लघुकथा: पसिना − Kalakarita
लघुकथा: पसिना

सोमबार, चैत्र २६, २०७४, ०८ : ४६कलाकारिता
सानु पौडेल

‘यति ठूलो पदमा पुगेका मान्छे पनि यति सरल हुन्छन् भनेर सोँचेकै थिएन सर!’

हजुरलाई भेटेर निकै खुशी लाग्यो ।

आजको कार्यक्रममा हजुरका भनाइ सुन्दा यस्तो लागेको थियो कि, हजुर साँचिकै गरीब, दुःखी, अनाथ, असाहयका लागि जिउँदो देवता हुनुहुन्छ। म पनि गाउँ बाट यस्तै ठुलो मान्छे बन्ने सपना देखेर आएको खोइ कहिलेबन्ने हो?कसरी बन्ने हो..?

‘मंगल जि! नआत्तिनू, म सहयोग गर्छु नि!’

यो शहरमा हजुर जस्तै असल मान्छे सबै भैदिए कति जाती हुन्थ्यो होला!

अघि आमाले फोन गरेर मेरो चिन्ता गर्दै हुनुहुन्थ्यो । मैले त हजुरको बारेमा सबैकुरा भनिदिएँ । निकै खुसी हुनुहुन्थ्यो हजुरलाई भेटेकोमा। धेरै याद आउँछ बिचरी आमाको ! बूढी हुँदै जानुभएको छ, आफ्नो चिन्ता छैन । खाली मेरै चिन्ता गर्ने यो आमा बुवाको मन कस्तो हो?

धन्न बुहारी छ र अलि ढुक्क छ।

मंगल एकोहोरो बोलिराखेको सुनेर राजले भोलिको कार्यक्रम को कुरा झिक्यो।

भोलिपल्ट
कार्यक्रम सकिएपछि मंगलले उहि तारिफ गर्‍यो । तर, अघिल्लो दिन जस्तो अनुहार नदेखेपछि राजले सोध्यो, ‘भाई हजुरको अनुहार हिजोजस्तो खुशी छैन‌ । किन?’

‘आज बिहानै पशुपति गएको एउटी बूढी आमा जाडोले लुगलुग काँपेको देखेर सहन नसकी ज्याकेट खोलेर दिएँ । छोरामान्छेले लगाउने भए पनि न्यानो ढाक्छ आमा लगाउनुहुन्छ भनेको निकै खुशी भएर लगाउनु भो। मफलर र अलिकति पैसा पनि दिएँ।

आफ्नो नाम बाटुली बताउने ती बिचरी आमालाई आफ्नो छोरा राजेन्द्रले आमा एकैछिन यहीँ बस्नु है कहिँ नजानुहोला म भर्खर आउँछु भनेर गएको दस बर्ष भो रे! अझै पनि उही छोराको बाटो कुरेर बस्नु भएको छ। मैले जाँउ मेरो गाँउमा लगेर राम्रो सँग पाल्छु। मेरो आमासँग खुसी खुसी बस्नु होला भनेर सम्झाएँ तर छोराले कहिँ नजान भनेको थियो म जाँदिन भनेर आउनै मान्नु भएन।

उसले फेरि थप्यो, ‘कति दुष्ट छोरा होला भगवान जस्ती आमालाई त्यसरी अलपत्र पारेर जाने । कसम त्यसलाई भेट्न पाए त एक पटक मुखमा थुकीदिने थिएँ, सके उसको हातखुट्टा पनि भाँचिदिने थिएँ ।’

राजेन्द्रबाट राज नाम कमाएको मान्छे मंगलको कुरा सुनेर तिनै  बाटुलीले ठूलो हुञ्जेल भनेको कुरा सम्झ्यो, ‘बाबू राजेन्द्र तँलाई मनपर्ने खीर पकाएर राख्छु भरे साथीको मा नबसेस् है, तँलाई नदेखे सम्म निद्रा लाग्दैन ।’

त्यतिबेला उसको निधारबाट खलखली पसिना आइरहेको थियो ।

(लघुकथा कुनो समूहबाट)


तपाईंको प्रतिक्रिया