पुराना गीत चोरेर हिट हुने ‘निन्जा टेक्निक’ कि सिर्जनाको खडेरी? − Kalakarita
पुराना गीत चोरेर हिट हुने ‘निन्जा टेक्निक’ कि सिर्जनाको खडेरी?

बुधबार, फागुन २, २०७४, १२ : ३९अर्घेलो थापा

काठमाडौं, २ फागुन – कुनै समय थियो, नेपाली गीत संगीत गाउँ गाउँमा पुगेर तयार पारिन्थे । गाउँका भाका र अवस्थालाई समेटिएर गाइएका गीतले स्रोताको मन जित्थ्यो । पहुँचमा हुनेले नुहुने गाउँलेका स्थानीय जीवन शैलीका गीत गाउँथे ।

गीतको आफनै स्वाद थियो । बेग्लै ध्वनि थियो ।

त्यसरी संकलन गरिएका गीतमा रचनाकार हुँदैनथे, बरु संकलक हुन्थे । अहिले तिनै गीतबाट ‘प्रभावित’ भएर नयाँ गीत तयार भए भने संकलक हटाइन्छन् । नयाँ रचनाकार जन्मिन्छन् । समाज त झन् धेरै पछाडि छोडिन्छ ।

एक दशकको समयलाई हेर्ने हो भने खासगरी लोकगीतको शैली पूर्णतः पुराना गीतबाट प्रभावित देखिएको छ । कभर गीत र रिमिक्स गीतका नाममा गीतको तोडमोड गरी नयाँपन दिन खोजिएको छ ।

एक अर्थमा त यस्तो शैलीलाई दर्शकले रुचाएको जस्तो पनि देखिन्छ । तर, संगीत क्षेत्रमै सक्रिय एक तप्काले भने यसरी गीत गाइनुलाई सरासर ‘चोरी’ को आरोप लगाउने गरेका छन् ।

कभर गीत र रिमिक्स गीत भन्दै धेरैले एउटै गीतलाई तोडमोड गरी सामाजिक सञ्जालमा राख्ने या गीतलाई व्यावसायीकरण गर्ने प्रवृत्ति त एकातिर छ नै । अर्कोतिर पुराना गीतलाई नै यताउता पारेर नयाँ गीत संयोजन गर्ने चलन पनि उत्तिकै छ ।

केही समयअघि सार्वजनिक भएको चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको लय वरिष्ठ लोकगायक कुमार बस्नेतको ‘रौसी खान जाम्’ सँग दुरुस्तै मिल्छ । शब्द फरक छन् तर लय एउटै छ । गीतको भिडियोमा नेपालकै चर्चित कलाकारको समूह ‘रुपै मोहनी’ भन्दै नाच्छ ।

आफ्नै गीत यसरी ठाडै चोरी हुँदा स्रष्टा कुमार बस्नेतले भने कुनै प्रतिक्रिया दिन चाहन्नन् । ‘लय चोरी भएको र नभएको भन्ने सबैलाई थाहै छ, मैले यसबारेमा कुनै प्रतिक्रिया दिन जरुरी नै ठान्दिन ।’ बस्नेत भन्छन् ।

https://www.youtube.com/watch?v=pyePEAYM6iM

यही वर्ष प्रदर्शनमा आएको दीपक–दीपाको चलचित्र ‘छक्का पञ्जा २’ को गीत पनि विवादमा मुछिएको थियो । गीत विवादमा मात्र मुछिएन, यसले चोरी गर्ने प्रवृत्तिलाई इंगित गर्दै छुट्टै तरंग नै फैलायो सिने क्षेत्रमा । अहिले युट्युबमा ‘ए दाजु नसमाऊ साडीमा’ खोजी गर्ने हो भने चलचित्रको त्यही गीत नै नतिजामा देखाइदिन्छ युट्युबले ।

यसरी गीत चोरी हुँदा पुरानो इतिहास भने धमिलो हुँदै गएको छ । गायक कुमार बस्नेत आफूले शुरुमा गीत खोजी गर्दाको समय सुनाउँदै भन्छन् – ‘हामी पहिले गीत संकलन गर्न भनेर गाउँ निस्किन्थ्यौं, समाज बुझ्थ्यौं, गीत खोजी गर्थ्यौं, र त्यतिबेला खोजिएका गीतका शब्द मिलाएर काठमाडौंमा रेकर्ड गर्थ्यौं।’

अहिले त गीतकारले इन्टरनेट हेरेर गीतलाई तोडमोड गरी नयाँ गीत तयार गर्ने गरेको कतिपय स्रष्टाले बताउँछन् ।

लोक गायक दुर्गा रायमाझीले नेपाली संगीत क्षेत्रमा धेरै पहिलेदेखि गीत अथवा लय चोरीको प्रवृत्ति भित्रिएको बताउँछन् । ‘लय चोरिने या पुराना गीतमा केही ट्युन यताउता पारेर नयाँ गीत सिर्जना गर्ने चलन बाक्लो छ, लोकगीतलाई चलचित्रमा राख्न थालेदेखि नै लय मिलेका गीत आउन थालेका हुन्’, रायमाझी भन्छन्, ‘गीत चोरिएको बारे बोल्ने कुनै निकाय पनि छैन, यदि कुनै निकाय हुन्थ्यो भने गीत वा लय चोरिन अलि कम हुन सक्थ्यो ।’

पुराना वरिष्ठ गायक तथा निर्देशक चेतन कार्कीले नयाँ कलाकारलाई आफूले ‘कलाकार’ नै नमान्ने बताउँछन् । उनले कभर गीत र रिमिक्सका नाममा मौलाउँदै गएको विकृतिले आफ्नै गीत पनि मारमा परेको बताउँछन् ।

त्यसो त नेपाली मौलिक गीतको स्रोत गाउँ नै हो । कुनै विशेष स्थानका गीतलाई एकभन्दा धेरैले रेकर्ड समेत गराएका छन् । तर केहीले भने रेकर्ड भइसकेको पुराना गीतका भाका र लयलाई यताउता पारेर नयाँ गीत बनाउन खोजेका छन् ।

झम्के गुलेली, मगमा मग, जालहारी लगायतका गीतमार्फत दर्शकमाझ चिनिएका अर्का गायक कमलीकान्त भेटवालले आफू पनि लय चोरीको मारमा परेको बताउँछन् । अर्को गायकले पनि कुनै ठाउँको आफ्नोपनलाई टिप्न खोज्ने त बेग्लै कुरा भयो तर यहाँ त शब्द र लय नै चोरिदिने प्रवृत्तिले वाक्कै बनाएको उनी बताउँछन् ।

यहाँ के पनि छ भने कमजोरलाई बलियोले हेप्ने, कमजोरको गीत चोरेर आफ्नो बनाउन खोज्ने चलन पनि छ ।

‘यहाँ के पनि छ भने कमजोरलाई बलियोले हेप्ने, कमजोरको गीत चोरेर आफ्नो बनाउन खोज्ने चलन पनि छ, वर्षौंअघि रेकर्ड भएका भाका पनि चोर्ने चलन छ’, भेट्वाल अगाडि थप्छन्, ‘मैले रेकर्ड गरेर उत्कृष्ट संकलकको पुरस्कार पाइसकेको गीत ‘अरुण उपत्यका’ का साथीहरुले फेरि गाएछन् ।’

त्यसो त गीत तथा लय चोरीको आवाज बारम्बार नउठेको होइन । तर गीत चोरी गर्ने र नयाँ बनाउन खोज्ने चलन पनि घटेको छैन । नीति नुहँदा गीत चोरी हुनु र एकले अर्कोलाई आरोप लगाउनु त सामान्य नै भइहाल्यो तर यहाँ नियम नुहँदा कलाकारले आफूलाई मनलाग्दी किसिमले स्रष्टाको स्वीकृतिविना उस्तै गीत बनाउने चलन झन् बढेको छ ।

दुर्गा रायमाझी भन्छन्, ‘नीतिगत रुपमा चोरेका भाकालाई चोरिएको हो भन्ने निकाय नभएसम्म यहाँ यस्तै हो, सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

पछिल्लोपल्ट बुधबार, चैत्र ७, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया