

काठमाडौं, ५ फागुन – स्थापनाको पहिलो वार्षिकोत्सव पारेर कृपा फाउन्डेसनले वरिष्ठ गीतकार तथा साहित्यकार रत्नसमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।
‘सम्वृद्धिका लागि संगीत’ भन्ने नारा बोकेको कृपा फाउन्डेसनले काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ‘कृपा संगीत रन्त पुरस्कार’ द्वारा स्रष्टालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, फाउन्डेसनका अध्यक्ष शिवकुमार लामिछाने, संरक्षक विष्णुमाया लामिछाने र मानबहादुर विकले संयुक्त रुपमा दोसल्ला ओढाउँदै प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
साथै कार्यक्रममा मृगौलामा समस्या आएर उपचार गराइरहेका वरिष्ठ गायक ओमविक्रम विष्टलाई सहयोग स्वरुप ५१ हजार प्रदान गरियो । कार्यक्रममा गायक शिव लामिछानेले केही गीतसमेत प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारको समूहलाई बराह ज्वेलरीको तर्फबाट नगद रु. पाँच लाख प्रदान गरिएको थियो भने ‘जय नेपाल’ बोलको गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
साथै कार्यक्रममा सम्मान ग्रहण गरेपछि रत्नसमशेर थापाले सबैलाई धन्यवाद व्यक्त गरे । ‘यस्ता सम्मानले यो उमेरमा आइपुग्दा पछिल्ला दिनका उपलब्धिलाई सम्झाउँछ ।’, उनले भने ।
कार्यक्रममा बोल्दै वरिष्ठ गायक योगेश वैद्यले सम्मान पाउँदा आफूलाई निकै खुशी लागेको र अझ हौसला थपिएको बताएका थिए । उनले गीत संगीत रहर नभएर आस्था भएको कुरामा जोड दिए ।
तस्वीरः श्रीधर पौडेल
तपाईंको प्रतिक्रिया