पोखरामा शुरु भयो राष्ट्रिय नाटक महोत्सव − Kalakarita
पोखरामा शुरु भयो राष्ट्रिय नाटक महोत्सव

बिहीबार, चैत्र ८, २०७४, ०७ : ४९कलाकारिता

पोखरा, ८ चैत – विश्व रंगमञ्च दिवसका अवसरमा नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ ।

पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुरु महोत्सवको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्दै संघीयता कार्यान्वयनसँगै हरेक प्रदेशमा प्रज्ञा–प्रतिष्ठान खोल्नुपर्ने बताए ।

नाट्यप्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले देशभरका रंगकर्मीलाई भेटघाट गर्नाका साथै नाट्य क्षेत्रमा भएका गतिविधिका बारेमा
जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । प्रज्ञा– प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीलगायतले नेपाली नाट्य क्षेत्र तथा पोखराका नाट्य गतिविधिबारे चर्चा गरेका थिए ।

उद्घाटन समारोहसँगै सरुभक्तद्वारा लिखित नाटक ‘थाङ्गला’ मञ्चन गरिएको थियो । अनुप बरालको निर्देशन रहेको सो नाटकमा कलाकारको अभिनयलाई दर्शकले मन पराएका थिए । महोत्सवअन्तर्गत शुक्रबार अपराह्न साँझ पुनः मञ्चन हुने आयोजकले जनाएको छ ।

यस्तै शनिबार र आइतबार राजन खतिवडाको निर्देशनमा रहेको नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेछ । यही चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाट्य क्षेत्रका बारेमा समेत छलफल हुने छ ।

महोत्सवमा ‘भर्जिन कथा’, ‘नारी शिक्षा’, ‘जयगान’, ‘सान्नानीको सन्ते राजा’, ‘एक चिहान’, ‘पानीघट्ट, चाँदीको घेरा’, ‘सखी’लगायत नाटक मञ्चन हुनेछन् । चैत ९, १० र ११ गते हरेक दिन अपराह्न र साँझ नाटक मञ्चन हुनेछ । चैत १२ र १३ गते अपराह्नसमेत थप प्रदर्शन गरिनेछ ।

-राससबाट


तपाईंको प्रतिक्रिया