आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न − Kalakarita
आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न

आइतबार, मंसिर ९, २०७५, १० : ४५कलाकारिता

काठमाडौँ, ९ मंसिर – बुकवर्म फाउन्डेसनको आयोजना रहेको आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ (आइएमई नेपाल साहित्य महोत्सव २०७५) अन्तर्गत कर्टेन रेजर कार्यक्रम काठमाडौंमा सम्पन्न भयो । एलिस रिसेप्सन, गैरीधारामा शनिबार आयोजित कार्यक्रममा भारतीय लेखक गुरचरणदासले मन्तव्य राखे ।

कार्यक्रममा आफ्नो पुस्तक काम ः द रिडल अफ डिजायरमाथि टिप्पणी गर्दै लेखक दासले भने, ‘आदिकालीन भारतसँग अर्थपूर्ण जीवनयापन गर्न सक्ने उपाय र उत्तर थियो । हाम्रा ऋषिमुनिहरुले तीन उद्देश्य प्रस्ताव गरेका थिए— धर्म, अर्थ र काम । धर्म भनेको नैतिक स्वास्थ्य हो ।

अर्थ भनेको भौतिक सुखसुविधा र तेस्रो काम हो । यी तीन कुरालाई मैले मेरा किताबहरुमा अझ नजिकबाट जान्न कोसिस गरेको छु ।’ सबै मानिस अर्थपूर्ण एवम् सुखी जीवन बिताउन चाहने र त्यस विषयमा आफ्ना पुस्तकहरुमा चर्चा गरेको उनको भनाइ छ ।पहिलो किताब इन्डिया अनबाउन्डमा भौतिक समृद्धिको विषय उठान गरेको उनले बताए ।

दोस्रो किताब द डिफिकल्टी अफ बिइङ गुडमा हाम्रो र देशको नैतिक जीवनको चर्चा गरेको उनले जानकारी दिए । साथै पछिल्लो किताब काम ः द रिडल अफ डिजायरमा आफूले तृष्णाको चर्चा गरेको उनले अथ्र्याए । कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रवीन्द्र अधिकारीले देशको सबैभन्दा महङ्खवपूर्ण साहित्यिक महोत्सवलाई सहयोग गरेकोमा आइएमई ग्रुपलाई धन्यवाद दिए । ‘देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त हुँदैन ।

यसका लागि कला, साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुने भएकाले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नुपर्छ,’ उनले भने । कार्यक्रममा लेखक शिवानीसिंह थारुले आधुनिक नेपाली साहित्य २०औं शताब्दीसँगै अघि बढेको बताइन् ।

त्यसको एक सय वर्ष पूरा भएसँगै नेपाली साहित्यले नयाँ फड्को मारिसकेको उनको भनाइ छ । “यसले पञ्चायत शासनबाट बच्दै आफूलाई अगाडि पनि बढायो । पछिल्लो समय नेपाली साहित्यले नयाँ रुपमा आफूलाई अघि बढाएको छ,” उनले भनिन् । अब नेपाली साहित्य अन्तर्राष्ट्रिय जगतमा पुग्ने समय भइसकेको उनको भनाइ छ । नेपाली साहित्य परम्परा र नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने समय पनि आइसकेको उनले बताइन् । “त्यसो गर्न सक्छौं त ?” उनले प्रश्न गरिन् र उत्तर पनि दिइन्, “मलाई लाग्छ, हामीले पक्कै सक्छौं ।”
कसरी गर्न सक्छौं त ?

त्यसका लागि साहित्यिक उत्सव र सम्मेलनहरु आवश्यक हुन्छन् । यही क्रममा नेपाल लिटरेचल भेस्टिभलले पनि नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न सघाउने उनको धारणा छ । कार्यक्रममा आइएमईका कार्यकारी निर्देशक सुमन पोखरेलले आइएमईलाई लिटरेचर फेस्टिभलमा प्रायोजनको अवसर दिएकोमा बुकवर्म फाउन्डेसनलाई धन्यवाद दिए ।

आइएमईले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गरिरहेको र यस्ता महोत्सव आदिमा पनि सहकार्य गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । बुकवर्म फाउन्डेसन एवम् अन्तर्राष्ट्रिय स्तरको लिटरेचर फेस्टिभलसँगको सहकार्यले आफूहरुलाई थप उत्साहित बनाएको उनले बताए ।
कार्यक्रममा गायक धर्मेन्द्र सेवानले रेसम फिरिरीलगायत पाँच ओटा गीत गाएका थिए ।

 


तपाईंको प्रतिक्रिया