

काठमाडौं, १३ चैत – अभिनेता प्रदीप खड्का पछिल्लो समय चर्चामा आएका अभिनेता हुन् प्रदीप खड्का । आफ्नो चकलेटी अनुहार र व्यवहारले गर्दा सबैबीच लोकप्रिय यी अभिनेता यतिबेला चलचित्र ‘लिलिबिली’ को प्रचारमा व्यस्त छन् । उनको चौथो सिनेमा यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।
चलचित्र प्रेमगीतले दिलाएको सफलताले उनलाई सफल बनाएको छ नै । यतिबेला भने उनी चलचित्र ‘लिलिबिली’ लाई आफ्नो डेब्यु चलचित्र भनिरहेका छन् । उनले अब यो चलचित्रले प्रेमगीतको ट्यागलाई हटाउने बताएका छन् ।
प्रायः दृश्यको छायांकन विदेशमा गरिएको चलचित्र लिलिबिलीलाई यतिबेला प्रतिक्षित चलचित्र मानिएको छ । चलचित्रमा जसिता गुरुङ र प्रदीप खड्काको जोडी छ । साथै फिल्ममा प्रियंका कार्की र अनुप विक्रम शाही पनि छन् । प्रदीप यो चलचित्रबाट अझै धेरै आशावादी भएको बताएका छन् ।
साथै डेब्यु अभिनेत्री जसिता गुरुङले पनि यो फिल्मले आफूलाई रुचाइदिने आशा व्यक्त गरिन् । जसितालाई निर्देशक मिलन चाम्सले पहिलो पटक बेलायतको एक नृत्य प्रतियोगीतामा देखेका थिए । त्यसपछी अडिसनमा बोलाएर सिनेमाको लागि छनोट गरेको जसिताले खुलाइन् ।
बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायाँकन गरिएको ‘लिलिबिली’ हरेक नेपाली सिनेमाका फ्यानले गर्व गर्न लायक बनेको निर्देशक चाम्सले बताए । विदेशमा मात्र छायाँकन गरीए पनि सिनेमाले नेपालको प्रतिनिधित्व गर्ने चाम्सले थपे ।
त्यस्तै निर्माता सुदिप खड्काले ‘लिलिबिली’को क्लाइमेक्स सिन हेरेर चाम्स र आफु रोएको स्मरण गर्दै ‘लिलिबिली’ले नेपाली सिनेमा क्षेत्रलाई एक स्टेप माथि उठाउने बताए ।
प्रदीपको क्रेज
सोमबार चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा प्रदीपका फ्यानहरुले उनको क्रेज पुन: एक पटक झल्काइदिएका छन् । प्रदीपलाई हेर्न मात्र हजारौ फ्यानको भिड थियो । सेल्फी लिनलाई फ्यानको तछाडमछाडले प्रदीपलाई स्टेजसम्म चढ्न हम्मेहम्मे परेको थियो । प्रदीपको यस्तै क्रेज ‘प्रेमगीत २’ रिलिज ताका पनि देखिएको थियो ।
अबको गन्तव्य पुर्व: देश दौडाहा अन्तर्गत सिनेमाको पहिलो सेड्युल आइतबारका लागि पोखरामा थियो । तर, खराब मौसमका कारण ‘लिलिबिली’ टिमको हवाईजहाज पोखरामा ल्याण्ड हुन् नसकेपछी पोखरा कन्सर्ट स्थगित भएको थियो । चितवनको कन्सर्ट पश्चात टिम पुर्वका दमक, इटहरी, धरान लगायतका शहरमा पुग्नेछ । यस टुर अन्तर्गत प्रदीप, जसिता, मिलन, सुदिपसँगै नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका छन् ।
सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।
(कलाकारिता टिमबाट सम्पादन नगरिएको)
तपाईंको प्रतिक्रिया