

काठमाडौं, २ फागुन – अभिनेत्री तथा नायिका झरना थापा यतिबेला अमेरिकामा छिन् । चलचित्र ‘ए मेरो हजुर २’ लाई विदेशमा रहेका नेपालीहरूमाझ प्रदर्शन गर्ने क्रममा उनी यतिबेला अमेरिका पुगेकी छिन् । शिवरात्रीलाई विशेष पर्वका रुपमा मान्ने झरना यसवर्षको शिवरात्रीमा भने नेपाल माभइनन् तर उनले अमेरिकाबाटै कलाकारिता डटकमका लागि आफ्नो पहिलो शिवरात्रीको प्रसादबारे यसरी सुनाइन्ः
झण्डै सात वर्ष पहिले शिवरात्रीको दिन घरमा पूजा थियो । हाम्रो घरमा हरेक शिवरात्रीमा शिवजीको विशेष पूजा गर्ने चलन छ । बिहानै पूजा थियो । शिवजीको मूर्तिमा पनि भाङको प्रसाद चढाइएको थियो । घरमा सबैले भाङको त्यही प्रसाद थोरै थोरै खानुभयो । अलिकति मलाई पनि दिनुभयो । त्यही दिन पेप्सीकोलामा शूटिङका लागि जानुपर्ने थियो ।
परिवारले दिएको थोरै भाङ खाँदा खुब मीठो लाग्यो । मीठो भएकाले मैले अरु दुईवटा लड्डुको प्रसाद पनि खाइदिएँ । त्यतिबेला सोचें, ‘अनुभव लिन्छु, कस्तो हुने रहेछ ।’
तीन वटा लड्डु खाएर म शूटिङका लागि पेप्सीकोला गएँ । बाटोमा ठीकै थियो । रमाइलो लागेको थियो । तर पछि मलाई भाङ लाग्दै गएछ । बाइकमा स्टन्ट गर्नुपर्ने थियो । बाइक नै लडाएँ । त्यतिबेलासम्म त मैले आफूलाई कन्ट्रोल गरिरहेकी थिएँ । शूटिङ युनिटले भाङ खाएको चालसमेत पाउन सकेका थिएनन् । भित्रभित्रै म भने उडिरहेकी थिएँ ।
अर्को दृश्यमा मैले सानो ठाउँबाट हाम फाल्नुपर्ने थियो तर मैले जति प्रयास गर्दा पनि हाम फाल्नै सकिन । किनकि त्यो सानो ठाउँ मलाई यति ठूलो लाग्यो कि, मलाई कुनै अग्लो पहाडबाट हाम फाल्न लगाइएको छ भन्ने लाग्यो । मैले भाङ खाएको अभिनय त गरेकी थिएँ । तर भाङले त्यस्तो बनाएको मलाई अनुभव थिएन ।
मैले शूटिङ गर्नुको साटो हाँस्न थालेपछि शिवरात्रीमा भाङ खाएको भन्ने थाहा पाए टिमले । मेरै कारणले शूटिङ नै प्याक अप भयो । (हाँस्दै)
त्यसपछि घरमा आएँ । घर आउँदासम्म सबै ठीक जस्तो लागेको थियो तर मलाई त बेलाबेलामा आकाशमा उडेजस्तो लाग्ने, बेलाबेलामा मर्दैछु जस्तो लाग्ने हुन थाल्यो । घरका सबै डराए । कहिले रुने र कहिले हाँस्ने हुन थाल्यो । एउटै चिज पनि कहिले ठूलो देखिने, कहिले सानो देखिने भएझैं लाग्थ्यो ।
यतिसम्म कि, बेलाबेलामा त मलाई आकाशमै उडिरहेकी छु कि भन्ने पनि लाग्न थाल्यो । त्यसपछि मैले आफै म मर्न लागें, हस्पिटल लैजाओ भनेर आग्रह गरें । रातारात हस्पिटल लगिएपछि मलाई बान्ता गराइयो । धेरै सकसले बल्ल बान्ता गरेपछि अलिकति सजिलो जस्तो भयो ।
आजसम्म त्यस्तो अनुभव थिएन । त्यतिबेला म मर्छु नै भन्ने लागेको थियो ।
त्यो दिनदेखि मैले फेरि शिवरात्रीलाई प्रसाद पनि चढाइन । आफूले पनि खाएकी छैन । शिवरात्री आयो कि, त्यही दिन याद आउँछ ।
तस्वीरः झरना थापाको फेसबूकबाट
पछिल्लोपल्ट बिहीबार, फागुन ३, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया