९ करोडमा बन्ने फिल्म ‘नालापानी’ रिपोर्टः यसरी मैदानमा उत्रियो अंग्रेज फौज − Kalakarita
९ करोडमा बन्ने फिल्म ‘नालापानी’ रिपोर्टः यसरी मैदानमा उत्रियो अंग्रेज फौज

शनिबार, चैत्र १७, २०७४, ०५ : ३३कलाकारिता

काठमाडौं, १७ चैत –  राजधानीका विभिन्न स्थानमा ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ को छायांकन भइरहेको छ । सोही क्रममा शुक्रवार नारायणहिटी दरवार संग्रहालयको उत्तरतिर नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा फिल्मको छायांकन गरियो ।

नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य लाई कैद गरिएको थियो उक्त स्थानमा । नेपाल आर्मीको सहयोगमा झण्डै पचास वटा घोडा र करीव ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो ।

ती तीन सय फौजलाई भीएफएक्स गरेर हजारौं बनाइने निर्देशक रिमेश अधिकारीले बताए । पाँच क्यामेराले खिचिएको उक्त दृश्यमा भीएफएक्सको प्रयोग गरिनेछ । छायांकन टिमसँगै भीएफएक्स टीम पनि सहभागी छ ।

नेपाल आर्मीको सहयोग र साथले मात्र यस्तो फिल्म निर्माण सम्भव भएको निर्देशक अधिकारीले बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ, सम्भवतः नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो ।’ अधिकारीले भने ।

चलचित्र धमाधम काठमाडौंमा छायांकन भइरहेको छ । लगत्तै निर्माण टिम उपरदाङ गढी पुग्नेछ । चलचित्र नेपालीको वीर गाथा र इतिहास भएको बताइएको छ ।

हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।

त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।

कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो ।

अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो ।

यसै विषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा. धन बहादुर कुँवरकृत ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित चलचित्र ‘नालापानी’ निर्माण भइरहेको छ ।

यो चलचित्रको बजेट झण्डै ९ करोड रहेको छ । ‘नालापानी’ मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान लगायतका कलाकारले अभिनय गर्नेछन्

चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् भने चलचित्रलाई मजोन शाक्य र नितिशा शाक्यले निर्माण गरेका हुन् ।


तपाईंको प्रतिक्रिया