हलमा दर्शक तान्न नसकेको ‘राज्जा रानी’ लाई युट्युबमा तारिफै तारिफ − Kalakarita
हलमा दर्शक तान्न नसकेको ‘राज्जा रानी’ लाई युट्युबमा तारिफै तारिफ

सोमबार, जेठ २८, २०७५, ०३ : ४५कलाकारिता

काठमाडौं, २८ जेठ – मूलतः मधेसको कथा उठाएर केन्द्रीय स्तरमा खासै फिल्म बन्दैनन् । नाजिर हुसेन र केकी अधिकारी अभिनित फिल्म ‘राज्जा रानी’ ले युट्युबमा तारिफ बटुलेको छ । यो फिल्मको कथा मधेस समुदायको कथा हो ।

हलमा खासै दर्शक तान्न नसकेको यो फिल्म मैथिली भाषामा पनि रिलिज गरिएको थियो । यसको प्रचार पनि राम्रै भएको थियो । यद्यपि फिल्मले आशा गरिएअनुरुप दर्शक तान्न भने सकेन ।

यम थापाले निर्देशन गरेको यो फिल्मलाई युट्युबमा भने सकारात्मक प्रतिक्रिया आएका छन् । यो चलचित्र रिलिजको केही घण्टामै ट्रेन्डिङमा परेको थियो । अहिले (समाचार तयार पार्दासम्म) फिल्म युट्युबको नम्बर एक ट्रेन्डिङमा परेको छ ।

फिल्म हेरिसकेपछि दिपु दर्पण नामक युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘मधेसतिर भइरहेको बाल विवाह, दाइजो प्रथा, राजनीतिक फोहोरी खेलमा आधारित वास्तविक कथावस्तुले मनै भक्कानियो, चलचित्रको शुरुदेखि अन्तिमसम्मको हरेक शब्दमा गहिरिएर बुझ्न जरुरी छ, सबै कलाकारको अभिनय उत्कृष्ट छ ।’

सक्षम खनालले लेखेका छन्, ‘वाह्, साँच्चिकै मन छुने फिल्म ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यसले थाहा हुन्छ, हाम्रो समाजको विदेशी क्यारिकेचर, किनकि यस्तो सन्देशमूलक अनि संस्कृति झल्काउने चलचित्र फ्लप हुन्छ ।’

फिल्मले सकारात्मक प्रतिक्रिया धेरै पाएपनि नकारात्मक प्रतिक्रिया पनि पाएको छ । नाजिर हुसेनको भूमिका नरुचेको केहीले लेखेका छन् । केकी अधिकारीको अभिनयको धेरैले तारिफ गरेका छन् । ‘यो फिल्म यस्तो छ, सोचेको पनि थिएन, प्रचारमा पनि फिल्म कस्तो छ भनेर केही कुरा उठेन,’ समिक घिमिरेले लेखेका छन्, ‘समीक्षा र रेटिङ थाहा भएको भए हलमै गएर हेर्थें ।’

फिल्मले उठाएको विषयवस्तु र कथालाई पनि दर्शकले रुचाएको भन्दै प्रतिक्रिया दिएका छन् । फिल्म हेर्नेमध्ये धेरै विदेशी भूमिबाट हेर्ने छन् ।

निर्देशक थापाले नै लेखेको यो फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा केकी र नाजिरका अलावा रेखा थापा, कामेश्वर चौरासिया, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, अरुण रेग्मी, सरिता राजोपाध्य, अनूज पाण्डे, गणेश अधिकारी, सुमा लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै फिल्ममा दीपक शर्मा र तारा प्रकाश लिम्बुको संगीत, चन्दन दत्तको सम्पादन, राजेन्द्र थापा र यम थापाको लिरिक्स र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

फिल्मले मधेसको दाइजो प्रथा र त्यहाँको मौलिक कथालाई उठान गरेको छ ।

पछिल्लोपल्ट बिहीबार, जेठ ३१, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया