साहित्यकारको जन्मदिनमा घरमै कविगोष्ठी − Kalakarita
साहित्यकारको जन्मदिनमा घरमै कविगोष्ठी

शनिबार, वैशाख ८, २०७५, ०९ : ४७कलाकारिता

काठमाडौँ, ८ वैशाख – साहित्यकारलाई जन्मदिनको शुभकामना दिन घरमै कवि गोष्ठीको आयोजना गरियो ।

साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ६८ वर्ष पूरा भई ६९ वर्ष प्रवेश गर्नुभएको अवसरमा उहाँको जोरपाटी धनसिंहकोटस्थित निवासमा घुम्ती कवि गोष्ठीको ६६औँ शृङ्खला आयोजना गरिएको हो ।

गोष्ठीमा उनको ३८औँ कृति ‘मुक्तकावली’ समेत विमोचन गरियो । कृतिको विमोचन गर्दै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा विदुर चालिसेले समसामयिक विषयमा लेखिएका मुक्तक समाजको यथार्थ चित्रण गर्न सफल भएको बताए ।

साहित्यकार घिमिरेको ३८औँ कृति ‘मुक्तकावली’ मा ३०० मुक्तक समावेश गरिएको छ । मुक्तक संग्रहमा ७५ पृष्ठ छ । अभिनव साहित्य समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा आयोजना गर्ने साहित्यिक कार्यक्रममा वाचन गरिएकामध्ये राम्रा लागेकालाई संग्रहमा समावेश गरिएको कृतिकार घिमिरेले सुनाए ।

घिमिरेका यसअघि ‘वाग्मती’ महाकाव्य, ‘गोकर्णेश्वरको महत्व’, ‘भागवत एक विवेचन’ लगायत कृति प्रकाशित भएका छन् । प्रत्येक वर्ष वैशाखमा उहाँको जन्मदिनका अवसरमा घरमै कवि गोष्ठी हुँदै आएको छ ।


तपाईंको प्रतिक्रिया