काठमाडौं, २० असार – निर्देशक नरेश कुमार केसी एउटै फिल्म निर्देशन गरेर चर्चामा आएका निर्देशकमध्ये एक हुन् ।
कम बजेटमा निर्माण गरिएको फिल्म ‘निभ्न लागेको दियो’ निर्देशन गरेसँगै उनको कामको तारिफ भएको थियो । एकैनासको मोनोटोनस बनाउने फिल्म आइरहेका बेला उक्त फिल्मले दर्शकमा केही फरक स्वाद दिएको दियो ।
दिदी भाइको सम्बन्धलाई जसरी प्रस्तुत गरिएको थियो, त्यो धेरैले रुचाए । सामान्य कथाको प्रस्तुतिलाई धेरैले रुचाए तर फिल्म आम मान्छेमा पुग्न सकेन ।
अहिले उनले व्यावसायिक रुपमा पनि दर्शकको ध्यान तान्ने फिल्म बनाएका छन्, जुन फिल्म रिलिजको तयारीमा छ ।
फिल्म ‘निभ्न लागेको दियो’ ले राम्रै तारिफ पायो । त्यसैले पनि उनको दोस्रो फिल्म राम्रो बनेको छ कि भन्नेमा धेरै आशावादी छन् ।
र, उनी निकै खुलेर फिल्मको प्रचारमा पनि लागेका छन् ।
तर के फिल्मले उनको साख जोगाउला? फिल्मले उनको चर्चा चुलिएको छ, त्यो सम्मान अझै बढाइदेला?
झण्डै दुई वर्ष लगाएर निर्माण गरिएको फिल्म ‘रोमियो एण्ड मुना’ को ट्रेलर, गीत र पोस्टरले यतिबेला दर्शकप्रति एक किसिमको रुचि भने पैदा गरेको छ ।
नरेशकुमार केसीले फिल्मको निर्देशन मात्र गरेका छैनन्, स्किृप्ट पनि आफैले लेखेका छन् । संवाद भने उनले निरोज महर्जनसँग मिलेर लेखेका छन् । त्यसो त एक निर्देशकका लागि हरेक फिल्म आफैमा परीक्षा हुन् । त्यसैगरी दर्शकका लागि रोमियो एण्ड मुनामा नरेशले केही फरक गर्न खोजेको बताउँदै आएका केसीका लागि पनि यो फिल्म परीक्षा हो । किनकि, उनले केही नयाँ प्रयोग फिल्ममा गरेका छन् ।
विनय श्रेष्ठ र सृष्टि श्रेष्ठलाई रोमियो एण्ड मुना बनाएर निर्माण गरिएको यो लभ स्टोरी फिल्म रिलिज अघि त चर्चामा नै छ तर पछि फिल्मले कस्तो प्रतिक्रिया पाउँछ, त्यसका लागि साउन ११ कुर्नैपर्ने हुन्छ ।
तपाईंको प्रतिक्रिया