

काठमाडौं, १३ कार्तिक – युवा स्टार अनमोल केसी यस्ता नायक हुन्, जसले नेपाली सिनेमा नै नहेर्ने दर्शकलाई पनि सिनेमा घरसम्म तान्न सक्छन् । समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाओस् या नपाओस्, तर उनी अभिनित सिनेमाले बक्स अफिसमा आक्रामक व्यापार गर्छन् भनेर त यसअघि रिलिज भएका उनका सिनेमाले प्रमाणित गरिसकेका छन् ।
केही समयअघि मात्र अनमोलको सिनेमा ‘क्याप्टेन’ को फस्ट लुक रिलिज गरिएको छ । उक्त फस्ट लुकसँगै धेरै दर्शकको सिनेमाप्रतिको क्युरिसिटी मेटिएको छ । फस्ट लुकले राम्रो प्रतिक्रिया पाएको छ भने अनमोललाई फुटबल खेलाडीका रुपमा प्रस्तुत गरिएको छ पोस्टरमा ।
नेपालमा स्पोर्टस् जानराका खासै सिनेमा बनेको पाइँदैन । निर्देशक दिवाकर भट्टराईले यही नबन्ने जानराको कथामा अनमोललाई अभिनय गराएका छन् ।
दिवाकर र अनमोलले यसअघि सिनेमा ‘ड्रिम्स’ मा पनि सँगै काम गरेका थिए । ‘ड्रिम्स’ लाई अनमोलको करिअरको सफल र चर्चा कमाएको सिनेमामध्ये एक मानिन्छ ।
अनमोलका बुबा तथा अभिनेता भुवन केसी भन्छन्, ‘क्याप्टेन अनमोलको करिअरका लागि एक महत्त्वपूर्ण सिनेमा हो, यसअघि उसले जे–जस्ता आरोप खेपेको थियो, अब दर्शकले ती आरोप लगाउने ठाउँ छैन ।’
भुवन केसीका अनुसार यो सिनेमाले खेलप्रेमी दर्शकलाई समेत सिनेमाप्रेमी बनाउनेछ । अनमोलका युवा फ्यान त भइहाले नै ।
यता अनमोलले यही सिनेमाका लागि आफ्नो तौल घटाएर आफूलाई खेलाडीजस्तो फिट बनाएका थिए । सिनेमामा उनी अठार वर्षे किशोर देखिनुपर्ने थियो । यसकारण उनले तौल घटाएका थिए ।
हालसम्म ६ सिनेमा खेलेर सबै सिनेमा व्यापारिक रुपमा सफल भएका अनमोललाई पहिलो सिनेमा ‘होस्टेल’ ले एकाएक स्टार बनायो । त्यसो त अनमोल बुबा भुवन केसीको सिनेमा ‘साथी म तिम्रो’ को सानो भूमिकासँगै डेब्यु गरेका थिए । पछि ‘होस्टेल’ बाट भने उनी लिड रोलमा देखिए । त्यसपछि उनले आफ्नो स्टारडमलाई कम गरेनन् । बरु झन् बढाउँदै लगेका छन् ।
अनमोललाई अहिलेका नम्बर एक युवा स्टारका रुपमा दर्शकले मान्दै आएका छन् । बक्स अफिसमा दर्शक तान्ने अभिनेताका रुपमा अनमोललाई हेर्ने गरिन्छ ।
क्याप्टेनबाट अनमोल अझ बढी आशावादी छन् । उनी भन्छन्, ‘क्याप्टेनको फस्ट लुकले मलाई उत्साहित बनाएको छ, राष्ट्रियता बोकेको सिनेमामा काम गर्न पाएको छु, त्यसैले अझ जिम्मा थपिएको छ ।’
निर्माण टिम विश्वस्त छ कि, ‘क्याप्टेन’ ले अनमोललाई मात्र होइन, नेपाली सिनेमा क्षेत्रलाई नै कुनै न कुनै रुपमा पक्कै फाइदा पु–याउनेछ ।
पछिल्लोपल्ट शुक्रबार, मंसिर १४, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया