

काठमाडौं – पचासको दशक अघिको समयलाई लिएर निर्माण गरिएको चलचित्र ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक गरिएको छ । चौधे वर्षे किशोरीको मनोभावनालाई समेटिएको ट्रेलर आइतबार सार्वजनिक गरिएपनि उक्त चलचित्रले विदेशका विभिन्न फेस्टिभलमा सहभागिता जनाइसकेको छ ।
२०३० साल वरिपरिको समयलाई आधार बनाएर निर्माण गरिएको चलचित्रमा नीता ढुंगाना र सरोज खनाल केन्द्रीय भूमिकामा छन् ।
पश्चिमी मौलिक भाषाको प्रयोग गरी निर्माण गरिएको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि अधिकारी आफैले लेखेका हुन् । चलचित्रमा अभिनेता सरोज खनालले प्रधानपञ्चको भूमिका निर्वाह गरेका छन् भने नीता ढुंगाना चौध वर्षीय किशोरी बनेकी छिन् ।
अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा ‘पंचायत’ ले विदेशी भाषातर्फ उत्कृष्ट चलचित्र विधाको अवार्ड समेत जितेको थियो भने उक्त चलचित्रबाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी थिइन् ।
गणेश गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर गिरीले निर्माण गरेका हुन् भने चलचित्रमा रुपा राना, जाहान्वी बस्नेत, विशाल पहारी, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् ।
तर, रिलिज गरिएको चलचित्रको ट्रेलरमा त्रुटि देखिएको छ । विदेशी फेस्टिभलमा सहभागी भएर अवार्ड समेत जितेको फिल्मको कथा यही वर्षको हो भन्नेमा निर्माण टिमले दुई वर्ष फरक पारेका छन् । चलचित्रको ट्रेलरमा कथालाई वि.सं. २०३३ सालको भनिएको छ भने ९ महिनाअघि रिलिज गरिएको चलचित्रको ट्रेलरमा कथालाई वि.सं. २०३१ सालको भनिएको छ । यसर्थ फिल्म २०३० को दशक वरिपरि रहेर निर्माण गरिएको त भन्न सकिन्छ तर यही वर्षको हो भन्दा कथाले दुई वर्ष फरक समय चित्रित गर्छ । चलचित्र आउँदो चैत्र २ गतेबाट नेपालभर प्रदर्शन एकसाथ रिलिज हुँदैछ ।
पछिल्लोपल्ट सोमबार, माघ २९, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया