‘डान्स नेपाल डान्स’ रियालिटी शो का नाममा ठगी, आयोजक पक्राउ − Kalakarita
‘डान्स नेपाल डान्स’ रियालिटी शो का नाममा ठगी, आयोजक पक्राउ

बिहीबार, चैत्र १, २०७४, ०७ : ५०कलाकारिता

काठमाडौं, १ चैत – ‘डान्स नेपाल डान्स’ नामको रियालिटी शोका विजेताले अझै पनि परस्कार नपाएको तथ्य बाहिरिएको छ । शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको हो ।

रियालिटी शोको पहिलो सिजनमा प्रथम हुनेलाई नगद एक लाख दिने र कामका लागि मौका दिने भनिएको थियो । त्यस्तै दोस्रो सिजनका विजेताले दुई लाख पचास हजार पुरस्कार सहित अन्य मौका दिने बताइएको थियो ।

तर विजेताले भने अझै पुरस्कार नपाएको विजेताले दाबी गरेका छन् ।

विजेताले आफूले पुरस्कार नपाएको र आयोजक पनि सम्पर्कविहीन भएको उजुरी दिएपछि प्रहरीले आयोजकलाई पक्राउ गरेको छ । निवेदनपछि भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक विक्रम अछामीलाई प्रहरीले पक्राउ गरेको छ ।

आयोजकले एसएमएस भोटिङका नाममा लाखौं कुम्लाएको बताएको छ । रियालिटी शोको पहिलो सिजन २०६८ मा भएको थियो भने दोस्रो सिजन वि.सं. २०७३ मा सम्पन्न भएको थियो । फेरि यो रियालिटी शो शुरु गरिने भन्ने हल्ला पनि चलेको छ ।

पक्राउ परेका अछामीमाथि पार्टनरसिप गर्ने भन्दै अन्य व्यक्तिसँग पनि लाखौं रुपैयाँ लिएको र विभिन्न विद्यालयमा फाराम पनि बेचेको भनेर आरोप लगाइएको छ । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ ।


तपाईंको प्रतिक्रिया