‘मंगलम’ हेर्न छवि र रेखा एकसाथ, संकेत? − Kalakarita
‘मंगलम’ हेर्न छवि र रेखा एकसाथ, संकेत?

मंगलबार, फागुन २९, २०७४, ०९ : ४१कलाकारिता

काठमाडौं, २९ फागुन – अभिनेत्री रेखा थापा आजभोलि त्यति चर्चामा रहँदैनिन्, जति उनको कुनै बेला चर्चा रहने गर्थ्यो । उनले निर्माण/अभिनय गरेका पछिल्ला फिल्म लगातार फ्लप पनि भइरहेका छन् । उनी अहिले आफ्नै होम प्रोडक्सनमा फिल्महरु निर्माण पनि गरिरहेकी छिन् ।

केही दिन पहिले मात्र उनले चलचित्र ‘लाल मस्तिष्क’ निर्माणको घोषणा गरेकी थिइन् । तर फिल्म कहिले निर्माण हुन्छ, त्यसको कुनै टुंगो छैन । अर्कातिर राजनीतिमा सक्रिय भएर लाग्ने तरखर गरेकी रेखालाई राजनीतिले पनि खासै फापेको छैन ।

राजनीतिमा उनको खासै नाम नआएपनि फिल्मी नगरीमा उनको नाम आइरहनु कुनै नौलो कुरा भएन । तर यसपटक भने उनको नाम आयो, त्यो पनि छविराज ओझा अर्थात् उनका रेखाका पूर्वपतिसँग ।

फिल्म ‘मंगलम’ शुरु हुनभन्दा धेरै पहिले नै रेखा हल आइसकेकी थिइन् । तर फिल्म हेर्न हल आएपनि रेखा र छविबीच भने बोलचाल भएको थिएन । दुवै आफ्नै पारामा थिए ।

त्यसो त रेखाले निर्माण गरेको फिल्म ‘रुद्रप्रिया’ हेर्न छविराज ओझा शिल्पासँग हल पुगेका थिए । छविराज ओझाकै ब्यानरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी रेखा थापा लामो समयदेखि छविराजसँग छुट्टिएर आमासँग बस्दै आएकी छिन् । अहिले छविराजको नाम शिल्पासँग जोडिएर आउँछ ।

एउटै क्षेत्रका दुई निर्माता बनेका रेखा र छविको पारिवारिक घर त जम्न सकेन तर मौका परिआएको खण्डमा रेखा र छविराज एउटै फिल्ममा काम गर्नका लागि तयार छन् । छविराजले एक अन्तर्वार्तामै भनेका छन्, ‘रेखा जी र म एउटै घरमा अट्न नसकेपनि मिल्यो भने हामी एउटै स्किृनमा काम गर्न सक्छौं ।’

रेखाले यसबारेमा केही नभनेपनि उनले चलचित्र ‘मंगलम’ हेरेर खुबै तारिफ गरिन् । यसरी हेर्दा यी दुईले एकसाथ फिल्ममा काम गर्ने सम्भावना भने देखाएका छन् ।

 

तस्वीरः आर्यन बिमली

पछिल्लोपल्ट बुधबार, फागुन ३०, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया