बलिउडबाट प्रभावित फिल्म आउट, नेपाली मौलिक फिल्म इन − Kalakarita
बलिउडबाट प्रभावित फिल्म आउट, नेपाली मौलिक फिल्म इन

सोमबार, फागुन २१, २०७४, १० : ३८कलाकारिता

काठमाडौं, २१ फागुन – यतिबेला नेपाली चलचित्र क्षेत्रका दर्शक बढेका छन् । सिंगल थिएटरमा मात्र सीमित दर्शक तान्ने सिनेमाले मल्टिप्लेक्सका दर्शक (बढी पैसा तिरेर आरामदायी रुपमा फिल्म हेर्ने दर्शक) लाई पनि तान्न थालेका छन् । पहिले मल्टिप्लेक्सका दर्शकले नेपाली फिल्मलाई पत्याउँदैनथे । अहिले एकाध चलचित्रले लगानी उठाउने र फाइदा खाने पनि गर्न थालेका छन् ।

त्यति मात्र होइन, फरक धारमा बनेका नेपाली सिनेमा हेर्ने दर्शक पनि उत्तिकै बढेका छन् । नेपाली सिने वृत्तमा यसलाई फिल्म सफलताको बाटोतिर उन्मुख भएको भनेर कतिपयले आँकलन गरेका छन् ।

एकातिर फिल्मको नेप्से बिस्तारै बढ्दै गएको छ नै । अर्कोतिर फिल्मबारेका साम्रगी पढिने दर्शक पनि बढेका छन् । युट्युबमा रिलिज भएका धेरै नेपाली चलचित्रलाई दर्शकले कमसेकम हेर्ने गरेका छन् । फिल्म युटुयुबमा रिलिज भएपछि प्रायः चलचित्र आजभोलि नेपालमा ट्रेन्डिङमा नै पर्न थालेका छन् । यसबाट पनि के बुझ्न सकिन्छ भने अहिले नेपाली चलचित्रको बजार फराकिलो बन्दै गएको छ । व्यापक बन्दै गइरहेको छ ।

यसबाट पनि के बुझ्न सकिन्छ भने अहिले नेपाली चलचित्रको बजार फराकिलो बन्दै गएको छ । व्यापक बन्दै गइरहेको छ ।

नेपाली चलचित्र भन्दा नाक खुम्चाउने दर्शकलाई नेपाली स्वादका फिल्म मौलिक लाग्ने गरेका छन् । अझ नाटकबाट आएका कलाकारलाई त पछिल्लो समय दर्शकले दिल खोलेर स्वागत गरेका छन् । अर्को कुरा के पनि छ भने नेपाली सिनेमा क्षेत्रमा पढेका कलाकार पनि आएका छन् । त्यसकारण पनि नेपाली सिनेमाको जुन पर्दाभित्रको बुझाई थियो, त्यो फेरिँदै गएको छ । तर नेपाली सिनेमाले आफ्ना घरेलु दर्शकको मन जित्न विदेशी फिल्मसँग भिड्नुपर्ने वाध्यता भने छ ।

फरक आयाम, फरक आश

सधै एकनासका लाग्ने फिल्म र मसालेदार बनाउने निहुँमा निर्माण भएका सबै फिल्म भारतबाट प्रभावित/आयातित लाग्ने खालका थिए, ती फिल्ममा भारतीय मूलधारका अनुसार नेपाली मूलधारमा पनि परिवर्तन हुन्थ्यो । तर पछिल्लो समय देखिएको परिवर्तन भने फरक छ । नेपाली मौलिक स्वादका फिल्म लूट, कबड्डी, जेरी, ड्रिम्स, झोले लगायतका फिल्मले राम्रो व्यापार गरेका छन् । त्यसो त यी फिल्म पनि कुनै न कुनै फिल्मबाट प्रभावित जस्तो लाग्छन् तर प्रभावित नै भएपनि ती चलचित्रमा नेपाली बोली र मौलिकताले स्थान पायो । फलस्वरुप यस्ता शैलीका फिल्म पछिल्लो समय दर्शकले रुचाए ।

भारतमा पनि मूल धारको शैली फेरिएको छ । त्यसको प्रभाव नेपाली सिनेमामा परेको छ तर फिल्मकर्मीलाई भारतीय फिल्मको प्रभाव परेपनि नेपाली दर्शक भने नेपाली मौलिक संस्कृतिसँग नजिक छन् । केही वर्ष यताको आँकडालाई हेर्ने हो भने नेपाली सिनेमा रुचाउने दर्शक बढेका छन् । त्यतिमात्र होइन, हलको सङ्ख्या पनि पहिलेको तुलनामा बढी छ ।

यतिबेला भारतीय शैलीसँग मिल्दा फिल्म प्रचारमा मात्र सीमित हुन थालेका छन् । त्यस्ता फिल्म हलबाट दोस्रो दिनमै पत्तासाफ पनि भएका छन् ।

पछिल्लो समयमा बन्ने र फ्लप हुने धेरै फिल्ममा तिनै पुरानो सूत्रकै बढ्ता प्रयोग भएको देखिन्छ । नयाँपन दिन सक्ने फिल्म सफल हुनुले पनि यो कुरालाई झल्काउँछ ।

दर्शकले यस कारण रुचाए नयाँ स्वाद

नेपाली चलचित्र क्षेत्र लामो समयदेखि एउटै ट्रेन्डमा थियो । फिल्म राम्रो होस् या नहोस्, दर्शकले स्वीकार्नैपर्ने अवस्था थियो । डिजिटल युगले विदेशी फिल्म हेर्ने दर्शकलाई फिल्म हेर्न सहज बनाइदियो । यस कारण नेपाली फिल्मका दर्शक फिल्टर हुँदै गए र दर्शक हलमै जान छोडे ।

तर जब नयाँ शैली र मौलिकता बोकेका फिल्म निर्माण हुन थाले, त्यसपछि दर्शकले फिल्म रुचाए ।

नेपाली फिल्ममा आशा नै नभएका दर्शकलाई ‘केही राम्रा’ सिनेमा बन्नु पनि ठूलो कुरा लाग्न थाल्यो । दर्शकले नयाँ स्वादको वाहवाही गरे । अर्को पक्ष नेपाली सिनेमामा देखिएका नयाँ कलाकारलाई पनि दर्शकले रुचाए । अभिनयमा थपिएको ग्रेडले नेपाली सिनेमा अझै आशावादी बने ।

पछिल्लो समय सिनेमामा फरक खुराक र स्वादले मात्र होइन, पटकथा तथा स्कृप्टको नयाँपनलाई पनि दर्शकले रुचाएका छन् ।

तर अहिले भने फिल्म फेरि उस्तै कथामा घुम्न थालेका छन् । केही निर्माता दर्शक नअघाउञ्जेल यस्तै फिल्म बनाउने भन्दै आइरहेका छन् । अब यस्तै अवस्था रह्यो भने दर्शकले अघाउन्जेलसम्म यस्तै फिल्म हेर्न थाल्लान् कि हलसम्म आएका दर्शकलाई हलमै तान्न सक्ने फिल्म बनाउने भन्ने फिल्मकर्मी आफैले सोच्नुपर्ने बेला आएको छ ।

र, यो पनि पढ्नुहोस्ः

हलिउडमा ‘सुपर हिरो’ को आफ्नै विश्व, नेपालमा टेलिसिरियल जस्ता फिल्म!

पछिल्लोपल्ट आइतबार, चैत्र ४, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया