तै फोहोर वीर अस्पताललाई सफा गर्न थाले भन्दै धेरैले धन्यवाद दिए ।

तर, उनलाई पछिल्लो समय के आरोप लागेको छ भने उनले वीर अस्पतालका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमा रकम उठाए ।

यही भ्रमलाई चिर्न भन्दै उनले हिजो बिहीवार पत्रकार सम्मलेन समेत गरे । पत्रकार सम्मेलनमा उनी एक्ला थिएनन् । स्वास्थ्य मन्त्रालयका तर्फबाट पद्मा अर्याल र वीर अस्पतालका निर्देशक डाक्टर भुपेन्द्र बस्नेत पनि सहभागी थिए ।

केही दिन पहिले मात्र मिडियामा पैसा हिनामिना पारेको आशंकाका समाचार आएपछि पत्रकार सम्मेलनमा जुटेका धुर्मुसले आफूले स्वच्छ मनले अस्पतालको सरसफाइमा जुटेको बताएका थिए । तर धुर्मुसलाई वीर अस्पतालका नाममा सहयोग रकम नउठाएको, सरकारी अस्पताललाई किन जनताले सहयोग गर्नुपरेको जस्ता प्रश्न समेत सोधिएका थिए ।

त्यसको जवाफ दिँदै धुर्मुसले आफूले वीर अस्पतालका नाममा एक रुपैयाँ पनि नखाएको बरु दिनरात वीर अस्पतालको सफाइमै खटिएको बताइरहेका थिए ।

तर, उनले वीर अस्पतालका नाममा पैसा उठाउनुपर्नेमा फाउन्डेसनका रुपमा उठाएर गैर कानूनी कार्य गरेको आरोप समेत लागेको थियो ।

यी सबै आरोपको खण्डन गर्दै आफूले आफ्ना लागि नभनेर दिनरात अरुकै समाजसेवाकै लागि गरेको तर केही व्यक्तिले गलत टिप्पणी गरेको समेत बताए । ‘फाउन्डेनका नाममा उठेपनि यो रकम अस्पतालमै खर्च हुने हो, सहयोग गर्नेले फाउन्डेसनमा दिन्छौं भनेर हामीले त्यसो गरेका हौं’, उनले भने, ‘हामीले रिसिभ दिएर, अस्पताल र मन्त्रालयलाई जानकारी गराएर मात्रै सहयोग लिएका छौं, केही सहयोगदाताले हामीलाई नगदको सट्टामा अन्य सहयोग पनि गर्नुभएको छ ।’

उनी स्पष्ट पार्दै थिए, ‘हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ सहयोग भएको छ, हामीले यहाँको पूरै काम सकिना साथ सबै हिसाब किताब सार्वजनिक गर्छौं, अहिले पनि सामाजिक सञ्जालका माध्यमबाट हिसाब सार्वजनिक गरेकै हुन्छौं ।’

उनका अनुसार अहिलेसम्म वीर अस्पतालको रंग रोगनका लागि मात्रै ४८ लाखभन्दा बढी लगानी लागिसकेको छ । सरकार, वीर अस्पताल प्रशासन र धुर्मुस सुन्तली फाउन्डेसन र अन्य संस्थाले पनि अस्पताल निर्माण गर्न सहयोग गरिरहेका छन् । सरकारी त्योमाथि मन्त्रालय आफैले पुनर्निर्माण गर्न लागिएको भनिएको वीर अस्पताललाई जनताले सहयोग गर्नुपर्ने अवस्था नआओस् भन्ने एउटा पक्ष हो । तर अर्कोतिर धुर्मुसले वीर अस्पतालको नाउँमा आफूले पैसा उठाएको भन्ने आरोप पनि आइरहेको छ ।

आरोपका बीच धुर्मुसले आफूले गर्न खोजेको कुरालाई जोडजाड पारेर पत्रकार सम्मेलन त गरे तर सरकारको मातहतमा रहेको अस्पताललाई नै पैसा उठाएर सिङगार्नुको साटो सरकारलाई नै पहल गरेको भए धुर्मुसमाथि यी आरोपहरु पक्कै लाग्दैन थिए । या त अस्पतालका लागि आएका सहयोग रकम अस्पतालकै खाता बनाएर संकलन गरेको भए यी आरोपमा धुर्मुसलाई मुछिनै पर्ने थिएन कि !

पछिल्लोपल्ट मंगलबार, जेठ २२, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया