दयाहाङ राईले ‘सेफ ल्याण्डिङ’ खोजेका हुन्? − Kalakarita
दयाहाङ राईले ‘सेफ ल्याण्डिङ’ खोजेका हुन्?

बिहीबार, साउन ३, २०७५, ०४ : ४८कलाकारिता

काठमाडौं, ३ साउन – अभिनेता दयाहाङ राईको फिल्म जब शूटिङमा पुग्थ्यो, त्यतिबेलादेखि नै फिल्मकोचर्चा हुने गर्थ्यो। केही वर्षसम्म उनका फिल्मले हलमा धमाका मच्चायो । फिल्म ‘लूट’ ले उनलाई यति चर्चित बनायो कि, दयाहाङ रातारात हिट बने ।

तर अहिले भने उनको करिअर लगभग सकिएको पारा देखिन लागेको छ । यतिबेला उनको मुख्य भूमिका रहेको फिल्म ‘भैरे’ रिलिजको क्रममा छ ।

तर, न दर्शकले फिल्मप्रति चासो देखाएका छन्, न त फिल्मलाई दयाहाङले समय दिने मौका नै पाएका छन् ।

केही वर्षअघि उनको फिल्म रिलिज हुँदा दर्शकले क्रेज देखाउँथे तर अहिले भने हल पूरै सुख्खा हुने अवस्थामा पुगेका छन् ।

वर्षको अन्तमा रिलिज भएको फिल्म ‘नेप्टे’ ले पनि पानी खान पाएन । समाचार त के सम्म आए भने, एकजना पनि दर्शक नभएर हलको शो नै क्यान्सिल भयो । त्यसपछि आएको मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ पनि दर्शकलाई चासोको विषय बनेन । यो फिल्ममा चल्तीकी अभिनेत्री प्रियंका कार्की पनि थिइन् तर उनको पनि केही सीप चलेन प्रचारमा ।

फिल्मले प्रचारका लागि भनेर ‘रथ यात्रा’ नै ग–यो । प्रियंका उक्त यात्रामा मस्केका केही तस्वीर आए तर दयाहाङ प्रचारमा पनि देखिएनन् ।

अब दयाहाङको फिल्म ‘भैरे’ रिलिजको तयारीमा छ । रिलिजअघि, भनिहाल्न त नमिल्ला तर यो फिल्मको पूर्वसमीक्षा हेर्दा फिल्म चल्ने छनक देखिएको छैन । न त फिल्मको प्रचारमा दयाहाङले कुनै चासो नै देखिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो सजिलो बचाउ गरे । केही महिनादेखि उनको नचलेको करिअरलाई ख्याल गर्दै उनले अब फिल्म छान्ने त पहिले नै बताएका थिए ।

भैरैको प्रचारका लागि काठमाडौंको एक कार्यक्रममा भेटिएका दयाहाङले भने, ‘फिल्म राम्रो छ, यो फिल्मले आफ्नो देशमा पनि केही गर्न सकिन्छ भन्ने देखाउन खोजेको छ ।’

‘नयाँ तथा पुराना निर्देशकसँग काम गरौं भनेर मैले केही समय धेरै फिल्ममा अभिनय गरें’, उनले भने, ‘अब चाहिँ छानेर राम्रा फिल्म मात्र खेल्छु ।’

जे होस्, दयाहाङ राईले अभिनय गरेका फिल्म एकपछि अर्को गर्दै फ्लप भइरहेका छन् । दयाहाङले भनेअनुसार यो फिल्म राम्रो छ ।

दयाहाङको करिअरका लागि भएपनि चल्नुपर्ने फिल्म पक्कै हो । तर, बजारको समीक्षा गर्दा फिल्म चल्न धौ धौ हुने देखिन्छ ।

अब दयाहाङको करिअर कस्तो बन्दै जान्छ, त्यसका लागि शायद धेरै समय कुर्नुपर्ने छैन ।

यो पनि पढ्नुहोस्ः

यस कारण दयाहाङ राई खेदिएका छन्

पछिल्लोपल्ट मंगलबार, साउन ८, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया