बसुन्धरा भुसालका नजरमा दरबार हत्याकाण्ड र राजा वीरेन्द्र − Kalakarita
बसुन्धरा भुसालका नजरमा दरबार हत्याकाण्ड र राजा वीरेन्द्र

शनिबार, जेठ १९, २०७५, ०२ : ४५कलाकारिता

काठमाडौं, १९ जेठ – दरबार हत्याकाण्ड भएको पनि सोह्र वर्ष पूरा भइसकेको छ । यी सोह्र वर्षले राजनैतिक रुपमा एउटा इतिहास फेरिसकेको छ । तर, हत्याकाण्ड भएको त्यो कारुणिक क्षण पनि अझै ओभानो भएको छैन । हरेक नेपालका मनमा चिसो ल्याइदिने त्यो घटनालाई वरिष्ठ कलाकार बसुन्धरा भुसालले अझै पनि याद गर्छिन् ।

सोह्र वर्षअघि उनी आजको दिन धिरेन शाक्य र स्वर्गीय शीर्षा कार्कीसँगै फिल्मको शूटिङमा थिइन् । फिल्मका छायांकनका दौरान मलेखु पुगेका उनीहरुलाई दरबार हत्याकाण्ड भएको खबर मलेखुका एक चियावालाले सुनाएका थिए । त्यतिबेला उनीहरु छाँगाबाट खसेझैं भएका थिए ।

एकछिन त बसुन्धराले पत्याइनन् पनि ।

आफूले परिवारलाई झैं माया र सम्मान गर्ने राजा वीरेन्द्रको परिवारको वंश नाश हुँदा बसुन्धरा आफू त्यतिबेला आत्तिएको बताउँछिन् । ‘उहाँ सबैको प्रिय राजा हुनुहुन्थ्यो, बुबा महेन्द्र सरकारझैं कलाप्रेमी हुनुहुन्थ्यो, कलाकारलाई पनि अत्यन्तै माया र सद्भाव दर्शाउनुहुन्थ्यो, त्यसैले उहाँको हत्याको खबरले हामीलाई अत्यन्तै पीडा दियो,’ बसुन्धरा त्यतिबेलाको स्थितिलाई स्मरण गर्दै सुनाउँछिन्, ‘हामी मात्र होइन, सारा विश्व नै दुःखी भएको थियो, पहिले त राजाको मात्र हत्या भएको भन्ने लागेको थियो तर पूरै परिवारको हत्या भएको रहेछ ।’

राजपरिवारसँग बसुन्धराको सम्बन्ध ‘कला’ सँग जोडिएको छ । महेन्द्र र वीरेन्द्र दुवैले नेपाली कला र संस्कृतिलाई उत्तिकै माया दिन्थे । चासो दिन्थे, सम्मान दिन्थे । यही कारण नेपाली कलाकार राजपरिवारसँग नजिक थिए ।

‘वीरेन्द्र सरकार अत्यन्तै शालीन र विश्वले नै चिनेको राजा हुनुहुन्थ्यो, गरीबको कुरा सुन्ने गर्नुहुन्थ्यो, कलाकारलाई उत्तिकै सम्मान गर्नुहुन्थ्यो, आर्थिक रुपमा सहयोग नगरेपनि राजा जत्तिको मान्छे आएर हाम्रो हालखबर सोध्नुहुन्थ्यो, खुशी लाग्थ्यो ।’, उनी सुनाउँछिन् ।

राजा वीरेन्द्रले दरबारमा नेपाली फिल्म समेत हेर्ने गरेको भुसाल बताउँछिन् । राजपरिवारको रहनसहन पनि अति सामान्य भएको उनी बताउँछिन् । ‘हामी कहिलेकाहीँ जान्थ्यौं, उहाँका पलङ र अन्य सामान सामान्य थिए, राजा भनेर के भन्नु, उहाँ सादा जीवन उच्च विचारमा विश्वास गर्नुहुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘उहाँको हत्या भएको दिन मलाई औंसीको रातजस्तो लाग्छ, राजपरिवार मात्र होइन, नेपालबाट शान्ति पनि गयो झैं लाग्छ त्यो दिन ।’

उनले राजा वीरेन्द्रलाई ‘हीरा’ का रुपमा सम्बोधन गर्छिन् । उनको बुझाइमा राजा वीरेन्द्र विकासप्रेमी थिए । उनले यदि नेपालमा केही समय शासन गर्न पाएको भए धेरै विकास गर्ने थिए भन्ने बसुन्धरालाई लाग्छ ।

एकपटक उनी बिरामी हुँदा राजा वीरेन्द्रले केही रकम सहयोग समेत गरेका रहेछन् । आफै भेट्न गएर हालखबर सोधेका रहेछन् । यो २०३२ तिरको कुरा हो । ‘उहाँ आफैं आएर भेट गर्नुभएको थियो, उहाँको त्यो मायाले होला, मेरा आँखाबाट आँसु आए, कलाकर्मीलाई पनि यति मान्ने राजालाई हामीले गुमाउँदा कति अत्यन्तै दुःख लागेको छ ।’, बसुन्धरा सुनाउँछिन् ।

हत्याकाण्डको यत्रो लामो समयसम्म पनि यसको वास्तविकता बाहिर आउन नसक्नु दुखद् पक्ष भएको भुसाल बताउँछिन् । ‘यत्रो वर्ष भयो, अझै यो रहस्य नै छ, केही पत्ता लाग्न सकेको छैन,’ उनी थप्छिन्, ‘पूरै परिवारको वंश नाश भयो, अहिले पनि श्रुती सरकारका बच्चाका तस्वीर देख्दा मन भतभती पोल्छ ।’

पछिल्लोपल्ट शुक्रबार, जेठ २५, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया