रेखाको यो कस्तो लोभ? − Kalakarita
रेखाको यो कस्तो लोभ?

बिहीबार, जेठ २४, २०७५, ११ : ४३कलाकारिता

काठमाडौं, २४ जेठ – कुनै बेलाकी हट केक हुन् रेखा थापा । समाचारमा चारैतिर छापिन्थिन् उनी । दर्शकका लागि चासोको विषय थिइन् उनी ।

तर, अहिले भने उनी दर्शकका लागि नौलो लाग्न छोडिन् । उनीसँगैका सहकर्मीमध्ये धेरैले यो क्षेत्र छोडिसके । केही यही क्षेत्रमा कुनै न कुनै माध्यममा छन् । रेखा भने अझै पनि फिल्ममा ‘अभिनेत्री’ कै रुपमा देखिन चाहन्छिन् । जुन आजकाल दर्शकलाई पच्न छोडिसकेको छ ।

केही वर्षयता एकपछि अर्को गर्दै फ्लप फिल्म दिएकी रेखा पछिल्लो सामाजिक र महिला सशक्तीकरणका लागि भन्दै फिल्म निर्माण गर्न थालेकी छिन् । यसरी फिल्ममा रहिरहनु र सक्रियता देखाउनु चुनौतीपूर्ण मात्र होइन, सह्रानीय पनि छ ।

तर‌, सबै भूमिका आफै निभाउन खोज्ने लोभ पनि उनले देखाएकी छिन् । सबैतिर भ्याउनु पक्कै नराम्रो त हैन, तर कामको गुणस्तर घट्न सक्छ भन्ने हो । जुन रेखाले प्रमाणित गरेकी पनि छिन् ।

तर, केही वर्ष भयो, रेखालाई दर्शकले अभिनेत्रीका रुपमा पत्याउन छोडिसकेका छन्, किनकि उनले हरेक फिल्ममा एउटै लेभलको काम गरिन् भनेर आरोप लाग्यो । अझ पछिल्लो समय त के देखिएको छ भने आफै फिल्म निर्देशन गर्ने, आफैले निर्माणमा पनि हात हाल्ने र आफै नायिकाका रुपमा पनि देखिने ।

भूमिका सुहाओस् या नसुहाओस्, उनको यो कदम रोकिने छनक छैन । तर रेखा जत्तिको फिल्म बुझेको कलाकारले करिअरलाई कसरी अगाडि लैजाने भन्ने बुझ्न सक्नुपर्थ्यो । उनी भने आफ्नो करिअर ९वृत्ति० लाई अगाडि बढाउन सकेकी छैनिन् ।

अहिले उनको फिल्म मालिका निर्माण भइरहेको छ । तर, अहिले नै दर्शकलाई के लागिसकेको छ भने उनले बनाएको फिल्म त्यस्तै हो, जुन यसअघि नै बनाइसकेकी छिन् । यही कारणले गर्दा रेखालाई दर्शकले नपत्याउने सम्भावना पनि एकातिर छ ।

उनले बजार बुझेर, फिल्मको गहनता बुझेर फिल्म निर्माण गर्न कोशिश गरिनन् भने अब रेखालाई फिल्म चलाउन हम्मे पर्न सक्छ । उनले के बुझ्न सक्नुपर्छ भने फिल्म ब्रान्डले मात्र होइन, विषयवस्तु र मेकिङ राम्रो भयो भने मात्र ढुक्कले चल्छ ।


तपाईंको प्रतिक्रिया