आमिर खानले किन माफी मागे? − Kalakarita
आमिर खानले किन माफी मागे?

बुधबार, मंसिर १२, २०७५, १२ : ३६कलाकारिता

मुम्बई – आमिर खानलाई थाहा छ कि, उनीप्रति दर्शकको अटूट विश्वास छ । दर्शकले आमिरको फिल्म राम्रो हुन्छ भन्ने लागेर नै आँखा चिम्लेर फिल्म हल जाने गर्छन् । तर हालै रिलिज भएको उनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले चाहिँ दर्शकको अपेक्षा पूरा गर्न सकेन । यो फिल्म यति खराब बन्यो कि, हरेक दर्शकलाई यति झुर फिल्ममा आमिर खानले कसरी मञ्जुरी दिए भन्ने लाग्यो ।

आदित्य चोपडा बलिउडका चतुर निर्माता हुन् उनले पनि यस्तो गल्ती किन गरे भनेर दर्शकले प्रश्न सोधे ।

फिल्म पूर्ण रुपमा असफल भएपछि निर्देशक विजय कृष्ण आचार्यविरुद्ध कसैले बोलेनन् तर यो खराब फिल्मको कारण उनको निर्देशन पनि भएको कतिपयले आरोप भने लगाएका छन् । विजयले यो फिल्म लेख्नाका साथसाथै निर्देशन पनि गरेका थिए । विजयसँग आमिरको पनि भरोसा थियो । किनकि, यी दुईले यसअघि फिल्म ‘धूम ३’ मा एकसाथ काम गरेका थिए ।

यतिबेला भने आमिर खानले फिल्मको असफलतालाई लिएर माफी मागेका छन् । एक प्रेस कन्फरेन्समा आमिरले माफी माग्दै आफूहरुले सर्वश्रेष्ठ दिएको तर कहीँ न कहीँ गल्ती भएको स्वीकारे । साथै उनले आफूहरुले दर्शकलाई मनोरञ्जन दिनमा असफल भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘म यो फिल्मको जिम्मेवारी लिन्छु र मैले पनि माफी माग्छु ।’

आमिरले जुन काम गरे, त्यो अन्य सेलिब्रेटीमा नभएको कतिपयले अड्कल काट्न थालेका छन् । यदि आमिर निर्माता हुन्थे भने उनले घाटा भएको पैसा पनि फिर्ता गरिदिन सक्थे । केही वर्ष पहिले यस्तो सलमान खानले फिल्म ट्युबलाइटपछि गरेका थिए ।


तपाईंको प्रतिक्रिया