

काठमाडौं । चलचित्र ‘बादशाह जुट’ को गीत सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा गीत सार्वजनिक गरियो ।
‘काफल पाक्यो’ बोलको गीतमा अहिलेका सेलिब्रेटी सर्जक राजनराज शिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । यस्तै गीतमा कृष्ण भारद्वाजको संगीत छ भने डीपी खनालले शब्द लेखेका हुन् ।
सार्वजनिक कार्यक्रममा सुशील श्रेष्ठ, आमिर गौतम, प्रियंका कार्की, निर्देशक जोनी सिंह राना लगायत उपस्थित थिए । कार्यक्रममा बोल्दै निर्देशन रानाले आफूले नेपाली लोकशैलीको गीतलाई नेपालीपनमा नै ढाल्न खोजेको बताए । यस्तै नायकमध्येका एक आमिर गौतमले दुवै नायक नाच्न नजानेको स्वीकार्दै नाच्नमा सहयोग गर्ने प्रियंका कार्कीलाई धन्यवाद दिए ।
प्रियंकाले भने दुवै नायक सुशील र आमिरको नृत्यको तारिफ गरिन् । ‘उहाँहरु नाच्नै आउँदैन भन्नुहुन्थ्यो, तर त्यस्तो फिल नै हुँदैनथ्यो, काम गर्न सजिलो पनि भयो ।’, प्रियंकाले भनिन् ।
यो गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् भने सिनेमाटोग्राफी उत्तम हुमागाईंले गरेका हुन् ।
आमिर र सुशीलका अतिरिक्त रोविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई अभिषेक कुमार सानीले लेखेका हुन् । फिल्ममा दीर्घ गुरुङको सम्पादन रहेको छ ।
हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठले निर्माण गरेको फिल्म यसै वर्षको पुस १३ गते नेपालभर प्रदर्शन हुँदैछ ।
तपाईंको प्रतिक्रिया