

नेपालगञ्ज, १ कात्तिक – नेपालगञ्जमा १५० वर्षदेखि भगवान् रामको जीवनमा आधारित रामलीला प्रदर्शन हुँदै आएको छ । रामलीला दशैँको अष्टमीदेखि टीकाको भोलिपल्टसम्म प्रदर्शन हुँदै आएको छ ।
रामलीला महोत्सव सञ्चालक समितिले रामलीला महोत्सवको आयोजना गर्दै आएको छ । रामलीलामा अहिलेसम्म नारद मोह, रामजन्म, ताड्का वध, जनकपुर आगमन, बजार पुलवारी, धनुष यज्ञ, परमुराम, बाणासुर लीला, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लङ्कादहनसम्बन्धी सजिव लीला प्रदर्शन भइसकेका छन् ।
महोत्सवमा आज लक्ष्मण शक्ति र भोलि दशैँका दिन कुम्भकर्ण वध, रावण वध र राम राज्याभिषेकसम्बन्धी लीला प्रदर्शन गरी महोत्सवको समापन गरिने समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो ।
उहाँका अनुसार यस वर्षको दशैँमा ४५ फिट अग्लो रावणको पुत्ला दहन गरिनेछ । पुत्ला निर्माण करीब करीब सकिएको बताइएको छ । रामलीला प्रदर्शनका लागि हरेक वर्ष भारतको बृन्दावनधामबाट कलाकारको टोली झिकाउने गरिएको छ ।
रामलीला राति ७ देखि १२ बजेसम्म प्रदर्शन हुने गर्छ । भोलि दशैँका दिन दिउँसोदेखि नै विशेष लीला मञ्चन गरी रावण वध गर्ने गरिन्छ । भोलि रावण वध गरेको हेर्न बाँकेलगायत अन्य जिल्लाका साथै भारतबाट पनि नागरिक आउने गर्छन् ।
तपाईंको प्रतिक्रिया