काठमाडौं, २ जेठ – २ करोड ६० लाख नेपाली नक्कली नोट प्रकरणमा चलचित्र ‘चंगा चेट’ निर्माण गरिरहेका माधव वाग्ले पक्राउ परेपछि निर्माताहरुको संगठन नेपाल चलचित्र निर्माता संघले विज्ञप्ति जारी गर्दै वाग्लेलाई रिहाइको माग गरेको छ ।
चलचित्रको प्रयोजनका लागि भनेर लेखेरै नोट छापिएकोमा जानाजान फसाउन खोजिएको महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्माण पक्षको जानजान व्यक्तिगत हितका लागि कानूनलाई ठाडै चुनौती दिने मनसाय नभई विशुद्ध रुपमा नक्कली नोट सिनेमा प्रयोजनका लागि भनी उल्लेख गरी छपाइएको उल्लेखित नक्कली नोट चलचित्र छायांकन समाप्त पश्चात नष्ट गर्ने प्रक्रिया र प्रचलन यसअघि समेत नेपाली चलचित्र क्षेत्रमा रही आएको हुँदा निर्माता एवम् संघका प्रथम उपाध्यक्ष श्री माधवराज वाग्लेलाई कानून सम्मत अविलम्ब रिहा गरिदिन हुन संघ जोडदार माग गर्दछ ।’
सिनेमा प्रयोजनका लागि भनेर उल्लेखित नोटमै लिखित रुपमा खुलाइएकाले त्यस्ता नोटको प्रयोग गरिनु आफैमा निन्दनीय, गैरकानूनी र निर्माता माधव वाग्लेलाई फसाउने कार्य गरेको स्पष्ट देखिएको निर्माता संघले बताएको छ ।
प्रहरीको हिरासतमा रहेका माधव वाग्लेले पनि आफूले फिल्मका लागि नोटमै लेखेर नक्कली नोट छपाएको बताएका छन् भने फिल्म ‘चंगा चेट’ का निर्देशक दीपेन्द्र के खनालले पनि फिल्मका लागि नोट छपाइएको जानकारी दिएका छन् ।
यस्तो छ चलचित्र निर्माता संघको विज्ञप्तिः
पछिल्लोपल्ट बिहीबार, जेठ ३, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया