पहिले हलसम्म दर्शक तानौंः प्रदीप भट्टराई − Kalakarita
पहिले हलसम्म दर्शक तानौंः प्रदीप भट्टराई

शुक्रबार, वैशाख २१, २०७५, ०५ : ४१अर्घेलो थापा

काठमाडौं, २१ वैशाख – साधारण स्वभाव छ । सामान्य व्यवहार । मुसुक्क हाँस्छन् । दुई सफल फिल्म निर्देशन गरेका छन् तर उनको घमण्डको रंग कतैपनि देखिँदैन । बिल्कुलै सामान्य । अति सामान्य र सरल स्वभाव ।

झट्ट देख्दा प्रदीप भट्टराई यस्तै छन् । चलचित्र ‘जात्रा’ बाट निर्देशक बनेका भट्टराई पहिलो फिल्मबाटै यति चर्चामा आए कि, जुन उनले शायदै सोचेका थिए । सामान्य कथामा पात्रको गहकिलो प्रस्तुतिलाई आम नेपालीको कथा बनाएर उनले निर्देशन गरेको चलचित्र ‘जात्रा’ ले हलमा दर्शकको जात्रा लगाइदियो । एकाएक चर्चामा आए । फिल्म मेकर र नेपाली फिल्ममा परिवर्तन खोजेका दर्शकका लागि थोरै भएपनि आशा थपिदिए उनले ।

‘जात्रा’ पछि भट्टराईले निर्देशन गरेको चलचित्र ‘शत्रु गते’ यही शुक्रवारबाट सातौं हप्तामा चलिरहेको छ । ‘जात्रा’ को तुलनामा यो फिल्मले अझै धेरै व्यावसायिक सफलता पाएको छ । फिल्मको आक्रामक व्यापारले उनी मस्तै खुशी छन् । अर्कोतिर ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को तयारीमा पनि छन् उनी ।

लगातार दुई सफल चलचित्र दिएका भट्टराईले आफूले दर्शकलाई केन्द्रमा राखेर फिल्म निर्देशन गरेकाले आफ्ना फिल्म दर्शकले रुचाएको बताउँछन् । ‘संसारभर नै के प्रयोग छ भने कि त दर्शकलाई फोकस गरेर फिल्म बनाइन्छ, कि त समीक्षकलाई मन पर्ने स्वादका फिल्म बनाइन्छ, दर्शक र समीक्षक दुवैलाई मन पर्ने फिल्म कमै मात्र बन्छन्, प्रयास त मेरो पनि सबैलाई मन पर्ने हुन्छ, तर दर्शकतिर ढल्किन्छु’, प्रदीप चलचित्र ‘शत्रु गते’ दर्शकले रुचाउनुको कारण बताउँदै थप्छन्, ‘हामीले यो फिल्म दर्शकको स्वादको बनाउन खोजेका थियौं, अहिले पनि फिल्म दर्शकको रोजाइमा परेको छ ।’

त्यसो त उनी आफैले ‘जात्रा’ र ‘शत्रु गते’ को कथामा घोटिएरै मेहनत गरेका छन् । कथाका संवाद र प्रयोग गरिएको ट्वीस्टलाई दर्शकले कसरी रुचाउने बनाउन सकिन्छ भनेर कथा लेख्ने बेलामै उनी जोसिन्छन् ।

‘म कथामा धेरै विश्वास गर्दिन, तर स्क्रिनप्लेमा म एकदमै ध्यान दिन्छु, स्क्रिनप्लेले दर्शकलाई बाँधिराख्न सकियो भने जस्तो कथा पनि बलियो बन्न सक्छ भन्ने लाग्छ’, उनी भन्छन्, ‘संसारभर जुनसुकै दर्शकले पनि आफूलाई फिल्ममा भेट्न चाहनुहुन्छ, यदि तिनै आफू पात्रलाई फिल्ममा रमाइलो किसिमले दर्शकमाझ पस्किन सकियो भने फिल्म बलियो हुन्छ ।’

नेपाली सिनेमा वृत्तमा बाझिएको एउटा पक्ष सिनेमा समीक्षकको रोजाई र दर्शकको रोजाई फरक हुनु हो । जुन फिल्म दर्शकलाई मन परिरहेको हुन्छ, त्यो फिल्म समीक्षकलाई कमै मन पर्छ, तर जुन फिल्म समीक्षकले राम्रो भनेर ट्याग दिएका हुन्छन्, ती फिल्मलाई दर्शकले खासै रुचाएको देखिँदैन । निर्देशक भट्टराई भने नेपालमा क्लासको फिल्म भन्दा पनि दर्शकको रोजाईको फिल्म निर्माण गरेर हलसम्म दर्शक तान्नुपर्ने धारणा राख्छन् । ‘पहिले हलसम्म दर्शक तानौं, त्यसपछि तिनै दर्शकलाई क्लासको फिल्म हेर्ने बनाऔं ।’, उनी भन्छन् ।

‘अन्तत्वगोत्वा हामीले समीक्षात्मक रुपमा राम्रो फिल्म नै बनाउनुपर्छ, यो कुरालाई हामीले सहर्ष स्वीकार्नैपर्छ’, उनी थप्छन्, ‘अडियन्सलाई हलसम्म तान्न थालेपछि बल्ल हल्का ती कथामा हामीले नयाँपन थप्न सक्छौं, एकथरी साथीहरुले एकैपटक दीर्घकालीन उपाय खोज्नुभएको छ, त्यहाँनिर कुरा नमिलेको जस्तो लाग्छ ।’

अहिले हामीले हलसम्म दर्शक तान्न सक्यौं भने मात्रै हामीले नयाँ ‘क्लास’ का फिल्म बनाउनुपर्ने उनको धारणा छ ।

दर्शकको रोजाइका फिल्म कमेडी? उनले निर्देशन गरेका दुवै फिल्म कमेडी जानरामा निर्माण भएका छन् । तर प्रदीप भने आफ्ना दुवै फिल्मलाई कमेडी जानराका भन्न रुचाउँदैनन् । ‘जात्रा र शत्रु गते दुवै कमेडी चलचित्र होइनन्, हामीले फिल्ममा कमेडी चलचित्रमा प्रयोग गरिने कुनै टुल्स प्रयोग गरेका छैनौं, बरु यी दुवै सोसियल ड्रामा हुन्’, उनी अगाडि थप्छन्, ‘पात्रको परिवेश अनुसार सही समयमा संवाद लेख्दा पात्रले हँसाउँछन्, ती पन्च लाइन सुन्दा सामान्य लाग्छन्, तर सही समयमा प्रयोग भएकाले कमेडी लागेका हुन् ।’

‘जात्रा’ मा एउटा संवाद छ – ‘यस्तो टेन्सन हुँदा पनि बेहोस हुँदिन त के भको?’

फिल्मको सबैभन्दा प्रिय संवाद लाग्छ यो संवाद प्रदीपलाई । ककनी (सम्भवतः) मा लेखेको यो डायलग सुनेर उनी आफै पनि लामो समय खित्का छाडेर हाँसेका रहेछन् ।

‘मलाई यो डायलगले पछिसम्म हाँसो लागेको थियो, किनकि म पात्रको गहिराईसम्म पुगेको थिएँ, मैले त्यतिबेलै निर्माण टिमलाई भनेको थिएँ, यो डायलग फिल्मको बेस्ट डायलग हो भनेर’, उनी भन्छन्, ‘अझ फिल्म युट्युबमा आएपछि धेरै दर्शकलाई यो संवाद मन प–यो, यस्ता अप्रत्यासित लाग्ने संवादले दर्शकलाई इङ्गेज गरिराख्छन् ।’

‘जात्रा’ ले दिएको हाइपलाई ‘शत्रु गते’ ले धेरै माथि पु–याएको छ । मुसुक्क मुस्कुराउने र सधै सोचमग्न देखिने उनको मनमा यतिबेला अर्को फिल्म ‘जात्रै जात्रा’ को रिल घुम्न थालेको छ । यदि यो फिल्म पनि सुपरहिट भयो भने सफल व्यापार गर्ने फिल्ममा उनले ह्याट्रिक हान्नेछन् । यसपटक पनि उनको फिल्म कमेडी स्वादकै हुने पक्का छ ।

लगालग कमेडी स्वादका सोसियल ड्रामा फिल्म निर्देशन गरिरहेका प्रदीप ‘क्लास’ का फिल्म पनि बनाउने बताउँछन् । तर अहिले भने दर्शक हलसम्म तान्ने फिल्म बनाउँदा फिल्म क्षेत्रलाई फाइदा हुने उनको बुझाइ छ । भन्छन्, ‘क्लासका फिल्म पनि बनाउने हो, अहिले दर्शक तान्ने फिल्म मै फोकस छु, कमेडी फिल्मभन्दा बाहिर जान पनि सक्छु ।’

 

तस्वीर/भिडियोः आर्यन बिमली

पछिल्लोपल्ट शनिबार, वैशाख २९, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया