भूपिन खड्का
सि रि या
•••••••
जब बारुदको ओछ्यानमा बन्दुकसँग सुत्छ बादशाह
देश कसरी स्वर्ग रहन्छ ?
जब नानीहरू
उज्यालो खस्ने आकासबाट बम खस्ने भयले
शिर उठाएर आकास हेर्न डराउँछन्,
जब नानीहरू
फाटेको घरको भित्ताबाट गोली छिर्ने चिन्ताले
घरको आँगन हेर्न डराउँछन्
देश कसरी स्वर्ग रहन्छ ?
कसरी स्वर्ग रहन्छ देश
जब कोही बच्चा स्कुल जाँदाजाँदै
उसको सबैभन्दा प्रिय भर, बाको औँला छुट्छ ?
जब कोही नानी
अनुहारमा रगतले कोरिदिएको पेन्टिङ लिएर
भग्नावशेस गल्लीमा एकोहोरो रोइरहेको भेटिन्छ
जब बमले उडाएको आफ्नै आमाको हात चपाइँदै
भोक मेटिरहेको हुन्छ कोही अबोध बालक
या कोही बचेरा
डढेको कपाल र फुटेको नाथ्री समाउँदै
जब लुगलुग काँप्दै बसिरहेको हुन्छ एम्बुलेन्समा
वा चिप्लेकिराको सिङजस्तो
क्यामेराको लेन्स देख्दा समेत
हात उचालिरहेको हुन्छ आत्मसमर्पणमा
देश कसरी स्वर्ग रहन्छ ?
पुटिन या ट्रम्प
बन्दुकको वेश्यालयलाई चर्च बनाएर
तिमी बारुदको अगरबत्ति बालिरहेछौ ।
एकथरी बनाइरहेछौ सरकारलाई ग्राहक
र बन्दुक बेचिरहेछौ ।
अर्कोथरि बनाइरहेछौ बिद्रोहीलाई ग्राहक
र मिसाइल बेचिरहेछौ ।
वाह ! क्या जुक्तिले
बनाएर राष्ट्रसंघलाई गोजीको रुमाल
तिमीहरू मानिस मार्ने धन्दा चलाइरहेछौ !
जब तिमीजस्ता राक्षसहरूले
कुन्दाले रेटीरेटी
लखेटीलखेटी
मार्न थाल्छौ देवताजस्ता केटाकेटी
देश कसरी स्वर्ग रहन्छ ?
इस्लामिक स्टेट र बसर अल असद
ध्वस्त सहरको ध्वस्त सडकमा उभिएर
सारा भाषामा भनिने
सबैभन्दा अश्लिल गालीहरू सोचिरहेछु म
र तिमीलाई समर्पित गरिरहेछु
स्वीकार !
सुन, म त्यही अभागी कवि हुँ यस देशको
जसले कन्चटमा गोली लागेकी छोरीको
अन्तिम बिलौना सुनेको थियो-
‘नरोऊ बा
म सबै कुरा अल्लाहलाई सुनाउने छु !’
मलाई थाहा छ-
अब कुनै अल्लाहले सुन्ने छैन मेरी छोरीको पुकार
किनकि
जसको कारण असंख्य मानिस मारिन्छन् यो धरतीमा
जिजस र तेत्तिसकोटी ईश्वरझैँ
अल्लाह पनि एक खतरनाक बम हो
र धर्म हो मानिसको खराब आविष्कार ।
तर म तिम्रो र ईश्वरको विरुद्ध
कविता लेखिरहने छु
मेरो हत्या नहुन्जेल ।
तपाईंको प्रतिक्रिया