

काठमाडौं, १६ चैत – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले कथाले मागे अनुसार फिल्म बनाउन चलचित्रकर्मीलाई सुझाव दिएका छन् । काठमाडौंको सुन्धारास्थित त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको समारोह ‘फान अवार्ड २०७३’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
संघले आयोजना गरेको अवार्ड समारोहमा प्रम ओली प्रमुख अतिथिका रुपमा सहभागी थिए । झण्डै पन्ध्र मिनेटको भाषणमा उनले नेपाली चलचित्र र संगीतको माध्यमबाट कलाकारले गुन लगाएको बताए । ‘नेपाली फिल्मले पनि समाज परिवर्तन गर्न भूमिका खेलेको हुन्छ, तपाईंहरुले फिल्ममार्फत सन्देश दिएर हामीलाई गुन लगाउनुभएको छ’, उनले भने, ‘हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले बनाएका हरेक फिल्ममा कतै न कतै सन्देश लुकेको हुन्छ ।’
साथै ओलीले अब जान लागेको भारत भ्रमणमा भारतीय कलाकारसँग भेटघाटको कार्यक्रम राखेको पनि उनले बताए । ‘म भारतका कलाकारलाई भेटेर नेपालको बारेमा जानकारी दिँदैछु, वातावरणका हिसाबले नेपालजस्तो सुन्दरता कहाँ छ?’, उनले थपे, ‘आखिर क्यामेरा राम्रो हुँदैमा ब्याकग्राउण्ड राम्रो नभए के काम?’
उनले यसो भन्दा हलमा हाँसो फैलिएको थियो ।
त्यस्तै उनले ‘नेपालीहरु ह्यान्सम छन्’ भनेर सबै नेपालीको तारिफ गरे । नेपालीले कलाकारिताको क्षेत्रमा गरेको सहयोग भन्दै उनले सबैप्रति आभार प्रकट गरे । ‘सबै नेपालीहरु ह्यान्सम छन्, कलामा सबै अगाडि छन् ।’, उनले भने ।
दिउँसो तीन बजे शुरु भएको अवार्ड समारोहमा वरिष्ठ अभिनेतालाई लाइफ टाइम अचिभ्मेन्ट प्रदान गरिएको थियो भने अभिनेता प्रदीप खड्कालाई लोकप्रिय अभिनेता र अभिनेत्री घोषणा गरिएको थियो । कार्यक्रममा धेरै चर्चित कलाकारको उपस्थिति थियो ।
पछिल्लोपल्ट सोमबार, चैत्र १९, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया