सन्जु फिल्म समीक्षाः सञ्जय दत्तलाई ‘न्याय’ − Kalakarita
सन्जु फिल्म समीक्षाः सञ्जय दत्तलाई ‘न्याय’

शनिबार, असार १६, २०७५, ०७ : ३३अर्घेलो थापा

काठमाडौं, १६ असार – निर्देशक राजकुमार हिरानी र सञ्जय दत्तले तीन फिल्ममा एकसाथ काम गरेका छन् । यसपटक उनले सञ्जय दत्तलाई लिएर फिल्म बनाएका छैनन्, बरु उनको जीवनका केही किस्सा लिएर ‘सञ्जु’ निर्देशन गरेका छन् ।

यसअघि थ्री इडियटस्, पीके लगायतका फिल्मबाट चर्चा कमाएका राजकुमार हिरानीले निर्देशन गरेको ‘सञ्जु’ हलमा चलिरहेको छ । यो फिल्म हिरानीको निर्देशकीय क्षमता झल्किने फिल्ममध्ये एक हो ।

बलिउडका ‘ब्याड ब्याय’ समेत भनेर चिनिने सञ्जय दत्तको भूमिकालाई रणवीर कपूरले निभाएका छन् ।

फिल्ममा सञ्जय दत्तका जीवनका केही त्यस्ता हिस्सा लिइएको छ, जुन हिस्सालाई फिल्मी र मसालेदार बनाउन सकिन्छ ।

सञ्जय दत्तको ड्रग्स जीवन, हतियारको मुद्दा, जेल जीवन र केही पारिवारिक कथालाई उठाइएको फिल्मको प्रस्तुतीकरण गज्जबको छ ।

सञ्जय कसरी ड्रग्सको लतमा फसे, कसरी छोडे, मिडियाले उनलाई कुन तरिकाले ‘दोषी’ बनायो‌, उनको बानी कस्तो थियो, जीवनलाई उनले कसरी लिन्थे, साथीहरुलाई कत्तिको विश्वास गर्थे, यस्ता कैयन् प्रश्नको उत्तर मात्र फिल्मले दिएको छैन । सञ्जय दत्तलाई आफ्नो परिवारले गरेको सहयोग र खासगरी बुबा सुनील दत्तको छोराप्रतिको प्रेम र उनका लागि गरेको सङ्घर्ष कस्तो थियो भन्ने पक्षलाई पनि रोमाञ्चकताका साथ प्रस्तुत गरिएको छ फिल्ममा ।

सञ्जय दत्तको भूमिकामा देखिएका रणवीर कपूरले फिल्ममा कमालको अभिनय गरेका छन् । कुनै बेला उनी रणवीर कपूर हुन् भन्ने लागेपनि फिल्ममा उनी सञ्जय दत्त नै हुन् भन्ने पारिदिन्छन् । आफ्नो भूमिकालाई निकै मेहनतका साथ निभाएका छन् रणवीरले । लूक, हाउभाउ, अभिनय र आवाजमा पनि उनले सञ्जय दत्तलाई न्याय गर्न खोजेका छन् । सञ्जयको मात्र हैन, बुबा सुनील दत्तको भूमिकामा देखिएका परेश रावल र साथीको भूमिकामा देखिएका भिक्की कौशलको अभिनय सामान्य छैन ।

फिल्मका दुई महत्त्वपूर्ण पात्र हुन् – बुबा सुनील दत्त (परेश रावल) र साथी कम्ली (भिक्की कौशल) ।

फिल्ममा यी दुई पात्रले खराब आचरणका सञ्जय दत्तलाई जुनै माध्यमबाट पनि सही बनाउन प्रयास मात्रै गर्दैनन्, सही बनाएरै छोड्छन् ।

मिडियादेखि प्रहरी प्रशासनले समेत गलत देखाउन खोजिरहेको सञ्जय दत्तलाई बाबु र साथीले सधै साथ दिइरहन्छन् । यही साथले फिल्मलाई बलियो गरी बाँधेको छ ।

र, दर्शकलाई के पर्छ भने सञ्जय दत्त कुनै पनि बेला गलत छैनन्, त्यो गल्ती परिस्थितिको उपज थियो ।

यो निर्देशकको खुबी हो ।

फिल्मको सबैभन्दा बलियो पाटो कथाको प्रस्तुतीकरण नै हो । यसको रोमान्चकता हो ।

यो फिल्ममा राजकुमार हिरानीको काम बडो गज्जबको छ । फिल्मलाई दर्शक र समीक्षक दुवैलाई मन गर्ने गरी पर्दामा उतारेका छन् । उनले कथालाई यति कलात्मक र चाखलाग्दो गरी प्रस्तुत गरेका छन् कि, शुरुदेखि अन्त्यसम्म फिल्मले कुनै बेला पनि ह्याङ्ग गराउँदैन । जति कुरा उनले समेट्न खोजेका छन्, ती सबैले सञ्जय दत्तको जीवनको एक हिस्सालाई पूर्ण बनाएको छ । फिल्मका माध्यमबाट सञ्जय दत्तलाई ‘हिरो’ बनाउन कुनै कसर बाँकी राखेका छैनन् निर्देशकले ।

सञ्जय दत्तकी आमाको भूमिकामा देखिएकी मनीषा कोइरालाले सानो र आर्कषक भूमिका निभाएकी छिन् । उनी सञ्जय दत्तकी आमा नै हुन् कि भन्ने पारिदिन्छ । लेखिका बनेकी अनुष्का शर्मा र प्रेमिका बनेकी सोनम कपूरको भूमिका पनि खासै छैन फिल्ममा ।

निर्देशकले भनेका छन्, यो फिल्म सञ्जयको बायोपिक फिल्म होइन ।

फिल्म सञ्जय दत्तको जीवनका केही किस्सामा आधारित छ । ड्रग्स, हतियार र जेल जीवनको कथा भनिए पनि फिल्ममा बुबा–छोरा र साथीबीचको मित्रतालाई निकै नै मन छुने गरी प्रस्तुत गरिएको छ । सञ्जय र उनका बाबुका कतिपय दृश्यले मन छुन्छ ।

यति हुँदाहुँदै पनि फिल्मले केही विषयलाई भने पन्छाउन खोजेको छ । सञ्जयको श्रीमतीका बारेमा खासै उल्लेख गरिएको छैन । सञ्जय दत्त विवादमा आउन सक्ने कुरालाई संवादकै माध्यमबाट पार लगाउन खोजिएको छ ।

अन्डरवर्ल्डसँगको ‘कनेक्सन’ लाई बाबुसँगको कुराकानीमै सिध्याइदिएका छन् । रुबी (सोनम कपूर) को प्रेम सम्बन्ध बीचमै छोडिएको छ । जब ड्रग्सको पाटो सकिन्छ, तब रुबीको कुनै उपस्थिति रहँदैन । त्यति माया गर्ने रुबीको किन सञ्जयले कहिल्यै खोजी गर्दैनन्?

तर, यी प्रश्न ओझेलमा पार्ने गरी लेखकले फिल्मलाई निकै चलाखीका साथ कथा अगाडि बढाएका छन् । फिल्मका कुनै प्लट पनि नचाहिँदा र दिक्क लाग्ने छैनन् ।

कथाले जति कुराको माग गरेको छ, त्यति नै छायांकनमा देखिन्छ । नचाहिँदा शट कमै हिन्दी फिल्ममा झेल्नुपर्छ । अझ पार्श्वध्वनि र कलाकारको अभिनयको फ्युजनले दर्शकको मन बाँध्छ ।

बलिउडमा एकै खालका फिल्म बनिरहेका बेला राजकुमार हिरानीको यो फिल्म यति सुन्दर र कलात्मक छ कि, ‘सञ्जु’ सञ्जय दत्तको जीवनमा आधारित फिल्म मात्र हैन, यो हिन्दी उत्कृष्ट हिन्दी फिल्ममध्ये एक हो । यदि यो कहानी सञ्जय दत्तको नभएर अरु कसैको हुन्थ्यो भने पनि फिल्म यत्तिकै दमदार हुन्थ्यो । कमै मात्र देख्न पाइने खालको बाबु–छोराको सम्बन्ध फिल्ममा समेटिएको छ ।

निर्देशक हिरानीले फेरि एकपटक आफूलाई यो फिल्ममार्फत आफूलाई अब्बल साबित गरेका छन् । रणवीर कपूरको काम सह्रानीय छ ।

फिल्मले कथा मात्र भनेको छैन, मिडियाबाजीको असर र सञ्जय र उनका बाबुको सम्बन्धलाई पनि देखाएको छ । साथै, फिल्ममार्फत सञ्जय दत्तलाई न्याय पनि दिलाएको छ ।

पछिल्लोपल्ट मंगलबार, असार १९, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया