काठमाडौं, ८ फागुन – चलचित्र ‘ऐश्वर्य’ ले एकैपटक तीन कलाकारलाई सतहमा ल्याइदियो – पुराना कलाकार रमेश उप्रेती, अभिनेता प्रशान्त ताम्राकार र नायिका दीपिका प्रसाईं ।
चलचित्रले अरुलाई त ठीकै चिनारी दिएको हो तर अभिनेता प्रशान्त ताम्राकारलाई भने यो चलचित्र सफलताको लड्डु नै बन्यो । र्याम्प मोडल र फेशन हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका प्रशान्तको चलचित्र ‘ऐश्वर्य’ डेब्यु चलचित्र त होइन तर उनलाई यही चलचित्रले सर्वाधिक चिनायो ।
चलचित्रमा उनको खलनायकको भूमिकामा ‘फिट’ देखिएको चर्चा चल्यो । उनको अभिनयलाई दर्शकले पनि रुचाए, फिल्मकर्मीको नजरमा पनि परे उनी । यतिबेला उनको व्यस्तता यति बढेको छ कि, फिल्ममा अनुबन्ध गर्नका लागि केही समय कुर्नुपर्ने भएको छ फिल्मकर्मीलाई ।
केही दिनअघि चलचित्र ‘रानीमहल’ मा अभिनय गर्ने पक्का भइसकेपछि फेरि हात झिकेका अभिनेता प्रशान्तले केही दिनअघि मात्रै चलचित्र ‘रणवीर’ मा हस्ताक्षर गरेका छन् । त्यसो त ‘ऐश्वर्य’ पछि उनका अरु फिल्म रिलिज भएका छैनन् । तर, एउटै चलचित्रले उनलाई अझैसम्म बोकेको छ ।
प्रशान्तलाई एेश्वर्यले त गज्जबकै सफलता दिलाएको हो तर उनको निरन्तरता कस्तो रहनेछ, त्यो भने आगामी चलचित्रले नै मूल्याङ्कन गर्लान् ।
पछिल्लोपल्ट आइतबार, फागुन १३, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया