कुन्नि कसको भनाइ थियो – ‘जिन्दगी अनुभवको शास्त्र हो ।’ यसपालि एउटा अनौठो अनुभव भयो । सोच्दै नसोचेको, आसै नगरेको कुरा केही क्षणका लागि प्राप्त भएर गुमाउनु पर्दा पनि पीडा हुँदो रै’छ । जसरी सपनामा पैसाको मुठो खोपीमा लुकाएको बालक ब्युँझेपछि पैसा नदेखेर अमिलो मन लिएर घोरिइरहन्छ, जसरी कुनै अज्ञात सुन्दरीलाई अङ्गालो हाल्नै लाग्दा ब्युँझिएको ठिटो नमीठो अनुहार लिएर टोलाउँछ । करीब त्यस्तै मनोदशामा थिएँ म एका बिहानै ।
कुरा थियो औंठीको । दाइको बिहेमा पाएको सुनको औंठी खुकुलो भएकोले कोटको खल्तीमा राखेँ । राती अबेर सुत्ने बेलामा पनि थियो तर बिहान उठ्दा थिएन । छोटकरीमा कथा यत्ति हो । तर यो कथा होइन, तलाउमा फ्याँकिएको ढुङ्गा हो, जसले अनन्त तरङ्गहरू ल्याउने सामथ्र्य राख्दछ । एकछिन त होस्, कसैलाई सुनाउँदिन, जसरी आयो उसरी नै गयो भन्ने सोँचेर अरु अरु काममा लागेँ । तर मनले के मान्थ्यो, आफ्नो स्वभाव देखाइहाल्यो । अनेक कुराहरू खेल्न थाले ।
अचानक आफै उडेर आएका जोडी परेवाले घर छोड्दा दिनभरि झोंक्राएकी आमालाई सम्झेँ, आफै आएर घरमा बसेका मौरी आफै भाग्दाको दिनको बुबाको कान्तिहीन अनुहार सम्झेँ ।
र, सम्झेँ मित्र सुरजलाई जसले सुनाउँदै थियो आफ्नो प्रेम कहानी । भन्दै थियो—ऊ मेरो जीवनमा अनायासै आई । अनायासै गई तर आशा नै नगरेको बेलाको प्राप्तिमा हुने आनन्दभन्दा गुमाउँदाको पीडा हजार गुणा बढी हुँदो रै’छ । अनि औंठीलाई सम्झें—‘प्यारी औंठी ! तिमी पनि त अनायासै प्रेमिका बन्न आएर केही दिनमै बेपत्ता भएकी सुन्दर स्त्री झैं भयौ ।’
केही दिन अघि भुन्टीले जिस्किँदै भनेकी थिई— ‘अब त सुनको औंठी टर्लक्क होला नि हजुरको !’
औंठी गोजीमा राख्दै गर्दा सोँचेको थिएँ—‘यो नाथे औंठी लगाएर हिँड्ने कुरो हुन्न । यसलाई बेचेर उसलाई एउटा सुन्दर उपहार किन्दिनु पर्ला ।’ तर, यतिबेला त्यो कुनै भुन्टी वा उसको भुन्टेको हातमा पर्यो कि भुइँमा गड्यो यसै भन्न सकिन्न ।
हामी जब समस्यामा पर्छौं तत्काल हामी भित्रका अनेकौं आदिम चेतनाहरू, आदिम संस्कारहरू सल्बलाउँछन् । कताबाट मनमा आयो ‘सुन भेट्टाउनु र हराउनु दुवै अनिष्टका सङ्केत हुन् ।’ मन भरङ्ग भयो । म भित्रको शिक्षित, आधुनिक मान्छे पराजित भयो । साँच्चिकै नराम्रो हुने त होइन ?! खासमा हामी आफूलाई जतिसुकै शिक्षित, चेतनशील, आधुनिक सम्झे पनि आफूभित्रका आदिम छापलाई मेट्न निकै गाह्रो छ । आफूलाई जतिसुकै उत्तर आधुनिक ठान्ने मान्छे पनि बिरालोले बाटो काटेको देखी देखी यात्रामा निस्कन हिच्किचाउँछ, हाच्छ्युँ आएको बेला काममा निस्कन अन्कनाउँछ । हामीलाई जन्मदेखि नै सिकाइएका, सुनाइएका मूल्य मान्यता र विश्वासले हामीलाई जीवनभर जकड्ने रै’छन्, नछोड्ने रै’छन् ।
आफूलाई जतिसुकै उत्तर आधुनिक ठान्ने मान्छे पनि बिरालोले बाटो काटेको देखी देखी यात्रामा निस्कन हिच्किचाउँछ, हाच्छ्युँ आएको बेला काममा निस्कन अन्कनाउँछ । हामीलाई जन्मदेखि नै सिकाइएका, सुनाइएका मूल्य मान्यता र विश्वासले हामीलाई जीवनभर जकड्ने रै’छन्, नछोड्ने रै’छन् ।
अँ, प्रसङ्ग थियो औंठीको । मनलाई शान्त पार्न कसैलाई नभन्ने शर्तमा एउटा साथीलाई सुनाएँ, उसले त्यस्तै शर्तमा अर्कोलाई सुनाएछ । अर्कोले अर्कोलाई गर्दै १५ मिनेट भित्रमा भोजमा उपस्थितमध्ये थाहा पाउनेको भन्दा नपाउनेको सङ्ख्या कम भयो । सबैले पुर्लुक पुर्लुक मलाई हेर्छन् अनौठो नजरले । मानौं म अर्कै ग्रहबाट आएको मान्छे हुँ । कतिले एकान्तमा लगेर खानतलासी गरे त कतिले अर्तीबुद्धि दिन थाले ।
उसो त हाम्रो समाजमा निःशुल्क एवम् सर्वसुलभ ढङ्गले पाइने चिज भनेकै अर्ती हो । अरुलाई अर्ती उपदेश दिन कुनै योग्यता चाहिँदैन । यसैबीच एकजनाले चामल मन्त्रेर रगतै बान्ता गराउँछु भन्दै थिए मलाई दिक्क लागेर त्यहाँबाट भाग्ने प्रयास गरेँ । जाँदाजाँदै एउटा ज्ञान पलायो—‘कुनै कुरा छिटोभन्दा छिटो सबैले थाहा पाऊन् भन्ने छ भने कसैलाई नभन्ने शर्तमा एकजनालाई सुटुक्क कानमा भन्नू ।’
‘छिः पढेर मात्र बुद्धि आउँदो रै’नछ । आफ्नो सामानको त ख्याल गर्नुपर्छ नि । हेर हेर डिग्री पढेको मान्छेको बुद्धि !’ एकजना चीर परिचितको आवाज सुनेँ जसले आफ्नो छोरो लम्फू भएर पढ्न छाडेकोमा भन्दा मैले पढेकोमा बढी चिन्ता लिन्थे ।
‘यो मान्छे पहिल्यै देखिको हरिलठ्ठक हो । घाँस काट्न जाँदा कविता लेखेर बस्थ्यो, दश बजेतिर रित्तो डोको लिएर आउँथ्यो ।’ अर्काले मौकामा चौका हान्यो । नसुनेझैं सुनिरहेँ ।
‘यसका सन्तान नै यस्तै हुन्, हजुरबाको गोता गा’को छोरो, छोराको गोता गा’को नाति । यस्तो बेहोसी तालले के गरेर जीवन कटाउनी होला ?’ अर्की शुभचिन्तकले शुभचिन्ता प्रकट गरिन् ।
जाबो उडेर आएका परेवा उडेर गए भनेर जान्दा जान्दै आमाले किन झोंक्राउनु पथ्र्यो ? विना कुनै लगानी आएका मौरीले घार छोडेर जाँदा बुवाको अनुहार किन कान्तिहीन हुनुपर्थ्यो ?
अनि अर्की भद्र महिलाले त केसम्म भन्न भ्याइन भने—“यो यस्तै हो । पोहोर साल तरकारीमा बेसार भनेर केशरी हाल्ने यै त हो नि ।” समूहमा भएका पन्ध्र/बीस जना महिलाहरू हलल्ल हाँसे । म भने योभन्दा बढी सुन्न नसकेर त्यहाँबाट परै गएर बसेँ ।
यतिबेला म एकान्तमा बसेर त्यै औंठीलाई मनमनै गाली गर्दैछु । जसले मलाई बेकारमा मूर्ख बनाएर गयो । ‘थुइक्क साला औंठी ! बिना काममा तीनपुस्ते गाली खुवाइस् यार !’
सोँच्दैछु हाम्रो जीवन पनि त एउटा यस्तै सुनको औंठी न हो । जसलाई न चाहेर प्राप्त हुन्छ न चाहेर गुमाइन्छ । जाबो उडेर आएका परेवा उडेर गए भनेर जान्दा जान्दै आमाले किन झोंक्राउनु पथ्र्यो ? विना कुनै लगानी आएका मौरीले घार छोडेर जाँदा बुवाको अनुहार किन कान्तिहीन हुनुपर्थ्यो ?
सपनामा पैसा देखेको बालक, युवतीलाई अङ्गाल्न नपाउँदै ब्युँझेको युवक वा अनायासै आएर अनायासै जाने प्रेमिकालाई सम्झेर टोलाउने मित्र सुरज वा ‘फ्री’मा पाएको औंठी हराउँदा बेचैन हुने म किन वास्तविकता जान्दा जान्दै पनि, बुझ्दा बुझ्दै पनि दुःखी हुन्छौं ? यो अनुत्तरित प्रश्न मनमा घुमिरहन्छ त्यै हराएको सुनको औंठी झैं ।
पछिल्लोपल्ट आइतबार, जेठ २०, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया