

काठमाडौं, २५ फागुन – हाइट ठिक्क छ । उमेर पनि धेरै भएको छैन । तर, उनको स्वादिलो स्वभाव र आनीबानीले धेरै फिल्मकर्मीले रुचाउँछन् आँचललाई । छोटो समयमा नै दर्शकले सम्मान गर्ने नायिकामध्येमा उनी पनि जोडिन्छिन् । घरीघरी आँचल अर्को कारणले पनि चर्चामा आउँछिन् – अभिनेता पल शाहसँगको प्रेम सम्बन्ध ।
यतिबेला भने आँचल शर्मा जम्मा यति कुराले मात्र चर्चामा छैनिन् । चलचित्र ‘शत्रु गते’ को रिलिज मिति नजिकिँदै गर्दा उनी मिडियामा फेरि एकपटक छरिएकी छिन् ।
आँचल अभिनित चलचित्र ‘शत्रु गते’ रिलिजको संघारमा छ । फिल्ममा उनलाई साथ दिँदैछन् आँचलसँगै जोडिएर आउने अभिनेता पल शाहले ।
बेलाबेलामा अदृश्य प्रेम सम्बन्धका कारण चर्चामा आइरहने आँचल कुपण्डोलस्थित एक क्याफेमा ‘शत्रु गते’ टिमसँगै भेटिइन् । हँसिलो र आकर्षक लाग्ने उनको स्वभावसँगै हामीले एकछिन आँचलसँग कुरा गर्यौं ।
उनले सुनाइन् – फिल्ममा काम गर्दा धेरै रमाइलो भयो । आफू जन्मनुभन्दा पहिलेदेखि अभिनय गर्दै आउनुभएका हरि बा र मदन बासँग काम गर्ने मौका पाएँ ।
आँचलका हरि बा अर्थात् हरिवंश आचार्य र मदन बा अर्थात् मदनकृष्ण श्रेष्ठ ।
अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि यही फिल्ममा छन् । मह जोडीका लागि यो फिल्म खास फिल्म किन पनि हो भने, अभिनय दशकौंदेखि गरिआएको काम हो तर डिजिटल प्रविधिका हिसाबले मह जोडीको या फिल्म ‘अपडेटेट’ फिल्म हो ।
‘मैले हरि बा र मदन बालाई पर्दामा देख्दा जस्तो हुनुहुन्छ भनेर सोचेकी थिएँ, त्यो भन्दा ठ्याक्कै उल्टो पाएँ’, आचँलले थपिन्, ‘उहाँहरु धेरै सहयोगी, सम्मानित र खुला स्वभावको हुनुहुँदो रहेछ, उहाँजस्तो स्वभावको कलाकार यो क्षेत्रमा कमै हुनुहुन्छ ।’
उनले हात हल्लाउँदै फेरि थपिन् – ‘लेखेर दिन्छु, उहाँहरु जस्तो कलाकार यो क्षेत्रमा अरु हुनुहुन्न ।’
फिल्मको छायाङ्कन सकियो । ‘शत्रु गते’ को टिमको भेटघाट अलिक पातलो भयो तर फिल्मको दौरान आफूले धेरै कुरा सिकेजस्तो लाग्यो आँचललाई ।
‘मैले यो फिल्ममा काम गर्दा लाइफ लेसन सिकें, जीवनको महत्त्व र कामको महत्त्व बुझ्ने मौका पाएँ, यो मेरा लागि सुनौलो मौका पनि हो’, उनले मुस्कुराउँदै भनिन् थपिन्, ‘चलचित्र रिलिज नुहँदै मैले आफ्नो कामको राम्रो प्रतिक्रिया पाएकी छु ।’
चलचित्रमा उनी बेहुलीको भूमिकामा देखिँदैछिन् । फिल्मले उनलाई बेहुली बन्ने मेसो मिलाइदिएको छ । जुन उनका लागि पनि स्मरणीय छ ।
‘अरु फिल्ममा भन्दा यसमा काम गर्दा भन्दा यो फिल्ममा सर्पाेट बढी भयो, मेरो मात्र भूमिका खिचिएको बेलामा पनि हरि बाले काउन्टर (क्यामेरामा नआउँदा पनि सजिलोका लागि अर्को पक्षले अभिनय गरिदिने) दिनुहुन्थ्यो’, उनले खुशी व्यक्त गर्दै थपिन्, ‘त्यसो गर्दा अभिनय अझै सहज हुँदो रहेछ ।’
आँचलले हरि बा र मदन बाको मात्र तारिफ गरिनन् । उनले फिल्मका निर्देशक प्रदीप भट्टराईको पनि खुलेरै तारिफ गरिन् ।
‘मैले त आफूले सक्दो काम गर्ने हो, जुन फिल्ममा पनि राम्रो गर्न सकियोस् भन्ने नै चाहना हुन्छ’, आँचलले निर्देशक भट्टराईलाई जोड्दै भनिन्, ‘अँ, प्रदीप दाइको राम्रो बानी के लाग्यो भने, उहाँले कलाकारको मनोभावना बुझेर अभिनय गराउनुहुन्छ, यस्तो नभइदिए हुन्थ्यो भनेर भन्ने ठाउँ नै राख्नुहुन्न ।’
र, यो पनि पढ्नुहोस्ः
कोमल वलीः ‘पोइल’ गइनन्, संसद भवन गइन्
पछिल्लोपल्ट आइतबार, चैत्र ४, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया